१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवराज मैनाली काठमाडौं
२०७८ मङ्सिर १९ आइतबार ०८:४८:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

इच्छाराजको गैरबैंकिङ कारोबार : सयौँ घरजग्गा बिक्रीको  रकम लुकाएको सिआइबीको आशंका

Read Time : > 3 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७८ मङ्सिर १९ आइतबार ०८:४८:००

घरजग्गामा जथाभावी लगानीले वित्तीय संकटमा फस्दै गएपछि सिभिल होम्सका सञ्चालक इच्छाराज तामाङले साढे दुई वर्षअघि सुन्धारास्थित निर्माणाधीन लक्जरी रेसिडेन्ट अपार्टमेन्ट व्यवसायी अजय सुमार्गीलाई बिक्री गरे । ३१ असार ०७६ मा लिखत पास भएको सो भवन एक अर्ब २५ करोड रुपैयाँमा सुमार्गीको मुक्तिश्री हस्पिटालिटीलाई बिक्री गरेको देखिन्छ । 

कारोबार रकम लिखत पासभन्दा ठूलो भए पनि बैंकिङ कारोबार भने निकै कम देखिन्छ । सो सम्पत्ति बिक्री गर्दा ४६ करोड रुपैयाँ मात्र उनले बैंकिङ माध्यमबाट कारोबार गरेका छन् । बाँकी ७९ करोड रुपैयाँ उनले कसरी लिए र त्यो पैसा कहाँ राखे ? खुल्न सकेको छैन । 

यो मात्र होइन, सिभिल होम्सका धेरै घर बिक्रीको कारोबार अनौपचारिक माध्यमबाट गरेर उनले अर्बौं रकम लुकाएको सिआइबीको छानबिनको निष्कर्ष छ । सहकारी ठगी मुद्दामा दुई महिनादेखि प्रहरी हिरासतमा रहेका तामाङले सहकारीको रकम घरजग्गा कारोबारमा लगाएको तर घरजग्गा बिक्री गरेर कमाएको अर्बौं रकम लुकाएका हुन् । बिक्रीको पैसाबारे सोधपुछ गर्दा उनले त्यसबारे नबताएको सिआइबीले जनाएको छ । 

डिआइजी धीरजप्रताप सिंह निर्देशक, सिआइबी

इच्छाराज तामाङको सम्पत्तिबारे विस्तृत अनुसन्धान गरिएको छ । कतिपय शंकास्पद कारोबार देखियो ।

पछिल्लो १८ वर्षमा उनले सिभिल होम्सका विभिन्न परियोजनामार्फत करिब ११ सय घर–जग्गा बिक्री गरेको तथ्यांक छ । सिभिल सहकारीबाटै पैसा लिएर उनले ती परियोजनामा लगानी गरेका थिए । लगानीको रकम देखिएको, तर बिक्री गर्दाको रकम बैंकिङ च्यानलमा नदेखिएकाले उनले अवैध माध्यमबाट ठूलो रकम विदेश पठाएको हुन सक्ने प्रहरी आकलन छ । पछिल्लो १८ वर्षमा उनको बैंकिङ खातामा मात्र करिब ४८ अर्ब रुपैयाँ आएको देखिन्छ । विभिन्न बैंकमा रहेका उनका ५० वटा खाताको विश्लेषण प्रहरीले गरेको थियो । त्यसमध्ये धेरै रकम परियोजनामै खर्च भए पनि ठूलो रकम गैरबैंकिङ माध्यमबाट कारोबार गरेको अनुसन्धानमा आबद्ध सिआइबीका अधिकारी बताउँछन् । 

सहकारीका एक हजार पाँच सय २० जना सेयरधनीको करिब पाँच अर्ब ६७ करोड हिनामिना गरेको आरोपमा तामाङसहित ४२ जनाविरुद्ध शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भइसकेको छ । तर, उनले कसरी रकम हिनामिना गरेर लुकाए भन्ने खुल्न सकेको छैन । उनको सम्पत्तिको बारेमा पनि विस्तृत अनुसन्धान गरिएको र कतिपय शंकास्पद कारोबार देखिएको सिआइबीका निर्देशक डिआइजी धीरजप्रताप सिंहले बताए । 

सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म 
सिभिल सहकारीमा भएको अनियमितताको धक्का सिभिल बैंकले समेत व्यहोर्नुपर्ने अवस्था आएको छ । सिभिल बैंकको ७० प्रतिशत लगानी गरेको सिभिल क्यापिटलले ११ करोड रुपैयाँ सहकारीमा राखेको थियो । जुन पैसाको कम्पनीले ब्याज त पाएको छैन नै, साथै सावाँसमेत जोखिममा परेको छ । यसको असर बैंकलाई समेत पर्ने देखिन्छ ।

तामाङकी श्रीमती सिर्जना क्यापिटलको अध्यक्ष रहेका वेला सो रकम सहकारीमा जम्मा गरिएको थियो । सिर्जना १५ मंसिर ०६५ देखि ४ पुस ०७४ सम्म सिभिल क्यापिटलको अध्यक्ष थिइन् । हाल उनी सञ्चालक समिति सदस्य मात्र छिन् । बैंकको लगानी रहेको कम्पनीसमेत आफ्ना निजी कम्पनीजसरी इच्छाराजले चलाएको, जसका कारण अहिले सिभिल क्यापिटलसमेत समस्यामा परेको स्रोत बताउँछ । तर, सिभिल क्यापिटलले यसबारे प्रहरीमा उजुरी दिएको छैन । उजुरी दिँदा आफैँमाथि समेत थप अनुसन्धान हुन सक्ने भएकाले हालको सञ्चालक समितिले उजुरी दिने निर्णय गर्न नसकेको स्रोत बताउँछ । जसका कारण कम्पनीको ११ करोड जोखिममा परेको छ । कम्पनीमा हाल सुमन आचार्य अध्यक्ष छन् । तामाङले सो कम्पनीमा पनि आफ्ना विश्वासपात्रलाई मात्र सञ्चालक र व्यवस्थापनमा राखेकाले रकम हिनामिना भएको हो । 

२५ करोड २५ लाख चुक्ता पुँजी भएको सिभिल क्यापिटलमा बैंकको ७० तथा संस्थापक प्रमोटरको १५ र बाँकी १५ प्रतिशत सर्वसाधारणको सेयर छ । मर्चेन्ट बैंकिङ कारोबारको उद्देश्यले यो कम्पनी ०६६ मा स्थापना भएको हो । जसको कार्यालय तामाङले आफ्नै लगानी रहेको सिटिसी मलमा राखेका छन् । सिभिल क्यापिटलको पैसा सहकारीमा राखेको विषयमा प्रहरीले छानबिन गरेको छैन । 

पीडितले कसरी पैसा पाउलान् ? 
सहकारीको रकम ठगी गर्नेविरुद्ध मुद्दा दायर भए पनि पीडितहरूको चासो आफूहरूको पैसा आउँछ कि आउँदैन भन्नेमा छ । जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारीका अनुसार पीडितहरूले क्षतिपूर्ति पाउने दुइटा उपाय छ । पहिलो भनेको तामाङको नाममा रहेका सबै सम्पत्ति लिलाम गरेर बिक्री गरी पीडितलाई बाँड्ने । यसका लागि मुद्दाको अन्तिम किनारा लागेर पनि लिलामी प्रक्रियामा जानुपर्छ । जुन केही वर्ष लाग्न सक्छ । 

अर्काे आर्थिक अपराधसम्बन्धी मुद्दामा अदालतमा मिलापत्र पनि हुन सक्छ । यसका लागि सहकारीको जग्गा र भवन संस्थाका सबै सदस्यको नाममा पास गर्ने र तामाङको सम्पत्ति बिक्री गरेर कर्जा दिन लगाई फिर्ता लिने प्रक्रिया हुन सक्छ । यसका लागि प्रहरीमा समेत छलफल भएको तर केही निक्षेपकर्ताले नमानेका कारण मुद्दा प्रक्रिया नै अघि बढेको स्रोत बताउँछ । मुद्दा अन्तिम चरणमा पुगेपछि संघर्ष समितिका केही अधिकारीले मिलापत्रमा चासो राखेका थिए । तर, तामाङले पटक–पटक पैसा फिर्ता दिने आवश्वासन दिएर धोका दिएकाले पनि पीडितहरू आश्वस्त हुन नसकेका हुन् । अदालतमा मिलापत्रमार्फत पीडितहरूले छिटो न्याय पाउने सम्भावनाका लागि सहकारीको सम्पत्ति र सुन्धाराको सिटिसी मल रोक्का नराखिएको स्रोत बताउँछ । 

सात अर्बको दायित्व, ६ अर्बको सम्पत्ति 
तामाङमाथि हाल करिब सात अर्बको दायित्व देखिन्छ । सिभिल बचत तथा ऋण सहकारी संस्थाका सेयरधनीहरूको पैसा उनले आफ्ना कम्पनीमा लगाएर कर्जा चुक्ता नगर्दा सहकारी टाट पल्टिएको हो, जसका कारण बचतकर्ताहरूले आफ्नो पैसा पाउन सकेनन् । सहकारी संस्था र उनीसँग गरेर करिब ६ अर्बको सम्पत्ति भेटिएको छ । सोल्टीमोडमा रहेको सहकारीको घर र जग्गाको मूल्यांकन करिब सवा अर्ब रुपैयाँ छ ।

त्यस्तै, सुन्धाराको सिटिसी मल, कीर्तिपुरको १२ रोपनी जग्गा र त्यसमा बनेको घर तथा बैंकको ठूलो मात्रामा सेयर गरेर उनीसँग करिब ६ अर्बको सम्पत्ति देखिएको छ । सिटिसी मलमा सञ्चय कोषको करिब २५ करोड कर्जा छ । तामाङसँग एक अर्बभन्दा धेरैको विभिन्न कम्पनीको सेयर छ । २१ वटा संघसंस्थामा उनको ६१ करोड १२ लाख २८ हजार दुई सय रुपैयाँबराबरको संस्थापक सेयर छ । श्रीमती सिर्जना शाक्य तामाङको नाममा १७ करोड ७२ लाखको संस्थापक तथा ३२ करोड ९२ लाख रुपैयाँबराबरको साधारण सेयर रहेको छानबिनमा खुलेको छ । जुन सेयर अदालतको आदेशमा रोक्का भइसकेको छ । त्यस्तै, सिभिल होम्सका विभिन्न परियोजनमा बिक्री हुन बाँकी घर तथा जग्गासमेत छन् । उनका कतिपय घरजग्गा भने रोक्का भएका छैनन् । 

अख्तियारकै आयुक्त पीडित 
सिभिल सहकारीका पीडित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तसम्म छन् । प्रहरीमा उजुरी दिने एक हजार पाँच सय २० मध्ये अख्तियारकी आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यसमेत छिन् । सरकारी वकिल कार्यालय स्रोतका अनुसार सिभिल सहकारीले आफ्नो एक करोड २२ लाख रुपैयाँ फिर्ता नगरेको भन्दै उनले जाहेरी दिएकी छिन् । उजुरी दिनेमा केही पूर्वकर्मचारीसमेत छन् । संस्थाका सदस्य करिब २९ सय भएपछि बाँकीले भने उजुरी गरेका छैनन् ।