मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर १८ शनिबार ०६:३६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सिभिल सहकारी ठगी प्रकरण : ४२ विरुद्ध मुद्दा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर १८ शनिबार ०६:३६:००

सिभिल सहकारीले निक्षेपकर्तामाथि गरेको आर्थिक ठगीमा ४२ प्रतिवादी करार गर्दै शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा पेस भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले बहसका लागि मुद्दा पेस गरेको हो । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता गंगाधर पौडेलले प्रतिवादीहरूविरुद्ध ठगी र संगठित अपराधअन्तर्गत अभियोग तयार भएको बताए । ‘४२ प्रतिवादीविरुद्ध ठगी र संगठित अपराधअन्तर्गत मुद्दा चलाइएको छ । शुक्रबार अदालतमा मुद्दा पेस गरिएको छ,’ उनले भने ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीले) ६० दिनको अनुसन्धानपछि गत बिहीबार सरकारी वकिल कार्यालयमा मुद्दा पेस गरेको थियो । अब मुद्दाका प्रतिवादीसँग सम्भवतः आइतबारबाट अदालतमा बयान सुरु हुने पौडेलले बताए । त्यसपछि थुनछेक बहस हुनेछ । 

वकिल कार्यालयमा पेस भएको मिसिलअनुसार सिभिल सहकारीका संस्थापक अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङ, उनकी श्रीमती सिर्जना शाक्य र सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई मुद्दामा मुख्य प्रतिवादी बनाइएको छ । इच्छाराज र केशवलालको योजनामा सिभिलको रकम अपचलन भएको र उक्त रकम दबाउन सिर्जनाले मुख्य भूमिका निभाएको मिसिलमा उल्लेख छ । त्यसो हुँदा निक्षेपकर्ताको पाँच अर्ब ५९ करोड ८१ लाख ३२ हजार दुई सय १२ रुपैयाँ इच्छाराज, केशवलाल र सिर्जनाले नै चुक्ता गर्नुपर्ने मिसिलमा भनिएको छ । 

‘केशवलाल श्रेष्ठ, इच्छाराज तामाङ र सिर्जना शाक्य तामाङको कार्य साबिकको मुलुकी ऐन, ठगीको महलको १ नं. मा परिभाषित कसुर भएकाले सोही महलको ४ नं. बमोजिम र सोही कसुरलाई निरन्तरता दिएको हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा ३ (ग) बमोजिमको कसुर भएको हुँदा हालसम्म जाहेरीमा उल्लेख कुल पाँच अर्ब ५९ करोड ८१ लाख ३२ हजार दुई सय १२ रुपैयाँ प्रतिवादी केशवलाल, इच्छाराज र सिर्जनाबाट जाहेरवालालाई भराई जरिवाना गरिनुपर्छ,’ मिसिलमा भनिएको छ ।

प्रतिवादी इच्छाराज, सिर्जना र केशवलालले संगठित तवरले ठगी गरेको हुँदा मुलुक अपराध संहिताको दफा २४९ (ग) खण्ड (क) वा (ख) र संगठगित अपराध निवारण ऐन ०७० को दफा ९ अनुसार कारबाही हुनुपर्ने मिसिलमा माग गरिएको छ । अपराध संहिताको दफा २४९ (ग) खण्ड (क) वा (ख) मा कुनै किसिमले ठगी गरेमा सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँँसम्म जरिवाना हुने भनिएको छ । संगठित अपराध निवावरण ऐन ०७० को दफा ९ भने कसुर गर्नेलाई प्रचलित कानुनबमोजिम हुने सजायको अतिरिक्त थप पचास प्रतिशत सजाय हुने व्यवस्था छ । 

त्यस्तै मिसिलमा फरार रहेका रामकृष्ण पौडेल, जयन्द्रलाल श्रेष्ठ र केशवकुमार अमात्यलाई अर्को प्रतिवादी बनाइएको छ । मिसिलमा उल्लेख भएअनुसार उनीहरूले सञ्चालक समितिबाट निर्णय गरी सिभिलको रकमले व्यक्तिगत नाममा सिभिल मर्चेन्ट वित्तीय संस्थामा सेयर खरिद गरेका थिए । त्यसो हुँदा उनीहरूविरुद्ध पनि मुलुकी अपराध संहिता, ०७४ को दफा २४९ को उपदफा ३ (ग) बमोजिमको कसुरमा सोही संहिताको दफा २४९ को ३ (ग) बमोजिम सजाय हुनुपर्ने भनिएको छ । सोही संहिताको दफा २५४ बमोजिम रामकृष्णले १२ लाख ५० हजार रुपैयाँ, जयन्द्रलाल र केशवकुमारसँग १०–१० लाख बिगोअसुल गरी जाहेरवालाहरूलाई दिनुपर्ने भनिएको छ । संगठित अपराध गरेको हुँदा उनीहरूविरुद्ध संगठित अपराध निवारण ऐन, २०७० को दफा ९ अनुसार सजाय हुनुपर्ने पनि मिसिलमा उल्लेख छ । 

सिआइबीमा हालसम्म एक हजार चार सय ८७ पीडितले जाहेरी दिइसकेका छन् । जाहेरीमा उल्लेखित रकमको परिणाम पाँच अर्ब ५९ करोड ३३ लाख ११ हजार एक सय ३७ छ । संगठित तवरले निक्षेपकर्ताको सात अर्ब रुपैयाँभन्दा धेरै रकम ठगी गरेको भन्दै ब्युरोले गत १८ असोजमा सहकारीका संस्थापक अध्यक्ष तथा पूर्वसांसद इच्छाराजसहित १२ जनालाई पक्राउ गरेको थियो । उनीहरू हाल सिआइबीको हिरासत कक्षमा छन् । 

इच्छाराजसहित १२ पक्राउ 
इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ, भगवानबहादुर सिंह,  मायोनानी महर्जन, एलिना तुलाधर,  शंकरप्रसाद पाठक,  संगीत श्रेष्ठ, राकेश महर्जन, बुद्धराज तामाङ, कौस्तुभकेतन ढुंगाना, हरिहर लामिछाने, विजयविक्रम शाह ।

इच्छाराजकी श्रीमतीसहित ३० फरार

सिर्जना शाक्य, प्रतीक्षा तामाङ, प्रतिष्ठा तामाङ, लालकाजी गुरुङ, जयन्द्रलाल श्रेष्ठ, दुर्गाप्रसाद संग्रौला, इन्द्रराज हुमागाईं, प्रवीण प्रधान, खेमनाथ डल्लाकोटी, केशवकुमार अमात्य, रामकृष्ण पौडेल, सुमननन्द वैद्य, गोपालबहादुर श्रेष्ठ, दानहिरा कंसाकार, मुकुन्दप्रसाद नेउपाने, हरिप्रसाद रिसाल, जीवनराज बज्राचार्य, प्रकाशकुमार बर्मा, कृष्णप्रसाद श्रेष्ठ, दुर्गाप्रसाद संग्रौला, नगेद्र विमली, रामराज मास्के, रञ्जना महर्जन, शंकरप्रसाद पाठक, अनु लामिछाने भन्ने अन्नपूर्ण खनाल, शंकरप्रसाद पाठक, सुवासकुमार श्रेष्ठ, कान्तीलक्ष्मी उपाध्याय ।