मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मञ्जु टेलर काठमाडौं
२०७८ मङ्सिर १७ शुक्रबार ०९:०५:००
Read Time : > 3 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

भारतमा भेटियो ‘ओमिक्रोन’ भेरियन्ट

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडौं
२०७८ मङ्सिर १७ शुक्रबार ०९:०५:००

डब्लुएचओका अनुसार ३० देशमा ओमिक्रोन भेरियन्ट फैलिसकेको छ, नेपालमा स्वास्थ्य सतर्कता बढाइयो

भारतमा दुईजनामा कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । कर्नाटक राज्यमा बिहीबार दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमण देखिएकामध्ये ६६ वर्षका पुरुष दक्षिण अफ्रिकाबाट फर्केका र अर्का ४६ वर्षका पुरुष भने स्थानीय रहेको मन्त्रालयको भनाइ छ । संक्रमित दुवैजनामा ज्वरोको लक्षण देखिएको छ । 

भारतमा नयाँ भेरियन्ट देखिएसँगै उच्च सतर्कता अपनाइएको सञ्चारमाध्यमहरूले जनाएका छन् । सबै सहरमा कोभिड परीक्षण तीव्र पारिएको छ । परीक्षणका क्रममा पजिटिभ देखिएकामा जिन सिक्वेन्सिङ भइरहेको छ । योसँगै भारतले आवतजावतमा पनि कडाइ सुरु गरेको छ । बुधबारदेखि लागू हुने गरी भारतले उच्च जोखिम भएका देश बेलायत, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, बंगलादेश, हङकङ र इजरायलबाट आउने यात्रुलाई कडाइ गर्ने निर्णय गरेको हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार एयरपोर्टमा परीक्षण अनिवार्य गरिने र रिपोर्ट नआउँदासम्म विमानस्थलबाट बाहिरिन रोक लगाइएको छ । 

डा. शेरबहादुर पुन : वरिष्ठ सरुवारोग विशेषज्ञ

ओमिक्रोन भाइरसबारे अझैसम्म पर्याप्त जानकारी छैन । हरेकपल्ट कोभिडले फरक स्वरूप देखाइरहेकाले यकिन प्रमाण नहुन्जेलसम्म अनुमान गर्न सकिँदैन । त्यसैले नाका र एयरपोर्टमा परीक्षणको दायरा बढाउनुपर्ने चुनौती थपिएको छ । संक्रमण भित्रिन नदिनु नै अहिलेको मुख्य विकल्प बन्न सक्छ ।

नेपालमा संक्रमणको जोखिम बढ्यो
हालसम्म ३० देशमा ओमिक्रोन फैलिएको छ । विभिन्न देशका तीन सय ७५ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । भारतमा कोभिडको नयाँ भेरियन्ट देखिएसँगै नेपालमा संक्रमणको जोखिम बढेको चिकित्सकहरूले बताएका छन् । 

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोभिडको पहिलो र दोस्रो लहरमा भारतबाट नेपाल भित्रिएकाले यसपटक पनि जोखिम बढ्न सक्ने बताए । अघिल्लोचोटि सीमानाकामा परीक्षणमा कडाइ नगर्दा संक्रमणले महामारीको रूप लिएकाले सावधान रहन अतिआवश्यक भएको उनको भनाइ छ । ‘यो भाइरसबारे अझैसम्म पर्याप्त जानकारी छैन । हरेकपल्ट कोभिडले फरक स्वरूप देखाइरहेकाले यकिन प्रमाण नहुन्जेलसम्म अनुमान गर्न सकिँदैन । तसर्थ, नाका र एयरपोर्टमा परीक्षणको दायरा बढाउनुपर्ने चुनौती थपिएको छ । संक्रमण भित्रिन नदिनु नै अहिलेको मुख्य विकल्प बन्न सक्छ,’ पुनले भने ।

जिन सिक्वेन्सिङ नियमित भइरहे पनि हालसम्म नेपालमा भने ओमिक्रोन पुष्टि नभएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । स्वास्थ्य मन्त्रालयले भने विदेश भ्रमण नगर्न सुझाव दिएको छ । नयाँ भेरियन्ट नेपाल भित्रिने सम्भावना बढेको भन्दै मन्त्रालयले नाका र एयरपोर्टमा सतर्कता बढाइएको उल्लेख गरेको छ । नयाँ भेरियन्ट भेटिएको मुलुकबाट आउने यात्रुलाई विमानस्थलमै हेल्थ डेस्क राखेर परीक्षण गर्ने र क्वारेन्टिनमा राख्ने क्रम थालिएको मन्त्रालयले जनाएको छ । 

दक्षिण अफ्रिकामा बढ्यो कोभिड
दक्षिण अफ्रिकामा दुई दिनयता कोभिड संक्रमण दर झन्डै दोब्बर संख्यामा बढेको छ । सोमबार दुई हजार दुई सय ७३, मंगलबार चार हजार तीन सय ७३ र बुधबार आठ हजार पाँच सय ६१ जनामा संक्रमण पुष्टि भएको छ । सो तथ्यांक हेर्दा कोभिड संक्रमण दर प्रतिदिन दोब्बरले बढ्दै गएको देखिन्छ । दक्षिण अफ्रिकाले कुल परीक्षणको १६.५ प्रतिशत संक्रमण दर देखिएको जनाएको छ । हालसम्म ओमिक्रोन भेरियन्ट तीव्र संक्रामक भएको अनुमान गरिएको थियो, जुन विश्व स्वास्थ्य संग्ठनले पुष्टि भएको जानकारी दिएको छ । बुधबार प्रेस बिफिङमा डब्लुएचओले ओमिक्रोन डेल्टाको तुलनामा बढी संक्रामक रहेको जनाएको छ । 

नौ देशबाट नेपाल आउन प्रतिबन्ध, दैनिक दुई  लाख नागरिकलाई खोप लगाइने

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि सरकारले अन्तर्राष्ट्रिय आवतजावतमा कडाइ गरी खोप अभियान बढाउने निर्णय गरेको छ । ओमिक्रोन धेरै देखिएका देशबाट नेपाल आउन सरकारले प्रतिबन्ध लगाएको छ । 

१३ मंसिरको मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार यससम्बन्धी आदेश जारी गरिएको हो । जसअनुसार दक्षिण अफ्रिका, हङकङ, बोत्सवाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावीबाट नेपाल आउन रोक्ने निर्णय भएको छ । ती देशलाई ट्रान्जिट बनाएर नेपाल आउनसमेत रोक लगाइएको छ । यसअघि नै अफ्रिकी देशका नागरिकलाई अनअराइभल भिसामा रोक लगाइएको छ । 

तीन साताभित्र प्रतिबन्ध लगाएका नौ देश गएका यात्रुलाई समेत नेपाल प्रवेशमा रोक लगाउने र यो आदेश जारी हुँदा ट्रान्जिटमा रहेका व्यक्तिको हकमा आफ्नै खर्चमा सात दिन अनिवार्य होटेल क्वारेन्टिन बस्नुपर्ने नियम लागू गरिएको छ । 

अन्य जोखिमपूर्ण देशका नागरिकलाई पनि क्रमशः अनअराइभल भिसा रोकिने गृह मन्त्रालयले जनाएको छ । त्यस्ता देशबाट आउने नागरिकलाई अनिवार्य होटेल क्वारेन्टिन बस्नुपर्ने नियम पनि लागू गरिएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) का संयोजकको नेतृत्वमा कार्यटोली बनाई क्वारेन्टिनको व्यवस्थापन र अनुगमन गर्ने निर्णय पनि गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शंकास्पद कोरोना पजिटिभ देखिएका यात्रुहरूको यात्राको विवरणका आधारमा जिन सिक्वेन्सिङ गर्ने भएको छ । त्यस्तै, खोप अभियानलाई व्यापक बनाउने निर्णय पनि सरकारले गरेको छ । दैनिक दुई लाखजनालाई खोप लगाउने गरी स्वास्थ्य मन्त्रालयले तयारी थालेको छ । 

५७ लाख डोज खोप मौज्दात :  एक महिनाभित्र थप साढे तीन करोड डोज खोप आउँदै 

नेपालमा हालसम्म कोभिडविरुद्धको खोप दुई करोड ५४ लाख ७० हजार ६ सय ३० डोज प्राप्त भएको छ । जसमध्ये एक करोड ७० लाख २६ हजार तीन सय ३८ डोज मात्रै प्रयोग भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उपलब्ध खोप, खोपको खर्च र प्रतिवेदनमा ठूलो भिन्नता देखिएको छ । तथ्यांकअनुसार प्रयोग भएको खोपको मात्रामा २७ लाख १७ हजार नौ सय ७८ डोज फरक देखिएको छ । 

खोप खर्चका आधारमा १० दशमलव ७ प्रतिशत प्रगति प्रतिवेदन नहुनु मुख्य चुनौती भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्राप्त खोप र प्रगतिमा भिन्नता देखिनुमा स्थानीय तहबाट प्रतिवेदन उपलब्ध नभएको अनुमान स्वास्थ्यका अधिकारीहरूले गरेका छन् । हाल ५७ लाख २६ हजार दुई सय ६९ डोज खोप मौज्दात छ । अधिकारीहरूले कोभिडको खोपप्रति नागरिकको चासो कम हँुदै गएकाले मौज्दात बढ्न थालेको बताएका छन् ।

स्वास्थ्य मन्त्रलायका सहप्रवक्ता डा. समीर अधिकारीले नेपालमा जोन्सन एन्ड जोन्सन, मोडेर्ना, एस्ट्राजेनेका, सिनोभ्याक, सिनोफर्म (एक डोज), फाइजरका खोप लगाइएको बताए । स्वास्थ्य सेवा विभागका अनुसार एक महिनाभित्र तीन करोड ४५ लाख ९४ हजार तीन सय ६० डोज खोप आउने कार्यतालिका छ । विदेशबाट जोन्सन एन्ड जोन्सन, मोडेर्ना, एस्ट्राजेनेका, सिनोभ्याक, सिनोफर्म (एक डोज) र फाइजरको खोप आउँदै छ । परिवार कल्याण महाशाखाका खोप सुपरभाइजर वसन्त श्रेष्ठका अनुसार नेपालमा लक्षित जनसंख्या तीन करोड दुई लाख ११ सय छन् । १८ वर्ष र सोभन्दा माथिको जनसंख्या एक करोड ९८ लाख २७ हजार २२ छ । १२ देखि १७ वर्षसम्मको जनसंख्या ३४ लाख पाँच हजार चार सय ५५ जना र १२ वर्ष तथा सोभन्दा माथिको जनसंख्या दुई करोड ३२ लाख ३२ हजार चार सय ७७ छ ।