मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर १६ बिहीबार १५:५६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिविका करार शिक्षकलाई स्थायी नियुक्ति दिन लागिएपछि विद्यार्थी संगठनद्वारा विरोध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर १६ बिहीबार १५:५६:००

त्रिभुवन विश्वविद्यालयमा करार सेवामा कार्यरत शिक्षक र कर्मचारीलाई आन्तरिक प्रक्रियाबाट स्थायी गर्न लागिएको भन्दै विद्यार्थी संगठनले विरोध गरेका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी),  नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल (छैटौँ) लगायतले आपत्ति जनाएका हुन्।

स्थायी नियुक्ति प्रक्रिया अमान्य हुने भन्दै विज्ञप्तिमा संगठन प्रमुखहरूले हस्ताक्षर गरेका छन्। ‘नयाँ पुस्ताका प्रविधिमैत्री दक्ष जनशक्तिलाई दुरुत्साहन गरिएको छ,’ संगठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्रिवि सेवा आयोगको योे निर्णयले राज्यलाई झन्डै एक अर्ब पाँच करोड बढी आर्थिक भार पर्छ।’ त्यसैले पनि आन्तरिक प्रतियोगिताको निर्णय खारेज गर्नुपर्ने संगठनको माग छ। 

त्रिवि सभाको मंगलबार बालुवाटारमा बसेको बैठकले करार शिक्षकलाई आन्तरिक प्रतियोगिताबाट स्थायी गरिने निर्णय गरेको थियो। बैठकले करार सेवामा कार्यरत करिब ४ सय ८० जना शिक्षक कर्मचारी प्रतियोगितामा उतीर्ण भए स्थायी गरिने निर्णय गरेको हो। 

तर, उक्त प्रतियोगिता देखावटी र करारका कर्मचारीलाई स्थायी गराउने माध्यम भएको भन्दै संगठनहरूले विरोध जनाएका छन्। यसअघि ०६९ मा त्रिविले लिएको परीक्षामा करिब चार सय ८० जना शिक्षकसहितका कर्मचारी अनुतीर्ण भएका थिए। तीनै शिक्षकलाई स्थायी गराउने ढोका मंगलबारको त्रिवि सभा बैठकले खालेको हो। 

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाकै दबाबपछि मंगलबारको त्रिवि सभाको बैठकबाट स्थायी गराउने प्रस्ताव अघि सारिएको थियो। तर, सदस्य र पदाधिकारीको विरोधपछि मंगलबार बसेको बैठकमा उनीहरूलाई स्थायी नियुक्ति दिइएन। सो विषय त्रिवि सभामा लैजान उपकुलपति प्रा.डा.धर्मकान्त बाँस्कोटालाई प्रधानमन्त्री शेरबहादुर देउवाले दबाब दिँदै आइरहेका थिए। विरोधपछि उक्त कार्य रोकिएको थियो। 

२०६४ मा त्रिविमा कार्यरत आंशिक शिक्षकहरूले आफूलाई स्थायी गराउन माग राखेका थिए। त्यसवेला उनीहरूले रत्नपार्कमा अनशन बसेर दबाब दिएपछि १३ सय ८० शिक्षकलाई विश्वविद्यालयले करारमा नियुक्ति गरेको थियो । त्यसमध्येबाट पनि छनोट गरेर स्थायी शिक्षकको नियुक्ति दिन त्रिविले ०६९ मा फेरि तिनै करार शिक्षकको परीक्षा लिएको थियो। करारका शिक्षकलाई स्थायी गर्न कोटा थप गर्दै त्रिविले ११ सयजना शिक्षकको माग गरेको थियो । त्यतिवेला १३ सय ८० जनालाई परीक्षामा सहभागी गराउँदा नौ सयजना शिक्षक मात्र उत्तीर्ण भएका थिए । चार सय ८० जना अनुर्तिण भए। 

त्यसवेला लिखित परीक्षामा फेल भएका शिक्षकहरूलाई आन्तरिक प्रतियोगिताबाट अहिले स्थायी बनाउने प्रक्रिया त्रिविले अघि बढाएको हो।