१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ मङ्सिर १६ बिहीबार १४:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पशुपालक कृषकलाई ५० प्रतिशत अनुदानमा 'च्यापकटर' वितरण

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १६ बिहीबार १४:४१:००

धनकुटाको महालक्ष्मी नगरपालिकाले पशुपालक कृषकहरूलाई मोटरसहितको च्यापकटर वितरण गरेको छ । नगर क्षेत्रका एक सय ४० पशुपालक कृषकहरूलाई ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण गरिएको हो ।

विद्युतको माध्यमबाट चल्ने सो चापकटर गाईबस्तुलाई दिइने घाँस टुक्राउन उपयोगी मानिन्छ । नगरपालिकामा एक कार्यक्रम गरेर कृषकहरूलाई च्यापकटर हस्तान्तरण गरिएको छ । कार्यक्रममा छुटेकाहरूलाई केही दिनभित्रै वितरण गरिने नगरपालिकाले जनाएको छ । कृषकहरूलाई पशुपालनमा प्रोत्साहन र सहजीकरण गर्न नगरपालिकाले अनुदानमा च्यापकटर प्रदान गरेको महालक्ष्मी नगरपालिका धनकुटाका नगरप्रमुख पर्शुराम नेपालले बताए । 

कृषि पेसालाई समयअनकूल यन्त्र उपकरणको प्रयोगबाट सहज र सरल बनाउन नगरपालिकाले सहयोग गर्दै आएको भन्दै नगरप्रमुख नेपालले आगामी दिनमा पनि कृषकहरूलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारी, वडा नं. १ का वडाध्यक्ष टेकबहादुर गुरुङ्गलगायतले च्यापकटरको प्रयोगबाट कृषकहरूलाई निकै सहज हुने विश्वास व्यक्त गरे । सो अवसरमा च्यापकटरका बारेमा जानकारी दिँदै प्रयोग गर्ने तरिका पनि कृषकहरूलाई जानकारी गराइएको थियो ।
    
च्यापकटरबाट घाँस काट्न छिटो, छरितो र सरल हुने भएकाले निकै उपयोगी हुने कृषकहरू बताउँछन् । सो च्यापकटरको बजार मूल्य प्रतिगोटा करिब ३५ हजार रहेको छ । नगरपालिकाले लाखौँ रकम खर्चेर कृषकहरूलाई अनुदानमा च्यापकटर दिएको हो । महालक्ष्मी नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कृषकहरूलाई सहयोग गर्दै आएको छ ।