मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७५ पौष ६ शुक्रबार ०८:५७:००
Read Time : > 2 मिनेट
खेलकुद

भैरहवा र ललितपुरबीच उपाधि भिडन्त

Read Time : > 2 मिनेट
२०७५ पौष ६ शुक्रबार ०८:५७:००

दोस्रो क्वालिफायरमा काठमाडौं किंग्सलाई ६ विकेटले हराउँदै भैरहवा इपिएलको फाइनलमा

एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० प्रतियोगिताको उपाधि भिडन्त शनिबार ललितपुर पेट्रियट्स र भैरहवा ग्लाडिएटर्सबीच हुने भएको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार दोस्रो क्वालिफायरमा काठमाडौं किंग्स ११ लाई ६ विकेटले हराउँदै भैरहवाले उपाधि भिडन्तमा ललितपुरसँगको भेट तय गरेको हो । ललितपुरले यसअघि नै काठमाडौंमाथि प्लेअफमा १ विकेटको जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । 

फाइनल पुग्न सहज लक्ष्य

फाइनल प्रवेशका लागि निर्णायक भिडन्तका रूपमा रहेको दोस्रो क्वालिफायरमा काठमाडौंले टस हारी पहिलो ब्याटिङ गरेको थियो । आयरल्यान्डका कप्तान केभिन ओ‘ब्रियनको फाइनल लक्ष्यअगाडि कुशल मल्लको घातक बलिङ बाधक बन्यो । म्यान अफ द म्याच कुशलले २० रन खर्चेर ३ विकेट लिएपछि काठमाडौंले २० ओभरमा सबै विकेट गुमाएर सय रन खडा गर्‍यो । प्रत्युत्तरमा भैरहवाले केवल १७ ओभरमा ४ विकेटको क्षतिमा १ सय २ रन बनाउँदै फाइनलमा स्थान पक्का गर्‍यो । 

रायन र रविइन्दरले उकासे 

सहज लक्ष्य पछ्याएको भैरहवाले ३५ रनमा २ विकेट गुमाएको थियो । रायन टेन डोएस्चट र रविइन्दर सिंहले तेस्रो विकेटका लागि ४४ रनको साझेदारी गर्दै भैरहवालाई जितको बाटो देखाए । यी दुईले भैरहवालाई ३५–२ बाट ७७–३ को स्थितिमा राखे । रायनलाई सांसद सेखले लङअफमा सिद्धान्त लोहनीबाट उत्कृष्ट क्याच गराए ।

रविइन्दरले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरी ३१ रनको योगदान दिए । त्यसपछि रायनले कप्तान शरद भेषवाकरसँग चौथो विकेटका लागि १४ रन जोडे । रायनले आफ्नो विकेट सांसदलाई क्याचआउटका रूपमा दिए । उनले ३८ बलमा ५ चौकाको सहयोगमा ४५ रन बटुले । 

केभिनको विकेट टर्निङ प्वाइन्ट

काठमाडौंको ब्याटिङ सुरुवातदेखि धर्मरायो । कुनै पनि समय काठमाडौंका लागि गतिलो साझेदारी भएन । काठमाडौंले पहिलो ४ विकेट ३७ रनभित्र गुमाएको थियो । भरपर्दा ब्याट्सम्यान केभिनलाई कुशलले आफ्नो पहिलो बलमै डकआउट पारे । आरिफ सेखले केभिनको सहज क्याच समाप्दा भैरहवाले खेल पकडमा लियो ।

काठमाडौंले औसत योगफल बनाउनुको कारण पनि केभिनको विकेट पतन नै रह्यो । काठमाडौंलाई प्लेअफसम्म पुर्‍याउनमा केभिनको उत्कृष्ट प्रदर्शन नै थियो । तर, निर्णायक खेलमा उनी चुक्न पुगे । ‘विशेषतः मेरो विकेट गुम्नु नै खेलको टर्निङ प्वाइन्टका रूपमा लिएको छु,’ खेलपछि केभिनले भने, ‘स्कोरबोर्डमा हामीले थप ३० रन जोड्नुपर्ने थियो ।’ 

मध्यक्रमको प्रयास

मध्यक्रमका प्रदीप साहू र सन्दीप रजालीले पाँचौँ विकेटका लागि ३३ रनको साझेदारी गर्दा काठमाडौंले सम्हालिने मौका पायो । १४.६ ओभरमा साहू आउट भए । उनले २५ रनको योगदान दिए । उनी आउट भएसँगै काठमाडौंंको विकेटपतन सुरु भयो । साहू आउट हुँदा काठमाडौं ७०–५ को स्थितिमा थियो ।

थप ३० रन जोड्दा काठमाडौं अलआउट नै भयो । काठमाडौंका ८ ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । सन्दीप रजालीको २७ रन सर्वाधिक रह्यो । 

ज्ञानेन्द्र र शरदबीच पहिलो फाइनल

राष्ट्रिय टोलीका प्रमुख खेलाडी शरद र ज्ञानेन्द्र मल्ल पहिलोपटक उपाधि भिडन्तमा आमने–सामने हुन लागेका हुन् । ज्ञानेन्द्रले आफ्नो कप्तानीमा टोलीलाई दोस्रोपटक फाइनल पुर्‍याएका छन् । उनको कप्तानीमा काठमाडौं गोल्डेन्सले डिपिएलको फाइनल पहिलोपटक खेलेको थियो । ज्ञानेन्द्रले ललितपुरलाई पहिलोपटक फाइनल पु¥याए । 

शरदको लगातार फाइनलयात्रा

घरेलु क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीका मध्यक्रमका ब्याट्सम्यान शरद सर्वाधिक सफल कप्तानका रूपमा दरिएका छन् । शदर आबद्ध टोलीले ६ फरक क्रिकेट प्रतियोगितामा फाइनल स्थान पक्का गरेको छ । जसमध्ये शदरको कप्तानीमा ३ पटक उपाधि जितेको छ भने दुईपटक उपविजेता बनेको छ ।

शरदले इपिएलको सुरुवाती दुई संस्करणको फाइनल खेलेका थिए । गत वर्ष भैरहवा उपविजेता बन्दा टोलीका कप्तान शरद नै थिए । शरदको कप्तानीमा पञ्चकन्याले इपिएलको पहिलो संस्करण जितेको थियो । पहिलो संस्करणमा पञ्चकन्याले कलर्सलाई फाइनलमा ४० रनले हराएको थियो ।

शरदको कप्तानीमा विराटनगर किंग्सले पहिलो संस्करणको धनगढी प्रिमियर लिग खेलेको थियो । फाइनलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर धनगढी टिम चौराहसँग ६२ रनले पराजित भयो ।

जितपछि भैरहवाका शरदले राम्रो टिम छनोटले सधैँ भाग्यमानी बन्दै आएको बताए । उनले भने, ‘विदेशी खेलाडी होस् या स्थानीय, मैले राम्रा खेलाडी लिन पाएको छु । उनीहरूको प्रदर्शन राम्रो रहँदा म भाग्यमानी बनेको छु ।’ उनले पूरै टिमले राम्रो खेल्दा सफलता हात पारेको बताए । साथै, उनले युवा खेलाडीको प्रदर्शन उत्कृष्ट भएको पनि बताए । यस्ता घरेलु क्रिकेटमा युवा खेलाडीबारे धेरै सोचिरहनुनपर्ने भन्दै उनले पूर्ण विश्वासका साथ युवालाई मैदान पठाएको बताए ।