१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ मङ्सिर १५ बुधबार ०९:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घरेलु हिंसाका घटना मिलापत्रमै सीमित

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १५ बुधबार ०९:२०:००

गोरखामा अधिकांश घरेलु हिंसाका घटना मिलापत्रमै सीमित हुने गरेका छन् । चार महिनायता मात्रै घरेलु हिंसाका ४१ वटा उजुरी दर्ता भएकामध्ये १९ वटा उजुरी मिलापत्र भएका छन् ।  दर्ता भएकामध्ये १६ वटा उजुरी अन्य निकायमा पठाएको र ६ वटा उजुरी फस्र्योट हुन बाँकी रहेको डिएसपी प्रकाश दाहालले जानकारी दिए । एक वर्षमा एक सय १३ वटा यस्ता उजुरी दर्ता भएकोमा ७६ वटा उजुरीको मिलापत्र गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

०७६/७७ मा एक सय १६ वटा उजुरी दर्ता भएकामध्ये ८० उजुरी मिलापत्रमा टुंगिएको प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । कार्यालयबाट प्राप्त तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा जिल्लामा घरेलु हिंसासम्बन्धी उजुरी दर्ताको क्रम बढ्दै गएको छ । अशिक्षा, परम्परागत रुढिवादी सोच एवं कुसंस्कारका कारण घरेलु हिंसा बढ्ने गरेको डिएसपी दाहालले बताए । घरेलु हिंसाका घटना अझै धेरै घरघरमा गुपपचुप हुने गरेका छन् । 

‘लैंगिक हिंसाका घटनाको उजुरी नआउनु, महिला स्वयंले आफ्नो नियतिको रूपमा स्वीकार गर्नुले यस्ता घटना बाहिर आउँदैनन्,’ उनले भने, ‘महिलालाई स्रोत, साधन, सम्पत्ति तथा अवसरको पहुँच नहुनाले हिंसाजन्य घटना बढ्ने गरेको छ । पारिवारिक, सामाजिक तथा आर्थिकलगायत कारणबाट हिंसामा परी सम्बन्धित निकायमा गएका महिलाले मेलमिलापलाई नै अन्तिम विकल्पका रूपमा स्विकार्न बाध्य छन् । यसले गर्दा उनीहरूले पटक–पटक घरेलु हिंसा सहनुपरेको छ ।’