१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर १५ बुधबार ०७:२४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आन्तरिक प्रतिस्पर्धाबाट मात्रै त्रिविका करार शिक्षक–कर्मचारीलाई स्थायी नियुक्ति दिइने

चौतर्फी विरोधपछि एकपटकका लागि ०७९ भित्र प्रक्रिया पु¥याएर करारका चार सय ८० शिक्षक र कर्मचारीलाई स्थायी गर्ने त्रिविसभा बैठकको निर्णय, अनुत्तीर्ण हुने करार सेवाबाट हट्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर १५ बुधबार ०७:२४:००

त्रिभुवन विश्वविद्यालयमा करार सेवामा कार्यरत शिक्षक र कर्मचारीको स्वतः स्थायी नियुक्ति नहुने भएको छ । त्रिविसभाको मंगलबार बसेको बैठकले एकपटकका लागि ०७९ भित्र आन्तरिक प्रतिस्पर्धाबाट नियुक्ति गराउने निर्णय गर्दै स्वतः स्थायी नियुक्ति रोकेको हो । यसभन्दा अघि लिइएको परीक्षामा फेल भएका करारका शिक्षक र कर्मचारीलाई स्वतः स्थायी गरिने विषय विवादित बनेको थियो । सो विषयमा त्रिविसभाकै सदस्यहरूले विरोध गर्दै आइरहेका थिए ।

चर्को विरोधपछि मंगलबार बसेको बैठकले करार सेवामा कार्यरत करिब चार सय ८० जना शिक्षक र कर्मचारीलाई प्रक्रिया पुर्‍याएर पुनः एकपटक परीक्षामा सामेल गराएर मात्रै स्थायी गराउने निर्णय गरेको त्रिवि स्रोतले जनाएको छ । सो परीक्षामा अनुत्तीर्ण हुनेहरू करार सेवाबाट समेत हट्ने बताइएको छ । यसअघि ०६९ मा त्रिविले लिएको परीक्षामा करिब चार सय ८० जना शिक्षक, कर्मचारी अनुत्तीर्ण भएका थिए । अहिले तिनै शिक्षकलाई स्थायी गरिने प्रपञ्च रचिएको थियो । तर, त्रिविसभाका सदस्य र पदाधिकारीको विरोधपछि मंगलबार बसेको बैठकमा उनीहरूलाई स्थायी नियुक्ति दिइएन । 

 कर्मचारीको विरोधपछि स्थायी बनाउने प्रस्ताव जस्ताको तस्तै पास हुन सकेन 
त्रिवि उच्च स्रोतका अनुसार सो विषय त्रिविसभामा लैजान उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटालाई प्रधानमन्त्री शेरबहादुर देउवाले दबाब दिँदै आइरहेका थिए । देउवाकै दबाबका कारण पहिले नै अनुत्तीर्ण भएर अयोग्य करार शिक्षकलाई स्थायी बनाउने प्रस्ताव मंगलबार पास गर्ने तयारीसमेत भएको थियो । विरोधपछि गलत कार्य रोकिएको त्रिविका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार प्रधानमन्त्री देउवाकै इच्छाअनुसार नै करार शिक्षक, कर्मचारीलाई स्थायी बनाउन लागिएको थियो । तर, मंगलबारको बैठकमा समेत सदस्य र केही कर्मचारीको विरोधपछि स्थायी बनाउने प्रस्ताव जस्ताको तस्तै पास हुन सकेन । 

सभामा प्रमुख अतिथिको रूपमा देउवालाई आमन्त्रण गरिएको थियो । देउवाले नै दबाब दिएपछि उपकुलपति बास्कोटाले करारका शिक्षकलाई स्थायी गर्ने प्रस्ताव अघि सारेका थिए । तर, त्रिविका धेरै शिक्षक र कर्मचारीको विरोधपछि देउवाले प्रस्ताव जस्ताको तस्तै पास गर्न सकेनन् । यस विषयमा बैठकमा प्रधानमन्त्री देउवाले कुनै संकेत गरेनन् । उनले अन्य विषयमा बोले पनि करारका शिक्षक कर्मचारीको विषयमा भने बोलेनन् । आन्तरिक प्रतिस्पर्धात्मक परीक्षामा सहभागी गराएर स्थायी गरिने प्रस्ताव भने देउवाले पास गरेको स्रोतको भनाइ छ । त्रिविको विकास र शैक्षिक अनुसन्धान क्षेत्र बढाउन वर्तमान नेतृत्वले आवश्यक कार्ययोजना बनाएर अघि बढ्नुपर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो । त्रिविमा कार्यरत प्राध्यापकहरूलाई अनुसन्धान कार्यमा सरिक गराएर उनीहरूको क्षमता वृद्धि गर्नुपर्ने देउवाले बताएको बैठकमा सहभागी एक त्रिवि अधिकारीले जानकारी दिए ।

त्रिवि उपकुलपति बास्कोटा भन्छन्- दक्ष जनशक्ति उत्पादन गर्ने अभियानमा लागेका छौँ
त्रिवि उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन गर्ने अभियानमा विश्वविद्यालय रहेको जनाउँदै बजेटलगायत अन्य प्रस्ताव पास गरिएको बताएका छन् । उनले अन्य प्रस्ताव भनेर करार शिक्षकलाई नियुक्ति गर्न बनाइएको प्रस्तावलाई संकेत गरेका थिए । ‘आजको सभामा प्रस्तुत हुने आव ०७८/७९ को बजेटलगायत अन्य केही प्रस्तावलाई स्वीकृति गर्नुहुन अनुरोध गर्दछु,’ उनले भने, ‘यो सभा त्रिवि भवनको सभाकक्षमा गर्न नसकिएकोमा क्षमा माग्दछु ।’ बास्कोटाले त्रिविमा थुप्रै समस्या रहेकाले समाधान गर्न सरकारले पनि चासो दिनुपर्ने बताएका थिए ।

०६४ मा त्रिविमा कार्यरत आंशिक शिक्षकहरूले आफूलाई स्थायी गराउन माग राखेका थिए । त्यसवेला उनीहरूले रत्नपार्कमा अनशन बसेर दबाब दिएपछि १३ सय ८० शिक्षकलाई विश्वविद्यालयले करारमा नियुक्ति गरेको थियो । त्यसमध्येबाट पनि छनोट गरेर स्थायी शिक्षकको नियुक्ति दिन त्रिविले ०६९ मा फेरि तिनै करार शिक्षकको परीक्षा लिएको थियो । करारका शिक्षकलाई स्थायी गर्न कोटा थप गर्दै त्रिविले ११ सयजना शिक्षकको माग गरेको थियो । त्यतिवेला १३ सय ८० जनालाई परीक्षामा सहभागी गराउँदा नौ सयजना शिक्षक मात्र उत्तीर्ण भएका थिए । चार सय ८० जना स्थायी हुन परीक्षामा अयोग्य देखिएका थिए । त्यतिवेला लिखित परीक्षामा फेल भएका शिक्षकहरू करारमै जागिर खाँदै आइरहेका थिए । 

तत्कालीन समयमा असफल भएका शिक्षकहरूलाई अहिले स्थायी बनाउने प्रक्रिया त्रिविले अघि बढाए पनि मंगलबारको बैठकमा उक्त प्रस्ताव दुरुस्तै पास गरिएन । त्रिविसभाको पूर्वसन्ध्यामा सोमबार बसेको बैठकमा समेत करारका कर्मचारीलाई स्थायी गरिने विषयमा छलफल चले पनि सदस्य तथा त्रिवि पदाधिकारीको विरोधपछि मंगलबार उक्त प्रस्ताव परिवर्तन गरिएको हो ।