१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ मङ्सिर १४ मंगलबार २३:४७:००
Read Time : > 2 मिनेट
ब्लग डिजिटल संस्करण

‘कमरेड ओली’ बधाई भन्ने कि ‘केपी बा’ बधाई !

Read Time : > 2 मिनेट
२०७८ मङ्सिर १४ मंगलबार २३:४७:००

चितवनमा सम्पन्न नेकपा (एमाले) को १०औँ महाधिवेशनले केपी ओलीलाई ‘बा’ को रुपमा आदर्श ठन्नेहरू र स्वयं ‘केपी बा’ लाई विजय बनाएर सम्पन्न भएको छ भन्दा फरक नपर्ला । आत्मप्रसंशामा रमाउने र रुचाउने ओली यो महाधिवेशनबाट विरोधीलाई पाखा लगाउन सफल भए । शब्दमा एकताको महाधिवेशन भनिए पनि आफ्ना भक्तहरूलाई पद दिएर खुशी पार्ने दह्रो माध्यम बन्यो । 

आफूले खल्तीबाट बाँडेको नामलाई अनुमोदन गराएर एमालेमा ‘बा’ भन्नेको सर्वस्व कायम गर्न ओली सफल भए । भलै भोलि परिणाम जस्तोसुकै निस्कियोस । आफूलाई ‘बा’ नभनि एमालेमा टिक्न गाह्रो छ भन्ने सन्देश दिन ओली सफल भएका छन् ।

झापा विद्रोहबाट आएको ‘कमरेड’ होइन, बालकोट दरबारको ‘बा’ शब्द ओलीलाई निकै प्यारो लाग्न थालेको छ । आफूले बाँडेको सूचीभन्दा बाहिरबाट उम्मेदवारी दिनेलाई मत नहाल्न प्रतिनिधिलाई पर्चा नै वितरण गरेको घटनाले यसलाई पुष्टि गर्छ ।  

आलोचकलाई पाखा लगाएर भक्तिभाव गर्नेलाई काखी च्याप्ने वाणी ओलीको पुरानै हो । पार्टी र सरकार चलाइसकेका माधवकुमार नेपाल र झलनाथ खनाल एमालेबाट बाहिरिएपछि ओलीलाई एकछत्र राज गर्न सहज भएको छ । 

नवौँ महाधिवेशनको क्रममा एक पटक मात्र अध्यक्ष बन्ने प्रतिवद्धता जनाएका ओलीले दशौँ महाधिवेशनबाट पाँच वर्षका लागि फेरि पार्टी सत्ताको बागडोर सम्हालेका छन् । आलोचकलाई पाखा लगाएर ओलीको कार्यकाल सफल हुन्छ कि हुँदैन समयले विस्तारै बताउँदै जाने छ । 

दुई–दुई पटक असंवैधानिक रुपमा संसद विघटन गरेका ओलीमा रतिभर पनि गल्ती महसुस छैन । बरु, उनी आफूले गरेको गल्तीलाई सक्दो ढाँकछोप गर्न तल्लिन देखिन्छन । महाधिवेशनमा प्रस्तुत भिडियो र भाषणले यसलाई पुष्टि गर्छ ।

विचार र नेतृत्वकै कारण देखाएर एमाले छाडेर अनुभवी नेता तथा कार्यकर्ताले अर्को पार्टी बनाए पनि ओली आगामी चुनावमा एकल बहुमत आउने दाबी गर्छन । आधार, प्रमाणविनाको ओलीको भाषणमा पनि एमालेजन खुसी नै देखिन्छन् । चित्त नबुझेपनि आफ्नो राजनीतिक भविश्यका लागि पनि ‘बा’ को गुणगान गाउनुपर्ने बाध्यता एमालेजनमा देखिन्छ । भाषण गर्न सिपालु ‘ओली बा’बाट प्राप्त खुसी कहिलेसम्म भन्ने प्रश्न भने टड्कारो देखिन्छ । 

दुई तिहाइको सरकार र वाम एकता जोगाउन मात्र होइन, एमालेसमेत एकतावद्ध गर्न नसकेका ओलीले आगामी निर्वाचनमा एक्लै दुई तिहाई बहुमत ल्याउने भाषण महाधिवेशनमा सहभागी हजारौँ कार्यकर्ता माझ गरे । अनेकौँ राम्रा काम गरेको दाबी ओलीले प्रस्तुत गरे । तर, जनताले त्यसको महसुुस गर्न सके त ? अहंकार र दम्भ भएको व्यक्ति नेता बन्नै नसक्ने तर्क पनि ओलीले गरे । जुन तर्कले ओलीतिरै नजर लगाइरहेको थियो । के ओली सच्चिन चाहेका हुन ? यो प्रश्नको जवाफ भोलिका दिनमा ओलीको व्यवहारले नै दिने छ । 

एमाले फुटेपछि आफ्नो विरोधी पार्टीमा नरहेको निचोडमा पुगेका ओलीले आफूलाई सर्वमान्य नेताको रुपमा अघि सारेका थिए । सोहीअनुसार अध्यक्षमा अर्का प्रतिष्पर्धी (डा. भीम रावल) हुँदाहुँदै ओलीले आफूलाई सर्वसम्मत अध्यक्षमा मात्रै अघि सारेनन्, आफ्नो खल्तीबाट पदाधिकारी र केन्द्रीय सदस्यको सूची पनि सर्वसम्मतकै नाममा अघि सारे । प्यानल बनाउन नपाउने आफ्नै अध्यक्षमा भएको बैठकको निर्णयलाई उनले घुमाउरो पारामा भताभुंग पारे । जनताको बहुदलीय जनवाद मान्ने दाबी गर्ने पार्टीलाई आन्तरिक प्रतिष्पर्धामा उतार्न रावल र घनश्याम भुसालले ठुलै संघर्ष गर्नुपरो । ओलीको आलोचना होइन, सल्लाह सुझाव दिन पनि १० पटक सोच्नुपर्ने अवस्था एमालेमा देखिन्छ । 

प्रधानमन्त्री हुँदा ईश्वरका नाममा सपथ नखाने ओली रामधाम बनाउँछु भनेर हिडेका छन् । निर्माण नसकिँदै उद्घाटन, कागजमा उद्घाटन, बालुवाटारबाट उद्घाटनको श्रृंखला ओलीले लामै चलाए । काम कति भए जनताले छर्लंगै देखेका छन् । बोलेर होइन, काम गरेर जनताको मन जित्नुपर्छ । ओलीका भाषणअनुसार अहिले प्रतिनिधिहरु कोही पानी जहाज, कोही  रेलमा चितवनको महाधिवेशनमा आएका हुन्थे । तर, विडम्बना ओलीका यी कुरा भाषणमा मात्रै सीमित भए । आगामी दिनमा भाषणमा होइन, व्यवहारमै काम गर्ने शक्ति मिलोस । डर वा आफ्नो स्वार्थका लागि ‘केपी बा’ होइन, देशको हितमा ‘केपी कमरेड’ भनेर सल्लाह दिने अवस्था बनोस । शुभकामना ।।