मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ मङ्सिर १४ मंगलबार १०:४९:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

निजी जग्गा भन्दै चुरे क्षेत्रमा अवैध उत्खनन

अनुमति नै नलिई ढुंगामाटो बिक्री भइरहँदा पनि स्थानीय सरकार मौन

Read Time : > 2 मिनेट
२०७८ मङ्सिर १४ मंगलबार १०:४९:००

चुरेसँग जोडिएका झापाका विभिन्न क्षेत्रमा व्यक्तिगत जमिन खेतीयोग्य बनाउन सम्याउने नाममा धमाधम अवैध उत्खनन भइरहेको छ । चुरेको पहिरो पसेका वा बगर बनेका जमिन किनी तिनलाई खेतीयोग्य बनाउने नाममा चुरे क्षेत्रसम्मै प्राकृतिक स्रोतसाधनको दोहन गर्ने क्रम बढ्न थालेको हो । स्थानीयका अनुसार दमकका टेकनाथ पोखरेलले दमक नगरपालिका– ३ स्थित ढुंगेमा रहेको दुई बिघा जमिन सम्याउने नाममा चुरेक्षेत्रको उत्खनन गरिरहेका छन् । पोखरेलले उत्खनन गरेको ढुंगे चुरे क्षेत्र पर्छ । यो क्षेत्रसँग इलाम चुलाचुली– ५ जोडिएको छ । पोखरेलले निजी जग्गामा अवैध उत्खनन गरेपछि चुलाचुली गाउँपालिकाका स्थानीयले पनि निजी जग्गामा अवैध उत्खनन गरेर माटो बेच्न सुरु गरेका छन् । पोखरेलले उत्खनन गरेको ठाउँभन्दा केही उत्तर चुलाचुली– ५ इमानेटारका कपिल पाण्डेले पनि वातावरणीय प्रभाव परीक्षणविनै धमाधम उत्खनन गरेर माटो बेचिरहेका छन् । जग्गा भिरालो भएकाले आफूले सम्याएको पाण्डेले दाबी गरे ।

पोखरेलले भने गत वर्ष दुई बिघा जमिन सम्याई खेतीयोग्य बनाउन भन्दै नगरपालिकाबाट स्वीकृति लिएका थिए । जमिन सम्याउने क्रममा निक्लने ढुंगा तथा गिट्टी बेच्नका लागि नगरपालिकालाई तीन लाख राजस्व पनि तिरेका थिए । स्थानीय भन्छन्, ‘तर, उनको नियत खेतीयोग्य जमिन बनाउने नभई चुरेक्षेत्रमा अवैध उत्खनन गर्नेरहेछ । एक वर्षयता त्यहाँबाट ढुंगा तथा गिट्टी निकाल्दै धमाधम बिक्री गरिरहेका छन् ।’ 

पोखरेलले यसपटक चुरे क्षेत्रमै ११ कट्ठा जमिन उत्खनन गर्नुपर्ने भन्दै दमक नगरपालिकामा अर्को निवेदन हालेका छन् । उनको निवेदन अहिलेसम्म स्वीकृत भएको छैन । तर, उनी निजी खेत भन्दै धमाधम ढुंगा तथा गिट्टी उत्खनन गरिरहेका छन् । एक स्थानीयले भने, ‘उनको खेतनजिकै मावाखोला छ । पाँच सय मिटरआसपास मावाको बाँध र बेल्डाँगी खानेपानी आयोजना पनि छ । तर, उनी निजी भन्दै चुरेक्षेत्रको अवैध उत्खनन गरिरहेका छन् । खेतीयोग्य जमिन बनाउन सम्याउने बहाना बनाएर नगरपालिकामा निवेदन हाले पनि उनको नियत भने उत्खनन कै देखिन्छ । किन पनि भने विगतमा खोला बगेको उक्त जग्गा किनेर उनले क्रसर खोल्ने तयारी पनि गरेका थिए ।’ 

तर, पोखरेल भने आफूले चुरेक्षेत्रमा उत्खनन नगरेको दाबी गर्छन् । ‘क्रसर खोल्न भनेर जग्गा किनेको साँचो हो । तर, चुरे क्षेत्रमा क्रसर खोल्न मिल्दैन भन्ने सुनेपछि अहिले आफ्नो जमिन सम्याएको हुँ, अवैध काम गरेको छैन,’ उनले नयाँ पत्रिकासँग भने । 

अनुमति सकिएपछि पनि उत्खनन
पोखरेलले नगरपालिकाबाट लिएको स्वीकृतिको अवधि समाप्त भइसकेको छ । अहिले पनि उनी निरन्तर चुरेक्षेत्रमा पार्ने जग्गा उत्खनन गर्दै आएका छन् । उत्खननले खोला गाउँमा पस्न सक्ने स्थानीयको चिन्ता छ । पोखरेलले खेत सम्याउनेभन्दा पनि ढुंगा बेच्ने नियत राखेको स्थानीय बताउँछन् । ‘नगरपालिकाबाट स्वीकृति ढिलो आउँछ । काम गर्न पाइँदैन । त्यही भएर अहिले ढुंगाचाहिँ चाल्दै छु,’ पोखरेलले भने, ‘बेच्नेचाहिँ नगरपालिकाबाट स्वीकृति आएपछि मात्र हो । ढुंगा निकाल्दै गर्दा त केही हुँदैन होला भनेर हो ।’ पोखरेलले एउटा डोजर नियमित उत्खनन स्थलमा राखेका छन् । गत वर्षामा पनि उनले निरन्तर ढुंगा बेचेका थिए । 
गत वर्ष उनले गरेको उत्खननमा शंका गर्ने ठाउँ रहेको दमक नगरपालिकाका वातावरण अधिकृत ज्ञानेन्द्र चौधरीले बताए । यसपटक नगरप्रमुख रोमनाथ ओलीलाई स्थलगत अनुगमनमा लगेर मात्र स्वीकृति दिने तयारी रहेको उनले बताए । निवेदन आए पनि स्वीकृत नभएको उनको भनाइ छ । दमक नगरपालिका प्रमुख ओलीले पनि पोखरेललाई यस वर्ष उत्खननको स्वीकृति दिइनसकेको बताउँदै अनुगमन गरेर उत्खनन तत्काल रोक्ने बताए । 

ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्डको दफा १६ अनुसार निजी जग्गा नै भए पनि सम्याउने नाममा खनजोत गरी निकालिएको माटो तथा ढुंगा व्यावसायिक रूपले बिक्री गर्न पाइँदैन । बिक्री गर्नुपर्ने भए स्थानीय तहले स्वीकृत दिनुपर्छ । तर, झापामा अहिले चलिरहेका यस्ता धन्दामा मापदण्डको ठाडो उल्लंघन भइरहेको छ । चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठका अनुसार कार्यपालिकाबाट निर्णय भएपछि वातावरणीय प्रभाव मूल्यांकन गरेर मात्र उत्खनन गर्न पाइन्छ । तर, पाण्डेलगायतले हालसम्म गाउँपालिकाबाट स्वीकृति पाएका छैनन् । यद्यपि, चुलाचुली– ५ का वडाध्यक्ष चन्द्र थापाले भने अधिकार क्षेत्र मिचेर पाण्डेलाई स्वीकृत दिएका छन् । थापाले वडामा ५० हजार राजस्व जम्मा गराएर स्वीकृति दिइएको बताए । तर, प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने वडाध्यक्षले मात्र स्वीकृति दिन नमिल्ने बताए । ‘कार्यपालिकाबाट निर्णय भएपछि मात्र स्वीकृति दिन सकिन्छ । अन्यथा उत्खनन गर्न पाइँदैन । त्यो तत्काल रोक लगाउँछौँ,’ उनले भने, ‘यो आर्थिक वर्षमा कार्यपालिकाले कसैलाई पनि खेत सम्याउन स्वीकृति दिएको छैन ।’