मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १४ मंगलबार ०९:१२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राखेप सदस्यसचिवमा घिसिङ नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १४ मंगलबार ०९:१२:००

टंकलाल घिसिङ राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव बनेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई परिषद्का नयाँ सदस्यसचिवका रूपमा नियुक्त गरेको हो । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले आइतबार साँझ सदस्यसचिवका लागि तीनजनाको नाम मन्त्रिपरिषद्मा पेस गरेका थिए । मन्त्रिपरिषद्ले घिसिङलाई सदस्यसचिवका रूपमा नियुक्त गरेको हो । मन्त्री गहतराजले नेपाल रग्बी संघका अध्यक्षसमेत रहेका घिसिङ, अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रिपरिषद्मा पेस गरेका थिए ।

गत शुक्रबार सदस्यसचिव बन्न १८ जनाले निवेदन दिएका थिए । आइतबारै सदस्यसचिव सिफारिस समितिले निवेदन दिएका १८ जनासँग अन्तर्वार्ता र कार्ययोजनाको प्रस्तुति लिएको थियो । मन्त्री गहतराजले मन्त्रालयका सहसचिव कमलप्रसाद पोखरेलको संयोजकत्वमा कमला ज्ञवाली र हरिबहादुर श्रेष्ठ सम्मिलित छनोट समिति गठन गरेका थिए । सो समितिले एक महिलासहित तीनजनाको नाम अन्तिम सूचीमा राखेको थियो । 

नयाँ सदस्यसचिव बनेका घिसिङ माओवादीका बागमती प्रदेश कमिटी सदस्य हुन् । राष्ट्रिय खेलकुद विकास ऐनले सिफारिस समितिले एक महिलासहित तीनजनाको नाम मन्त्रालयमा सिफारिस गर्नुपर्ने प्रावधान राखेको छ । सरकारले १ कात्तिकमा परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाललाई पदमुक्त गरेको थियो । वर्तमान सरकारले चित्तबुझ्दो स्पष्टीकरण नभएको भन्दै कात्तिक १ गते सिलवाललाई बर्खास्त गरेको थियो ।

सरकारको निर्णयविरुद्ध रमेशकुमार सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सरकारले राखेपको रिक्त रहेको सदस्यसचिव पदमा खेलकुद ऐनअनुसार नयाँ नियुक्ति गरेको हो । घिसिङले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिने सम्भावना छ । गत शुक्रबारसम्म मन्त्रालयले सदस्यसचिवको आवेदन माग गरेको थियो ।  राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार राखेप सदस्यसचिव खुला छनोटका आधारमा गर्नुपर्नेछ ।