१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ मङ्सिर १४ मंगलबार ०७:५३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

त्रिविका चार सय ८० करारका शिक्षक कर्मचारीलाई स्वतः स्थायी गर्ने तयारी

आज बस्ने त्रिविसभा बैठकबाट पहिले नै अनुत्तीर्ण भएर अयोग्य करार शिक्षक कर्मचारीलाई स्थायी बनाउने प्रस्ताव पास गर्ने योजना, विरोध हुने डरले त्रिविसभा सदस्य रहेका विद्यार्थीलाई बैठकमा बोलाइएन

Read Time : > 2 मिनेट
२०७८ मङ्सिर १४ मंगलबार ०७:५३:००

त्रिभुवन विश्वविद्यालयमा करार सेवामा कार्यरत शिक्षक र कर्मचारीलाई स्वतः स्थायी गर्ने तयारी भएको छ । मंगलबार बस्ने त्रिविसभाले पटक–पटक फेल भएका करारका शिक्षक र कर्मचारीलाई स्वतः स्थायी गर्ने गरी प्रक्रिया अघि बढाउने भएको छ । ०६९ मा त्रिविले लिएको परीक्षामा अनुत्तीर्ण करिब चार सय ८० शिक्षक कर्मचारीलाई स्थायी नियुक्ति दिन लागिएको हो । 

त्रिवि उच्च स्रोतका अनुसार सो विषय त्रिविसभामा लैजान उपकुलपति प्रा.डा.धर्मकान्त बाँस्कोटालाई प्रधानमन्त्री शेरबहादुर देउवाले दबाब दिइरहेका थिए । देउवाकै दबाबका कारण पहिले नै अनुत्तीर्ण भएर अयोग्य करार शिक्षकलाई स्थायी बनाउने प्रस्ताव मंगलबार बस्ने त्रिविसभाबाट पास गर्न लागिएको हो । 

त्रिवि स्रोतका अनुसार प्रधानमन्त्री देउवाकै इच्छाअनुसार नै करार शिक्षक कर्मचारीलाई स्थायी बनाउन लागिएको हो । अस्थायी कर्मचारीको लबिङपछि देउवाले उनीहरूलाई स्थायी नियुक्ति दिने तयारी गरेका थिए । त्रिविका एक अधिकारीका अनुसार मंगलबार त्रिविसभामा लैजान लागिएको प्रस्ताव विश्वविद्यालयले गोप्य राखेको थियो । ‘पहिले नै फेल भएकालाई स्थायी बनाउनुहुन्न, तर अयोग्य व्यक्तिलाई राजनीतिक पहुँचका आधारमा नियुक्ति गर्न खोजिँदै छ, यो निकै नै गलत अभ्यास हो,’ ती अधिकारीले नयाँ पत्रिकासँग भने । मंगलबार बस्न लागेको सभा त्रिविको ‘बजेटसभा’ हो । सभामा बजेटबाहेक अन्य विषय लैजान नपाइने नियम छ । तर, करार शिक्षकलाई स्थायी बनाउन प्रस्ताव सभामा लैजाने तयारी छ । त्रिवि नियमानुसार कुनै प्रस्ताव सभामा लैजानुपूर्व नै कार्यकारी परिषद्बाट पारित गर्नुपर्ने हुन्छ । त्यतिमात्रै होइन, परिषद्का सदस्यलाई वितरणसमेत गर्नुपर्छ । तर, सदस्यहरूलाईसमेत छलछाम गरी प्रस्ताव अघि सारिएको थियो । 

 त्रिविसभा सदस्यलाई नै जानकारी गराइएन
त्रिविसभा सदस्य तथा विद्यार्थी नेता तपेन्द्र शाहीले त्रिविसभाको विषयमा आफूहरूलाई जानकारी नगराइएको बताए । उनले करार शिक्षकलाई स्थायी गर्ने विषयको विरोध हुने आशंकामा आफूहरूलाई जानकारी नगराइएको हुन सक्ने उल्लेख गरे । ‘स्वतः स्थायी गरिने विषयमा विरोध हुन्छ भनेर जानकारी नगराइएको हो,’ उनले भने, ‘यसको हामी विरोध गर्छौँ ।’ नयाँ योग्य शिक्षक माग गरेर दरबन्दी पूरा गर्नुपर्ने अवस्थामा पुरानै करारका शिक्षकलाई नियुक्ति गरिँदा त्रिविको गुणस्तरीयता खस्कने उनको भनाइ छ । विगतमा त्रिविको स्तुति भवनमा बस्ने त्रिविसभा बैठक यसपटक प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दै छ । देउवाकै दबाबअनुसार त्रिविसभा बैठक बालुवाटारमा बस्ने भएको हो । 

पहिले नै अनुत्तीर्ण भएका करारका शिक्षक कर्मचारीलाई स्वतः स्थायी गरिने विषयमा विरोध हुन्छ भनेर त्रिविसभाबारे हामीलाई जानकारी नगराइएको हो । यदि त्यस्तो प्रस्ताव पास भएमा हामी सशक्त विरोध गर्छौँ ।
 तपेन्द्र शाही, सदस्य, त्रिविसभा 

२०६४ मा त्रिविमा कार्यरत आंशिक शिक्षकहरूले आफूलाई स्थायी गराउन माग राखेका थिए । त्यसवेला उनीहरूले रत्नपार्कमा अनशन बसेर दबाब दिएपछि १३ सय ८० शिक्षकलाई विश्वविद्यालयले करारमा नियुक्ति गरेको थियो । त्यसमध्येबाट पनि छनोट गरेर स्थायी शिक्षकको नियुक्ति दिन त्रिविले ०६९ मा फेरि तिनै करार शिक्षकको परीक्षा लिएको थियो । करारका शिक्षकलाई स्थायी गर्न कोटा थप गर्दै त्रिविले ११ सयजना शिक्षकको माग गरेको थियो । त्यतिवेला १३ सय ८० जनालाई परीक्षामा सहभागी गराउँदा नौ सयजना शिक्षक मात्र उत्तीर्ण भएका थिए । चार सय ८० जना स्थायी हुन परीक्षामा अयोग्य देखिएका थिए । त्यतिवेला लिखित परीक्षामा फेल भएका शिक्षकहरू करारमै जागिर खाँदै आइरहेका थिए । तत्कालीन समयमा असफल भएका शिक्षकहरूलाई अहिले स्थायी बनाउने प्रक्रिया त्रिविले अघि बढाउँदै आएको थियो । 

त्रिविसभाको पूर्वसन्ध्यामा सोमबार बसेको बैठकमा पनि करारका कर्मचारीलाई स्थायी गरिने विषयमा छलफल चलेको थियो । त्रिविसभा सदस्य तथा नेपाल प्राध्यापक संघका अध्यक्ष बुद्ध थापाले करारका कर्मचारीलाई स्थायी गरिने विषयसभाको एजेन्डामा रहेको बताए । उनले भने, ‘यो विषय एजेन्डामा समावेश छ, सम्भवतः आज पास गरिन्छ ।’ 

 प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति भएनन्
त्रिविसेवा आयोगले यसअघि साउनमै खुला प्रतिस्पर्धा कोटामा करिब १५ सय शिक्षक कर्मचारी माग गरेको थियो । खाली रहेको दरबन्दी पूर्तिका लागि भदौमा परीक्षा लिने सूचना पनि जारी गरेको थियो । तर, आंशिक शिक्षकको विरोधपछि परीक्षा रोकिएको थियो । त्रिविले ०६८/६९ मा करार नियुक्ति गर्दा नियम बनाएको थियो । नियमअनुसार त्यसयता कुनै करारका कर्मचारीलाई स्थायीमा नियुक्ति नगरिने निर्णय त्यसवेलाको उपकुलपतिको बैठकले गरेको थियो । 

०६४ मा त्रिविमा कार्यरत आंशिक शिक्षकहरूले आफूलाई स्थायी गराउन माग राखेका थिए । त्यसवेला उनीहरूले रत्नपार्कमा अनशन बसेर दबाब दिएपछि १३ सय ८० शिक्षकलाई विश्वविद्यालयले करारमा नियुक्ति गरेको थियो । 

करार र आंशिक शिक्षकको भर
त्रिविमा करिब सात हजार पाँच सय स्थायी शिक्षक कर्मचारीको दरबन्दी हो । तर, त्यसमध्ये अहिले करिब तीन हजार ६ सय मात्र शिक्षक छन् । शिक्षक जनशक्ति कम हुँदा त्रिविमा करार र आंशिकका शिक्षकलाई नियुक्ति गरिएको छ । अहिले त्रिविमा करिब चार सय आंशिक शिक्षक राखिएको छ । 

 विद्यार्थी प्रतिनिधित्वविहीन सभा
त्रिविको शैक्षिक तथा संगठनसम्बन्धी नियमअनुसार त्रिविसभामा विद्यार्थी प्रतिनिधिलाई पनि सहभागी अनिवार्य गराउनुपर्ने व्यवस्था छ । तर, यसपटकको सभामा विद्यार्थीलाई नै सहभागी नगराउने तयारी गरिएको छ । विद्यार्थीले विरोध गर्ने डरमा उनीहरूलाई सहभागी नगराइएको स्रोतको भनाइ छ । 

 अख्तियारको आदेश अटेरी 
त्रिविमा गैरकानुनी तरिकाले शिक्षक राख्न थालिएपछि अख्तियारले नजिकका व्यक्तिलाई करारमा नराख्न लिखित निर्देशन दिएको थियो । ३१ असार ०७३ मा विश्वविद्यालयमा निर्देशनपत्र पठाउँदै अख्तियारले नजिकका व्यक्तिलाई आंशिक र करारमा राख्ने नियम गैरकानुनी रहेको ठहर्‍याएको थियो । तर, त्रिविमा खुला प्रतिस्पर्धाको बाटोलाई साँघुरो पार्दै करारका शिक्षकलाई स्थायी गर्ने तयारी छ ।