मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ मङ्सिर १४ मंगलबार ०८:०९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राप्रपा अध्यक्षमा थापा र लिङ्देनबीच प्रतिस्पर्धा हुने 

राणा सर्वसम्मतको पक्षमा, लोहनीको समर्थन लिङ्देनलाई, विक्रम पाण्डे अझै मौन

Read Time : > 2 मिनेट
२०७८ मङ्सिर १४ मंगलबार ०८:०९:००

राष्ट्रिय प्रजातन्त्र पार्टीमा भावी नेतृत्वका लागि अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ । थापाले सोमबार अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन् । लिङ्दनले ९ मंसिरमै उम्मेदवारी घोषणा गरेका थिए । राप्रपा महाधिवेशन १५–१७ मंसिरमा काठमाडौंमा आयोजना हुँदै छ । राप्रपाका अध्यक्षद्वय पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले भने यसपटक उम्मेदवारी नदिने भएका छन् ।

राणाले सहमतिबाट नेतृत्व चयन होस् भन्ने मनसायका साथ उम्मेदवारी नदिएको उनी निकटस्थ नेताले जानकारी दिएका छन् । लोहनीले भने मंगलबार पत्रकार सम्मेलनमार्फत दोस्रो पुस्ताबाट अध्यक्षका उम्मेदवार लिङ्देनलाई समर्थन र सहयोगको घोषणा गर्दै छन् । सहमतिको प्रयासका लागि केही नेताहरू सक्रिय भए पनि थापा र लिङ्देनबीच प्रतिस्पर्धा निश्चित भएको राप्रपाका नेताहरूको भनाइ छ । विगतमा थापासँगै रहेका लिङ्देनले पुरानो पुस्ता असफल भएको भन्दै यसअघि नै अध्यक्षमा उम्मेदवारी घोषणा गरेर आन्तरिक प्रचारप्रसार तीव्र पारेका छन् ।

सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममार्फत थापाले बाँकी रहेका राजनीतिक कार्यभार पूरा गर्न अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए । थापाले नयाँ पुस्तालाई टुँडिखेलमा दौडमा सहभागी भएर आफूलाई हराउन चुनौती दिँदै उम्मेदवारी घोषणा गरेका छन् । जीवनको अन्तिमसम्म पार्टी एकतालाई एकढिक्का राख्न र अधुरा कार्यभार पूरा गर्न अध्यक्ष पदमा उम्मेदवारी पुनः दिन लागेको थापाको भनाइ थियो । 

थापालाई नेताहरू बुद्धिमान तामाङ, दीपक बोहोरा, जयन्त चन्द, फत्तेसिंह थारू, दीपबहादुर सिंहलगायतले घोषणासभामै सहभागी भएर समर्थन गरेका छन् । राप्रपा नेता वसन्तमानसिंह अधिकारीले हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाजस्ता एजेन्डाको प्रतिपादक थापा भएको र यी एजेन्डा कार्यान्वयनका लागि थापाको नेतृत्व आवश्यक रहेको टिप्पणी गरे । ‘०६२/६३ को आन्दोलनपछि उहाँले उठाएका एजेन्डाहरूको कार्यान्वयन उहाँकै नेतृत्वमा हुनुपर्छ, त्यसैका लागि उहाँ अध्यक्ष हुनुको विकल्प छैन,’ अधिकारीले भने । 

राणा दौडबाहिर, कार्यकर्ता दुवै पक्षमा
पार्टी अध्यक्ष राणाले उम्मेदवारी दिने तयारी गरिरहेका वेला अन्तिम समयमा पछि हटेका छन् । राणानिकटका नेताहरू फत्तेसिंह थारू, जयन्त चन्द, दीपबहादुर सिंहलगायतले थापालाई समर्थन गरेका छन् । राणानिकट मानिएका राजाराम श्रेष्ठ, दुर्गा श्रेष्ठ, सगुनसुन्दर लावती, जगत गौचन, किशोर कार्की, प्रेम बलायर, आङछिरिङ शेर्पा, रवीन्द्रप्रताप शाहलगायतले सोमबार बेग्लै भेलामार्फत लिङ्देनलाई समर्थन गर्ने घोषणा गरेका छन् । 

तर, राणाको निर्णय प्रक्रियामा प्रभावित पार्ने नेताहरू विक्रम पाण्डे, ठाकुरप्रसाद शर्मालगायत भने कतैतिर खुलेका छैनन् । पूर्वमन्त्री शर्माले अध्यक्ष राणा अझै पनि सहमतिको पक्षमा रहेको बताए । ‘पार्टीमा प्रतिस्पर्धाभन्दा पनि सबैबीच समन्वय होस् भनेर अध्यक्ष राणाले चुनाव नलड्ने घोषणा गर्नुभएको हो, उहाँ अझै पनि सहमतिका पक्षमा हुनुहुन्छ,’ राणानिकट नेता शर्माले नयाँ पत्रिकासँग भने, ‘थापा र लिङ्देनले उम्मेदवारी घोषणा गरे पनि अन्तिमसम्म सहमतिका लागि उहाँले प्रयास गर्नुहुनेछ ।’ 

राणानिकट अर्का नेता लावतीका अनुसार अध्यक्ष राणाले आइतबार थापा र लोहनीलाई बोलाएर पार्टी नफुटोस् भन्नका लागि आफू प्रतिस्पर्धामा नगएको भन्दै सर्वसम्मति हुने वातावरण बनाउन आग्रह गरेका छन् । लावतीले अध्यक्ष राणाले निष्पक्ष र अभिभावकीय भूमिका निर्वाह गर्ने घोषणा गरेपछि उनी निकटका नेताहरूले लिङ्देन र थापालाई समर्थन गरेको बताए । ‘चुनावी दौडबाट बाहिर बसेर अध्यक्ष राणा हामी सबैको अभिभावक बन्नुभयो, लोहनीले पनि चुनावी दौडबाट बाहिरिने निर्णय गर्नुभयो । अब अध्यक्ष थापाले पनि चुनावी दौडबाट आफूलाई अलग गर्नुपर्छ,’ लावतीले भने । 

राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने भएका छन् । उनी निकट नेता राजेन्द्र गुरुङका अनुसार लोहनीले मंगलबार बिहान लिङ्देनसँगै संयुक्त पत्रकार सम्मेलनमार्फत घोषणा गर्ने भएका हुन् । ‘डा. लोहनीले अध्यक्षमा दोस्रो पुस्ताका तर्फबाट उम्मेदवारी दिएका नेता लिङ्देनलाई समर्थन गर्दै हुनुहुन्छ, उहाँको घोषणापछि लिङ्देनको पक्षमा पल्ला भारी हुन्छ भन्ने हाम्रो विश्वास छ,’ गुरुङले भने । 

लिङ्देनका पक्षमा यसअघि नै राप्रपा नेताहरू रामकुमार सुब्बा, मोहन श्रेष्ठ, हेमजङ गुरुङलगायतले खुलेर प्रचार गरिरहेका छन् । लावती यसअघि अध्यक्ष राणानिकट थिए । राप्रपाले हिन्दू धर्मसापेक्ष हुनुपर्ने र राष्ट्रप्रमुखका रूपमा संवैधानिक राजसंस्था हुनुपर्ने धारणा राख्दै आएको छ । विचारमा राप्रपाभित्र विवाद नभए पनि नेतृत्वका लागि थापा र लिङ्देनबीचको हुन लागेको प्रतिस्पर्धाले राप्रपामा सबैभन्दा बढी चर्चा पाएको छ ।

राप्रपाको महाधिवेशनमा  पूर्वराजाको चासो 
राप्रपाको महाधिवेशन र नेतृत्व छनोटमा पूर्वराजा ज्ञानेन्द्र शाहको चासो रहँदै आएको छ । राजसंस्थाका पक्षमा सक्रिय रहेको एक मात्र पार्टी भएका कारण पूर्वराजा र निकटस्थले चासो राख्दै आएका छन् । पूर्वराजाले यसबीचमा अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी तथा दोस्रो पुस्ताका नेताद्वय राजेन्द्र लिङ्देन र धवलशमशेर राणालाई बोलाएर चासो राखेको निर्मल निवास स्रोतले बताएको छ ।

पूर्वराजासँग पछिल्लो भेट यही साता लिङ्देन र धवलले गरेका थिए । ‘पूर्वराजाले प्रत्यक्ष रूपमा कसैलाई केही भन्ने कुरा भएन, तर उहाँको बडी ल्याङ्वेजबाट बुझ्न सकिने कुरा के हो भने उहाँ नयाँ पुस्ताले राप्रपाको नेतृत्व लिओस् भन्ने पक्षमा देखिनुहुन्छ,’ दरबारनिकट मानिने एक नेताले नयाँ पत्रिकासँग भने । यद्यपि पूर्वराजा र थापाबीच पनि पछिल्लोपटक सौहार्दपूर्ण संवाद भएको थापानिकट एक नेताले जानकारी दिए । 

पूर्वराजानिकट मानिने पूर्वमन्त्री श्रीषशमशेर राणाले राप्रपा महाधिवेशनमा पूर्वराजाको कुनै पनि धारणा आफूले नपाएको बताए । ‘राजाका लागि सबै नेपालीहरूको पार्टी उस्तै हो, राप्रपा पनि उस्तै हो,’ राणाले भने, ‘मेरो चासोचाहिँ २०४७ को संविधान र व्यवस्था पुनस्र्थापना र त्यसका लागि सडक आन्दोलन हो । यसका लागि राप्रपा मात्रै होइन, सबै पक्ष सडकमा जाऊन् भन्ने चाहना हो । राप्रपाको आन्तरिक विषयमा भन्नु केही छैन ।’