मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ मङ्सिर १३ सोमबार ०९:३८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सुर्खेतमा बन्दै छ १५ सय दर्शक अट्ने रंगशाला 

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर १३ सोमबार ०९:३८:००

कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतमा एक हजार पाँच सय दर्शक अट्ने बहुउद्देश्यीय कबर्डहलसहितको रंगशाला निर्माण सुरु भएको छ । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी रंगशाला निर्माण थालिएको हो ।कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्यसचिव विश्वामित्र सन्ज्यालका अनुसार साढे एक अर्ब लागतमा रंगशाला निर्माण थालिएको छ ।

उनले राष्ट्रिय प्रतियोगितामा समावेश हुने सम्पूर्ण खेल कर्णाली प्रदेश रंगशालामा खेलाउन सकिने गरी संरचना निर्माण गर्न सम्झौता भई निर्माण प्रक्रिया अगाडि बढेको बताए । कबर्डहल अत्याधुनिक हुने र सम्पूर्ण इन्डोर गेम (ब्याडमिन्टन, टेबलटेनिस, भलिबल, सुटिङ, बक्सिङ, आइटिएफ तेक्वान्डो, जुडो) खेल्न मिल्ने गरी डिपिआर तयार भएको उनले बताए । ‘देशकै आधुनिक, सुविधासम्पन्न र ठूलो बहुउद्देश्यीय ककर्डहल हो,’ उनले भने ।

 रंगशाला निर्माण गर्न कर्णाली प्रदेश खेलकुद परिषद् र निर्माण कम्पनीबीच ३० कात्तिकमा सम्झौता भएसँगै निर्माण कार्य अगाडि बढेको उनले बताए । उक्त सम्झौताअनुसार निर्माणको सम्पूर्ण काम ३० महिनामा सकिनेछ । ‘यो रंगशाला कर्णाली प्रदेशको मात्र नभई देशकै गौरवको आयोजना हो,’ सदस्यसचिव सन्ज्यालले दाबी गरे । 

रंगशाला निर्माणमा एक अर्ब ५१ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँ खर्च हुनेछ । बहुउद्देश्यीय प्रकृतिको रंगशालामा फिफा मापदण्डअनुसारको फुटबल मैदान, अन्तर्राष्ट्रिय मापदण्डको पौडी पोखरीसहित आइएएएफ मापदण्डको आठ लेनको सेनथेटिक एथलेटिक्स ट्र्याकसमेत हुनेछ । ‘रंगशालामा १० हजार दर्शक क्षमताको प्यारापिट निर्माण गरिने योजना छ,’ इन्जिनियर कर्मा शाहीले भने ।

उनले अन्डरग्राउन्डसहितको पार्किङ भएको कम्प्लेक्स पनि रंगशाला परिसरमा निर्माण गरिने बताए । जमिन अभावका कारण अन्डरग्राउन्ड पार्किङ निर्माण गर्न लागिएको बताए । उनले बाहिरी भागमा व्यापारिक प्रयोजनका लागि करिब ६० वटा सटर निर्माण गरिने पनि जानकारी दिए । कम्प्लेक्सभित्र भिआइपी, भिभिआइपी कक्ष, शौचालय, बाथरुम, खेलकुद परिषद्को कार्यालय रहनेछ ।