१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ मङ्सिर १२ आइतबार ०७:३०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेस महाधिवेशन : ३५ जिल्लामा नेतृत्व चयन, सर्लाहीमा वडा अधिवेशनसमेत भएन 

Read Time : > 2 मिनेट
२०७८ मङ्सिर १२ आइतबार ०७:३०:००

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ३५ जिल्लामा नेतृत्व चयन भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार राति ९ बजेसम्म ३५ जिल्लामा अधिवेशन सम्पन्न भएको जानकारी दिएको छ । निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले शुक्रबारबाट सुरु भएको दोस्रो चरणको अधिवेशनअन्तर्गत अधिवेशन निरन्तर रहेको र परिणाम आउने क्रम जारी रहेको बताए । सर्लाहीबाहेक अन्य जिल्लामा अधिवेशनको प्रक्रिया अघि बढेको उनको भनाइ छ ।

सचिव श्रेष्ठका अनुसार केही जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनसमेत हुन बाँकी छ । अधिवेशन हुन बाँकी प्रतिनिधिसभा क्षेत्रमा रसुवा, धनकुटा, कैलाली–५, अछाम–२, बारा–४, रौतहट–४, नवलपुर–२, सुर्खेत–२, बर्दिया–, बाँके–३, सप्तरी–४, सिन्धुपाल्चोक–२, सिरहा–४, धनुषा–४, महोत्तरी–४, सर्लाही–४, रौतहट–४, बारा–४ र पर्सा–४ छन् । 

जगन्नाथ श्रेष्ठ सचिव, केन्द्रीय निर्वाचन समिति

पहिलो र दोस्रो चरणमा गरी ३५ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । पछिल्लो समय नुवाकोट, पाल्पा, दाङलगायतका जिल्लामा निर्वाचन सम्पन्न भएको जानकारी छ । केही जिल्लामा क्षेत्रीय अधिवेशन हुन बाँकी छ । निर्वाचन प्रक्रिया अगाडि बढिरहेको र परिणाम आउने क्रममा छन् ।

‘पहिलो र दोस्रो चरणमा गरी ३५ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । पछिल्लो समय नुवाकोट, पाल्पा, दाङलगायतका जिल्लामा निर्वाचन सम्पन्न भएको जानकारी छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘केही जिल्लामा क्षेत्रीय अधिवेशन हुन बाँकी छ । निर्वाचन प्रक्रिया अगाडि बढिरहेको र परिणाम आउने क्रममा छन् ।’ क्षेत्रीय अधिवेशनअन्तर्गत धनकुटामा आइतबार अधिवेशन हुन लागेको र बाँकी स्थानमा निर्वाचन प्रक्रिया अघि बढेको उनको भनाइ छ । केन्द्रीय निर्वाचन समितिका अनुसार आइतबार सर्लाहीमा वडा अधिवेशन सुरु हुने भएको छ । सर्लाही कांगे्रसको अधिवेशन सुरु हुन नसकेको अन्तिम जिल्ला हो । निर्वाचन समिति सचिव श्रेष्ठले सर्लाहीमा निर्वाचन अधिकृत खटाइएको र आइतबारका लागि वडा अधिवेशनको कार्यतालिका तय भएको जानकारी दिए । सर्लाहीमा तेस्रोपटक वडा अधिवेशनको मिति तय भएको हो । संस्थापन र इतरपक्षबीचको विवादले पटकपटक अधिवेशन सुरु गर्नेबारे अन्योलता देखिँदै आएको थियो । दुवै पक्षको छलफलबाट वडा अधिवेशन गर्ने सहमति जुटेको थियो । 

ललितपुरमा सभापतिका तीन उम्मेदवारले ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः मतदान
कांग्रेस ललितपुरको सभापतिका लागि आइतबार पुनः मतदान हुने भएको छ । सभापति पदका प्रत्यासीले आवश्यक मत पाउन नसकेपछि पुनः मतदान हुन लागेको कांग्रेस निर्वाचन समितिले जानकारी दिएको छ । शनिबार भएको पहिलो चरणको मतदानमा सभापतिका तीन प्रत्यासी थिए । पहिलो चरणको मतदानमा सभापतिका प्रत्यासी रामकृष्ण चित्रकारले पाँच सय चार, जितेन्द्र श्रेष्ठले चार सय ८४ र मीनकृष्ण महर्जनले तीन सय ३६ मत प्राप्त गरेका थिए । निर्वाचन समितिले पहिलो र दोस्रो मत ल्याउने चित्रकार र श्रेष्ठबीच आइतबार सभापतिका लागि मतदान हुन लागेको जानकारी दिएको छ । 

काठमाडौंमा प्रकाशमान–गगन भर्सेस देउवा–सिटौला 
काठमाडौंमा आइतबार कांग्रेस जिल्ला नेतृत्वका लागि मतदान हुँदै छ । प्रमुख निर्वाचन अधिकृत नरहरि आचार्यका अनुसार काठमाडौं कार्यसमितिमा एक सय ४४ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये तीनजना निर्विरोध चयन भएको र बाँकी एक सय ४१ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ । काठमाडौंमा सभापति पदमा उपेन्द्र कार्की र वर्तमान सभापति कृष्ण सबुज बानियाँको उम्मेदवारी परेको छ । बानियाँलाई नेता प्रकाशमान सिंह र गगन थापाको साथ छ । कार्कीलाई सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहको समर्थन छ । 

बागमती प्रदेश सभापतिमा प्रधानको दाबेदारी 
कांग्रेस नेता भीमसेनदास प्रधानले बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार उनले सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार १६ र १७ मंसिरमा प्रदेश अधिवेशन हुनेछ । बागमती प्रदेशको अधिवेशन हेटौँडामा हुने तय गरिएको छ । प्रधान पार्टीमा तेस्रो धारको नेतृत्व गरिरहेका नेता कृष्णप्रसाद सिटौलानिकट नेता हुन् । 

महाधिवेशन प्रचारप्रसार समितिले पूर्णता पायो 
कांग्रेसले प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको महाधिवेशन प्रचारप्रसार समितिलाई पूर्णता दिएको छ । गत २८ कात्तिकमा केन्द्रीय समिति बैठकको निर्णयअनुसार गठन भएको समितिलाई पूर्णता दिइएको हो । समितिमा केन्द्रीय कार्यसमिति सदस्यहरू जीवन परियार, किरण गिरी, किरण यादव र अमन्त्रित केन्द्रीय सदस्यहरू अभिषेकप्रताप शाह, जनकराज कलौनी र दिलीप राईलाई चयन गरिएको छ । समितिमा सूचना, सञ्चार तथा प्रचार विभागका पदाधिकारी सदस्यहरू, भ्रातृसंस्थाका अध्यक्षहरूलाई सदस्यका रूपमा रहने व्यवस्था गरिएको छ । 

यी हुन् अधिवेशन सम्पन्न भएका जिल्ला
मनाङ, बझाङ, ताप्लेजुङ, हुम्ला, रामेछाप, मुगु, म्याग्दी, सल्यान, पाँचथर, डोटी, डोल्पा, जुम्ला, ओखलढुंगा, लमजुङ, डडेल्धुरा, रुपन्देही, नवलपरासी पश्चिम, मुस्ताङ, रुकुम पूर्व, संखुवासभा, गोरखा, खोटाङ, पाल्पा, स्याङ्जा, रोल्पा, प्युठान, तेह्रथुम, भोजपुर, अर्घाखाँची, बैतडी, दोलखा, कालिकोट, बाजुरा, रुकुम पश्चिम, जाजरकोट ।

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुन बाँकी स्थान
रसुवा–१, धनकुटा–१, कैलाली–५, अछाम–२, बारा–४, रौतहट–४, नवलपुर–२, सुर्खेत–२, बर्दिया–, बाँके–३, सप्तरी–४, सिन्धुपाल्चोक–२, सिराहा–४, धनुषा–४, महोत्तरी–४ सर्लाही–४, बारा–४ र पर्सा–४