मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ मङ्सिर ९ बिहीबार ११:१३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मी कांग्रेस सभापतिमा पन्थी र थापाको उम्मेदवारी  घोषणा

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर ९ बिहीबार ११:१३:००

नेपाली कांगेस गुल्मीको आठौँ जिल्ला अधिवेशन १० र ११ मंसिरमा हुँदै छ । अहिलेसम्म सभापतिका दुई आकांक्षीले आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेका छन् । महाधिवेशन प्रतिनिधिद्वय खिलध्वज पन्थी र वेदबहादुर थापामगरले समापतिका लागि उम्मेदवारी घोषणा गरेका हुन् । पन्थीले पत्रकार सम्मेलन र थापाले सामाजिक सञ्जालमार्फत उम्मेदवारीको घोषणा गरेका हुन् । खिलध्वज पन्थी नेपाली कांगेस जिल्ला कार्यसमितिका सचिव हुन् । 

पन्थी भर्खरै सम्पन्न भएको क्षेत्र नं. १ को कांग्रेस क्षेत्रीय निर्वाचनमा सबैभन्दा बढी ६ सय २३ मत प्राप्त गरेर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । विजयी भएर उत्सव मनाएका र पराजित भएर मन दुखाएका सबै साथीहरूलाई एकताबद्ध बनाएर आर्थिक क्रान्ति र वास्तविक समाजवाद निर्माणमा आफूले काम गर्ने पन्थीको भनाइ छ । ‘युवाहरूको ऊर्जा र मागको आधारमा पार्टी एकता र समाजवादउन्मुख विकासका लागि उम्मेदवारीको घोषणा गरेँ,’ उनले भने, ‘सर्वसम्मतको प्रयास जारी राखेर मात्रै निर्वाचनमा जान्छौँ ।’ पन्थी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । 

वेद थापामगर पनि कांग्रेस सभापतिका दाबेदार हुन् । उनी अहिले कालीगण्डकी गाउँपालिकाका प्रमुख छन् । उनी क्षेत्र नं. १ को कांग्रेस क्षेत्रीय निर्वाचनमा पाँच सय ८७ मत प्राप्त गरेर महाधिवेशन प्रतिनिधि भए । थापामगर सातौँ जिल्ला अधिवेशनमा सभापतिका उम्मेदवार थिए । उनले पार्टीलाई संस्थागत गर्न, गुटबन्दीको अन्त्य गरेर वडा, पालिका, क्षेत्र तथा महाधिवेशन प्रतिनिधिमा पराजित मित्रहरूलाई सँगै लिएर अगाडि बढ्न सभापतिमा उम्मेदवारीको घोषणा गरेको बताए । ‘सर्वसम्मतका लागि त्याग आवश्यक पर्छ । कसले त्याग गर्ने त्यो महत्वपूर्ण कुरा हो,’ उनले भने, ‘म सर्वसम्मत र निर्वाचन दुवैका लागि सभापतिको उम्मेदवार हो ।’ उनले महाधिवेशनका सबै प्रतिनिधि विवेकशील भएकाले अभिमतको कदर गर्न आफू तयार रहेको बताए । थापामगर देउवा पक्षका उम्मेदवार हुन् । 

जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले सर्वसम्मत नेतृत्व आफूले पाउनुपर्ने तर्क गर्दै आएका छन् । तर, आधिकारिक उम्मेदवारीको घोषणा गरेका छैनन् । सभापति पदकै चर्चामा रहेका शालिकराम पन्थी महाधिवेशन प्रतिनिधिबाटै पराजित भए भने सभापतिको दाबेदार महेन्द्र भण्डारी, विष्णु सापकोटा, विष्णु बलाल, श्रीप्रसाद भलामीलगायतका नेताले औपचारिक घोषणा गरेका छैनन् । अहिलेसम्म जिल्लामा देउवा र पौडेल पक्षको चर्चा देखिएको छ । 

प्रतिनिधिको हिसाबले पौडेल पक्ष बलियो देखिए पनि सजिलोसँग नेतृत्व पौडेल पक्षलाई नदिने दाउमा देउवा पक्ष छ । क्षेत्र नं. २ मा दरिलो देखिएको पौडेल पक्षको आडमा खिलध्वज पन्थीले सभापतिको उम्मेदवारी घोषणा गरेका छन् भने  क्षेत्र नं. १ मा वेद थापामगरले आफूले प्राप्त गरेको मतसँगै क्षेत्र नं. १ र २ मा पौडेल पक्षबाट असन्तुष्ट मतहरू बटुलेर नेतृत्व लिने कसरतमा लागेको कांग्रेसका एक नेताले बताए । ‘व्यक्तिकेन्द्रित गुटले दुवै क्षेत्रमा कैयौँ कांग्रेसका राम्रा नेता बाहिर रहेकाले नेतृत्व पाउन कसैलाई सजिलो छैन,’ उनले भने, ‘दुवैजना युवा भएकाले मत बाँडिने सम्भावना बढी छ ।’