१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नेत्र पन्थी काठमाडौं
२०७८ मङ्सिर ९ बिहीबार ०६:३८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले दशौँ महाधिवेशन : दशबुँदेबाट एमालेमा रहेका कुन पदमा उठ्दै छन् ?

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर ९ बिहीबार ०६:३८:००

पार्टी विभाजनका वेला दशबुँदे सहमतिमार्फत एमालेमै रहेका नेताहरूले महाधिवेशनबाट आफूलाई सुरक्षित बनाउने विकल्पको खोजी थालेका छन् । माधव नेपालले पार्टी विभाजन गरेपछि दशबुँदेकै जगमा एमालेमा रहेका र माओवादी केन्द्रलगायत विभिन्न पार्टीबाट प्रवेश गरेका नेताहरूले सुरक्षित विकल्पमा छलफल थालेका हुन् । महाधिवेशन सर्वसम्मत हुने भन्दै तल्ला तहका कमिटीमा समेत सोहीअनुसार गर्न निर्देशन दिएका पार्टी अध्यक्ष केपी ओलीले पछिल्लो समय ‘कसैले प्रतिस्पर्धा गर्न चाहे त्यसलाई स्वीकार गर्ने’ बताइसकेका छन् । उनले प्रतिस्पर्धालाई स्वीकार गर्ने भने पनि व्यक्तिगत रूपमा धेरैले उनको चाहनाविपरीत आफ्ना आकांक्षा व्यक्त गर्न सकिरहेका छैनन् ।

ओलीलाई चिढ्याएरभन्दा फकाएर आफूलाई सुरक्षित गर्न सकिन्छ भन्ने मनस्थितिमा पुगेका प्रभावशाली नेताहरूसमेत महाधिवेशनको अघिल्लो दिनसम्म ओलीको ‘ग्रिन सिग्नल’ पर्खिरहेका छन् । केही नेता भने आफूलाई ओलीले यसै पनि पार्टीभित्र सुरक्षित राख्दैनन् भन्ने लागेपछि उम्मेदवारी घोषणा गरिरहेका छन् । जसका कारण ओलीले चाहेजस्तो सर्वसम्मत अध्यक्षमा दोहोरिने वा आफूले चाहेकालाई सुरक्षित गर्ने परिस्थितिको अन्त्य हुँदै गएको छ ।

उपाध्यक्ष भीम रावलले यसअघि नै अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । त्यसबाहेक दशबुँदेबाट पार्टीमा रहेका अन्य नेताले अहिलेसम्म औपचारिक उम्मेदवारीको घोषणा गरेका छैनन् । त्यस्तै, उपमहासचिव घनश्याम भुसालले वरिष्ठ उपाध्यक्षमा उठ्ने मनस्थिति बनाएका छन् । भुसालले सम्भवतः बिहीबारसम्म आफ्नो उम्मेदवारी सार्वजनिक गर्नेछन् । तर, त्यसबाहेक अन्य नेताले के गर्ने भन्ने निर्णय गरिसकेका छैनन् ।

औपचारिक घोषणा नगरे पनि अधिकांश नेता पुरानै पदमा भए पनि आफूलाई सुरक्षित गर्ने तयारीमा छन् । यसअघि नै पदाधिकारीमा रहेका कम्तीमा पनि सोही पदमा रहन चाहेको आपसी छलफलमा प्रकट गर्दै आएका छन् । कतिपयले त सार्वजनिक रूपमा समेत अभिव्यक्ति दिइरहेका छन् । उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले अहिलेसम्म कुनै पदमा दाबी सार्वजनिक गरेका छैनन् । तर, संवादमा रहेका नेताहरूका अनुसार दुवैजना उपाध्यक्षमा दोहोरिन चाहिरहेका छन् । 

दुवैले नयाँ पत्रिकासँगको कुराकानीमा भने आफूहरू छलफलमा नै रहेको र कुनै निष्कर्षमा पुगिनसकेको बताए । यस्तै, नवौँ महाधिवेशनमा महासचिव पदमा पराजित भएका सुरेन्द्र पाण्डेले पुनः महासचिव पदमा दाबी गर्ने मनस्थिति बनाएका छन् । तर, ओलीले अरू नै नेताहरूलाई उक्त पदमा राख्ने सम्भावनाका कारण महासचिवमा दाबी गरे पनि उपाध्यक्ष पाए चित्त बुझाउन सक्नेछन् । नयाँ पत्रिकासँग कुराकानीमा भने पाण्डेले महाधिवेशन सुरु भएपछि मात्रै आफ्नो दाबी सार्वजनिक गर्ने बताए ।

यस्तै, सचिव योगेश भट्टराईले आफू सचिव पदमा दोहोरिन चाहेको सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । दशबुँदेमार्फत एमालेमा रहे पनि सत्ता बहिर्गमनका समयमा मौन रहेका कारण ओलीको सदाशयता पाएका भट्टराई सचिवमा दोहोरिने सम्भावना छ । अर्का सचिव गोकर्ण विष्टले भने उपमहासचिव पदमा उम्मेदवारी दिने विषयमा आफूनिकटसँग छलफल चलाएका छन् । यद्यपि, उनी पनि उपमहासचिव नमिलेको खण्डमा सचिव पदमै दोहोरिन तयार हुन सक्ने देखिएको छ । त्यस्तै, स्थायी कमिटी सदस्य रघुजी पन्तले आफू उपाध्यक्षमा उठ्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । तर, औपचारिक घोषणा भने उनले पनि गरेका छैनन् ।