मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ मङ्सिर ८ बुधबार १२:५४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

न्यायालयको समस्या समाधानका लागि गठबन्धन तयार छ : प्रचण्ड 

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर ८ बुधबार १२:५४:००

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयको समस्या समाधानका लागि पाँचदलीय गठबन्धन तयार रहेको बताएका छन्। 

बुधबार सुदूरपश्चिम प्रदेशको कैलाली पुगेका अध्यक्ष दाहालले सञ्चारकर्मीहरूको कुराकानीमा अदालतमा देखिएको समस्या राम्रो नभएको भन्दै एक स्तरमाथि बढेर समस्या समाधान गर्न गठबन्धन तयार रहेको बताएका हुन्। उनले न्यायालयको समस्यामा गठबन्धनका पाँच दलहरूको नै गम्भीर ध्यानाकर्षण भएको भन्दै दुई दिनको अवस्था हेरेर समस्या समाधान गर्ने बताएका हुन्। अदालतमा ठूलै समस्या हुन्छ भन्ने कतिपयले कल्पना गरेको भए पनि कुनै ठूलो समस्या सिर्जना हुन्छ भन्नेमा गठबन्धन नरहेको उनको भनाइ थियो। 

अध्यक्ष दाहालले भने, ‘यो विषय सकेसम्म अदालतले आफैँ सल्ट्याउन सक्दा राम्रो हुन्छ भन्ने कुरासम्म हामीले बोलेका छौँ। आजभोलिको अवस्था हेरेर फेरि गठबन्धनको बैठक बसेर, जरुरी परेमा एक स्टेप अगाडि बढेर समस्या समाधानका लागि के सहयोग गर्न सकिन्छ त्यतातिर सोचाइ बन्छ। मलाई के विश्वास छ भने केही दिनमा यसले एउटा निकास पाउँछ। यसबाट ठूलै समस्या हुन्छ कि भन्ने कतिपयले कल्पना गरेका छन्, त्यस्तो हुन्छ भन्ने गठबन्धनलाई लागेको छैन। यो समाधान हुन्छ र अहिले गठबन्धन जसरी सकारात्मक ढंगले अगाडि बढेको छ त्यो निरन्तर ढंगले जान्छ भन्ने कुरा नै हो।’

अध्यक्ष दाहालले पाँचदलीय समन्वय समिति बनाउँदा कतिपयले सरकारभन्दामाथि भएको टिप्पणी गरिरहेको भन्दै समन्वय समिति पार्टीहरूबीचको सम्बन्ध सुदृढ बनाउनका लागि मात्र भएको बताए। उनले गठबन्धनलाई अब आउने चुनावसम्म लैजाने बताउँदै अब राष्ट्रिय सभामा खाली १९ सिटको चुनाव मिलेर लड्ने पनि दोहोर्‍याए । प्रतिनिधिसभा र प्रदेश सभाको उपचुनाव भयो भने पनि मिलेर प्रतिस्पर्धा गर्ने उनको भनाइ छ। 

देशमा तत्काल राजनीतिक अस्थिरता नहुने बताउँदै अध्यक्ष दाहालले विकास, शिक्षा, स्वास्थ्य, राजनीतिक नियुक्तिदेखि राजदूत नियुक्ति गर्नेसम्मका निर्णयहरू सुदूरपश्चिमका मुख्यमन्त्री र पार्टी इन्चार्जहरूसँग छलफल गरेर मात्र अघि बढाउने बताए। उनले  सुदूरपश्चिम सरकार नढल्ने बताए। 

अध्यक्ष दाहालले राष्ट्रिय सहमतिमा एमसिसी पास गरिने पनि बताए। उनले संघीय, प्रादेशिक र स्थानीय निर्वाचन एकैपटक गर्दा राष्ट्रको अर्बौं सम्पत्ति बच्ने भएकोले एकैपटक निर्वाचन गराउनेबारेमा छलफल भइरहेको पनि दोहोर्‍याए।