१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
प्रेमराज सिलवाल
२०७८ मङ्सिर ८ बुधबार ०८:५१:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

एमाले महाधिवेशनमा ओलीका सात चुनौती

Read Time : > 3 मिनेट
प्रेमराज सिलवाल
२०७८ मङ्सिर ८ बुधबार ०८:५१:००

एमाले महाधिवेशन प्रतिनिधिहरूको चयनपश्चात् पार्टीमा अध्यक्ष केपी ओलीको शक्ति थप बलियो भएको छ 


संघीयसहित सम्पूर्ण प्रदेश सरकारबाट समेत बाहिरिएको एमाले अझै पनि मुलुुकको सबैभन्दा ठूलो दल रही आएको छ । त्यति मात्र होइन, एमालेले नेपालको संगठित तथा सुदृढ राजनीतिक पार्टीको हैसियतसमेत बोकेको छ । विगतमा संगठनको व्यवस्थापन तथा कमिटी प्रणालीमा समेत एमाले उत्कृष्ट पार्टी थियो । यस दृष्टिकोणले यही १० देखि १२ मंसिरसम्म चितवनमा हुनगइरहेको एमालेको राष्ट्रिय महाधिवेशनको चौतर्फी महत्‍व तथा सार्वजनिक चासो रहेको देखिन्छ ।

भर्खरै २७ कार्तिकमा सम्पन्न भएको एमालेको महाधिवेशनका लागि विभिन्न भूगोलबाट प्रतिनिधित्व गर्नेहरूको चयनबाट एमालेको महाधिवेशनबाट आउने भावी नेतृत्वको स्वरूप आकलन गर्न थालिएको छ । प्रतिनिधिहरूको चयनपश्चात् पार्टीमा अध्यक्ष केपी ओलीको शक्ति थप बलियो भएको छ । यद्यपि, स्वयं अध्यक्ष ओलीका अगाडि नेतृत्व चयनलाई लिएर अनेकौँ चुनौतीसमेत खडा भएका छन् । यहाँ केही सम्भावित सात चुनौतीको चर्चा गरिएको छ । 

नेताहरूको सम्मानजनक व्यवस्थापन : हाल पदीय जिम्मेवारीमा रहेर क्रियाशील भइरहेका नेताहरूको पदीय व्यवस्थापनको पक्ष महाधिवेशनका लागि अति महत्‍वपूर्ण विषय हो । अर्थात् पदीय जिम्मेवारीमा माथिल्लो पदमा लामो समयदेखि सक्रिय नेताहरूलाई त्यसै डम्पिङ गर्न मिल्दैन । अर्कातर्फ नयाँ र बढी ऊर्जा भएका युवाहरूलाई समेट्नुपर्ने पनि हुन्छ । उमेर, सक्रियता, कार्यक्षमता र आवश्यकताअनुसार नेताहरूको व्यवस्थापन गर्नैपर्छ । यसैले यो पक्ष एमाले अध्यक्ष ओलीका लागि सर्वाधिक पेचिलो र जटिल खालको चुनौती हो । 

सामाजिक स्वीकार्यता र वैधता : मुलुकको संविधान, कानुन तथा पार्टीको विधानबमोजिम हुने राष्ट्रिय महाधिवेशन नेतृत्वलाई वैधता दिने महत्‍वपूर्ण सर्वाेच्च अंग हो । महाधिवेशनबाट चयन हुने नेतृत्व वैध र सामाजिक रूपमा स्वीकार्यसमेत हुनुपर्छ । कुनै नेता विशेष वा समूहप्रति नरम भएका आधारमा मात्रै कनिष्ठ वा समग्र स्वीकार्यता न्यून भएका व्यक्तिको छनोट हुन पुग्यो भने त्यसले संगठनमा मात्र होइन, सामाजिक स्वीकार्यतासमेत नपाउने अवस्था बन्छ । यसैले, पार्टीको सिंगो संगठन र मुलुकको राजनीतिक–सामाजिक प्रणालीद्वारा बढी स्वीकार्य हुने नेताहरूमध्येबाट पदाधिकारीदेखि केन्द्रीय निकाय तथा सदस्यसम्म चयन गर्न सक्नुपर्छ । अर्थात् सबै पक्षबाट मेरिटबेस (कार्यदक्षता र उत्कृष्टता) तथा आवश्यकताका आधारमा केन्द्रीय नेताहरूको चयन हुन सक्नुपर्छ । यद्यपि, यो कार्य आफैँमा चुनौतीपूर्ण छ । 

राजनीतिक तथा समग्र सन्तुलन : नेकपाको विघटनका समयमा माओवादीबाट आएको एउटा ठूलै समूह एमालेमा समाहित भएको छ । अझ भन्नुपर्दा आफ्नो पद र प्रतिष्ठाको पनि ख्याल नगरी संकटमा एमाले अध्यक्ष ओलीलाई साथ र सहयोग दिएका नेताहरूलाई समेत महाधिवेशनबाट नेतृत्वमा स्थापित गराउनैपर्ने बाध्यता छ । एमालेले नेतृत्वका लागि भोटिङबाट नेतृत्वको छनोट गर्ने तयारी गरिरहँदा उनीहरू पराजित बन्न पुगे भने त्यो एमालेको राजनीतिक शक्ति सन्तुलन र समग्रमा पार्टी संगठनलाई सहयोग पुग्न सक्दैन । यद्यपि, सर्वसम्मतिको समेत प्रयाय भइरहेकाले भोटिङचाहिँ नहुने सम्भावना पनि रहेको छ । एमालेमा हाल परिभाषित गुट नभए पनि एक ‘प्रकारको राजनीतिक रङ’ रहेको अवस्था छ । यस्तो अवस्थामा कमजोर पक्षमा रहेका मान्छेहरूलाई पनि नेतृत्वमा ल्याउनैपर्ने हुन्छ । अझ जसले विगतमा अध्यक्ष ओलीलाई असहयोग गरे र धारेहात लगाए, आज उनीहरूलाई पनि अध्यक्ष ओलीले हात समाती नेतृत्वमा स्थापित गर्नुपर्ने चुनौतीपूर्ण अवस्था छ । विगतको नकारात्मक भूमिकाका कारण तिनलाई सखाप पार्न सक्ने शक्ति ओलीसँग भए पनि त्यो गर्दा सकारात्मक सन्देश जाँदैन । अर्थात् यो पनि अध्यक्षका लागि अर्काे चुनौती नै हो ।

जटिल मोडमा महाधिवेशन हुन लागेकाले पार्टीमा आन्तरिक प्रतिस्पर्धामा रहेका सबैका लागि ‘विन–विन’को अवस्था बन्न सक्नुपर्छ । कसैले ‘हामीले हार्नुप¥यो या हामीलाई हराइयो’ भन्ने अभिव्यक्ति दिँदै महाधिवेशनको बन्द हलबाट अँध्यारो अनुहार लगाएर बाहिरिने स्थिति आउन दिनुहुँदैन ।

युवा आकर्षण र चाहनाको सम्बोधन : राजनीतिमा युवाको आकर्षण बढिरहेको छ । यो कुरा मुलुक, गणतान्त्रिक प्रणाली र जनताका लागि आवश्यक पक्ष पनि हो । एमालेका सन्दर्भमा पार्टी कमिटी, युवा संघ, विद्यार्थी संगठनदेखि अन्य संगठनमार्फत युवा आकर्षण बढेका कारण नेतृत्वका लागि पनि स्वाभाविक दाबी हुन्छ । पार्टीमा अनुभव भएका र खारिएका नेतासहित नेतृत्वमा नयाँ युवाहरूलाई गोलबन्द गर्नु अनिवार्य कुरा पनि हो । तर, यति हुँदाहुँदै पनि युवाको अपेक्षा र चाहनाअनुसार एमालेले तोकेको २२५ सदस्यीय केन्द्रीय सदस्यभित्र उनीहरूलाई समेट्नु अर्काे चुनौती हो । युरोपका सबैजसो राजनीतिक नेतृत्वलाई हेर्ने हो भने ४० वर्ष भन्दा कम उमेरकै नेताहरूको बोलवाला रहेको देख्न र सुन्न पाइन्छ । दक्षिण एसियाको चर्चा गर्ने हो भने भारत, नेपाल, श्रीलंका, बंगलादेश आदिमा ७० काटिसक्दा पनि पार्टीको नेता भइरहेको पाइन्छ । हालको एमालेको नयाँ विधानले भने ७० वर्ष नकटेको अवस्थामा मात्र नेतृत्वका लागि उम्मेदावारी दिन सकिने किटानी गरेको छ । नेतृत्वमा आउन युवाहरूको ठूलो पंक्ति आतुर रहेको स्थितिमा उनीहरूलाई स्थान दिनु अध्यक्ष ओलीका लागि ठूलो चुनौती भएको छ ।

परिवर्तन र उदाहरणीय नेतृत्व : परम्परागत र वामपन्थी चरित्रको संगठनमा लामो समय जेल–नेल र संघर्षको इतिहास भएको राजनीतिक नेता नै पार्टीमा नेता हुने कुरालाई स्वाभाविक मानिँदै आएको छ । तर, राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति, बदलि“दो समय तथा आवश्यकता आदिका कारण विभिन्न विषयमा विज्ञता भएका मानिस वा व्यक्तिलाई पनि संगठनको नेतृत्वमा ल्याउनैपर्ने बाध्यता छ । त्यस्ता व्यक्तिलाई भर्खरै पार्टीको सदस्यता दिलाएर भए पनि संगठनमा निश्चित विभाग वा क्षेत्र हाँक्न दिनु बढी बुद्धिमानी हुने अवस्थाका कारण त्यो कुरा पनि अध्यक्ष ओलीलाई अर्काे नवीन चुनौती हो । जस्तो राष्ट्रिय–अन्तर्राष्ट्रिय कानुन, कूटनीति, अर्थशास्त्र, विज्ञान, व्यावसायिक क्षेत्र आदिबाट विज्ञ मानिस ल्याउनैपर्र्ने परिस्थिति प्रतिस्पर्धात्मक राजनीतिका कारण बढेकाले चुनौती थपिएको हो ।

देशव्यापी उत्साह र मुलुकको आवश्यकता : पार्टीको नयाँ नेतृत्व चयनले मुलुकभरको संगठन र बाह्य क्षेत्रमा पनि एक प्रकारको उत्साह, ऊर्जा र जागरण ल्याउन सक्नुपर्छ भन्ने आममान्यता रहेको हुन्छ । अर्काेतर्फ, मुलुकको वर्तमान तथा भविष्यको राजनीतिक, सांगठानिक र समग्र आवश्यकताको सम्बोधन आदिका पक्षबाट पनि नेतृत्वको चयन हुन सक्नु आवश्यक हुन्छ । जस्तो छिट्टै हुन सक्ने विभिन्न निर्वाचन र सत्तारूढ गठबन्धनलाई काउन्टर दिन, विकास, भौगोलिक, जातीय र अन्य सन्तुलन एवं परिस्थितिजन्य आवश्यकता आदिलाई समेत नेतृत्व चयनको सन्दर्भमा ख्याल गरेर नेतृत्वमा समेट्न सक्नुपर्छ । यसैले यो पक्ष पनि एउटा चुनौती हो । 

सबैको जित, स्वीकार्यता र अपनत्व : एमालेको दशौँ महाधिवेशन एउटा जटिल मोडमा आएर हुन लागेकाले पार्टीमा आन्तरिक प्रतिस्पर्धामा रहेका सबैका लागि ‘विन–विन’को अवस्था बन्न सक्नुपर्छ । केही नेताले ‘हामीले हार्नुप¥यो या हराइयो’ भन्ने अभिव्यक्ति दिँदै महाधिवेशनको बन्द हलबाट अँध्यारो अनुहार लगाएर बाहिरिने स्थिति बन्न पनि दिनुहुन्न । त्यस्तो स्थितिले व्यापक सामाजिक स्वीकार्यता तथा अपनत्व वृद्धि गर्न पनि सक्दैन । यो पनि अध्यक्ष ओलीका लागि चुनौतीपूर्ण विषय र पक्ष हो । 

सारमा : नेपालको राष्ट्रिय राजनीतिमा जबर्जस्त प्रभाव र भूमिका भएको एमाले पार्टीको दशौँ महाधिवेशन अनेकौँ दृष्टिकोण तथा पक्षबाट महत्‍वपूर्ण हुने देखिन्छ । संघीयदेखि प्रदेश सरकारबाट बाहिर रहेको र पार्टीमा एकहदसम्म प्रभावशाली भनिएका माधवकुमार नेपालसहितका नेता बाहिर गएको तथा भविष्यमा हुने निर्वाचनसमेतलाई ख्याल गर्दा चितवन महाधिवेशन अध्यक्ष ओलीका लागि अनेकौँ दृष्टिमा चुनौतीपूर्ण हुने देखिन्छ । राजनीति र समाज विज्ञानका हरेक क्षेत्रमा ओलीको ज्ञान तथा विश्लेषणात्मक क्षमता अग्रणी रहेको छ । दुईपटक मिर्गाैला फेरेर पनि वयस्क तथा स्वस्थ मानिसभन्दा बढी सक्रियताका साथ राष्ट्रिय राजनीतिको नेतृत्व गरिरहेका ओलीले महाधिवेशनमा उल्लिखित अनेकौँ चुनौतीलाई कसरी सामना गर्दै सन्तुलित पार्टी निर्माण गर्ने हुन्, त्यसैमा एमालेको भावी मार्गचित्र कोरिनेछ । (सिलवाल अधिवक्ता हुन्)
०००००