मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ मङ्सिर ७ मंगलबार ११:४७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्युत् मिटर नपाउँदा २५ सय परिवारको बिजुली बाल्ने सपना अधुरै

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर ७ मंगलबार ११:४७:००

बाँकेको नरैनापुर गाउँपालिका– ४ जयरामपुरका श्यामताप्रसाद बाहुनको आँगनमा विद्युतको पोल छ। त्यही पोल भएर झन्डै एक वर्षदेखि विद्युत् प्रसारण भइरहेको छ। तर, उनी स्वयंले अहिलेसम्म विद्युत् प्रयोग गर्न पाएका छैनन्। लामो समयको पर्खाइपछि उनको घर आँगनमा विद्युत् आउँदा उनी दंग थिए। विद्युत् लाइन आउनेबित्तिकै प्रक्रिया अगाडि बढाए पनि अझै विद्युत् पाएका छैनन्। 

उनी आफ्नै कारण विद्युतबाट वञ्चित भएका होइनन्। विद्युतका लागि उनले ६ महिनाअघि नेपाल विद्युत् प्राधिकरण मटेहियामा निवेदन दिएका थिए। ‘बत्ती बाल्न पाइने भयो भनेर खुसी थियौँ, तर विद्युत् प्राधिकरणले मिटर दिन नसक्दा आशा निराशामा बदलिएको छ,’ उनले भने। उनले विद्युत् मिटरको रकमसमेत विद्युत् प्राधिकरणलाई बुझाइसकेको बताए । ‘निवेदनसँगै विद्युत् मिटरबापतको शुल्क बुझाएँ, तर अहिलेसम्म मिटर पाइएको छैन,’ उनले भने। उनी विद्युत् मिटरका लागि अहिलेसम्म ६ पटक मटेहियास्थित प्राधिकरणको कार्यालयमा गइसकेका छन्। ‘फोन सम्पर्क र साथीभाइलाई बुझ्न पठाएको कुरै नगरौँ,’ उनले भने।

उनीजस्तै मिटर बक्स नपाउँदा नरैनापुरका झन्डै पाँच हजार घरधुरी विद्युतबाट वञ्चित भएका छन्। करिब दुई बोरिङ र मोटरका लागि दिइएको निवेदन पनि अलपत्र छ। नयाँ मिटर नपाएपछि नरैनापुर– ५ जमुनाहका सज्जाक खाँले कामचलाउका लागि पुरानो मिटर जोडेका छन्। नयाँ मिटर माग गरेको तीन महिना बित्दासमेत प्राधिकरणले नदिएपछि उनले पुरानो मिटर जडान गरेको बताए। ‘नयाँ मिटरका लागि धेरैपटक प्राधिकरणको कार्यालय धाएँ, नयाँ मिटर पाउने कुनै छाँट नदेखेपछि पुरानो मिटर जोडेर काम चलाइरहेको छु,’ उनले भने।

नरैनापुर– १ का अयाज खाँले पनि तीन महिनादेखि विद्युत् मिटर पाएका छैनन्। आँगनमै विद्युत् पोल भए पनि प्राधिकरणले विद्युत् मिटर नदिँदा बिजुली बाल्ने सपना अधुरै रहेको उनले बताए। ‘नयाँ मिटरका लागि प्राधिकरणलाई हात जोडेर हैरान भइसकेँ, तर पाउने कुनै टुंगो छैन,’ उनले भने। तर, नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले विद्युत् मिटर वितरण भइरहेको दाबी गरेको छ। नयाँ मिटर टेन्डर प्रक्रियाबाट आउन ढिलाइ भएकोले केही अपुग भए पनि खासै समस्या नभएको वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले बताए।

उनले निवेदन आएकामध्ये नरैनापुरका पाँच सय र धामपुर क्षेत्रका दुई हजार परिवारले विद्युत् मिटरका लागि आवेदन दिएको बताए। एक सय नयाँ र एक सय पुरानो मिटर वितरण केन्द्रमा मौज्दात रहेको उनले बताए। पुरानो मिटर लिन नमानेका कारण समस्या देखिएको बताउँदै उनले वितरणका लागि नयाँ मिटर परीक्षण भइरहेको जानकारी दिए। उनले भने, ‘मिटरको माग दिनदिनै बढ्दै छ। मिटर नआउँदा ग्राहकको गाली खाएर हैरान भइसक्यो।’ 

नेपालगन्ज क्षेत्रमा नयाँ मिटर वितरण बन्द गरेर राप्तीपारि क्षेत्रलाई प्राथमिकता दिएको उनले बताए। नयाँ ठाउँ भएकोले राप्तीपारिलाई पहिलो प्राथमिकता दिएर विद्युत् मिटर वितरण गरिरहेको उनको भनाइ छ। पहिले निवेदन दिएकालाई पहिलो प्राथमिकतामा राखेका छौँ। ‘केन्द्रमा नै सकिएकोले केही ढिला हुने भएको छ,’ वितरण प्रमुख प्याकुरेलले भने।

एक वर्षको अवधिमा झन्डै पाँच हजार परिवारलाई मिटर प्रदान गरी विद्युत् सेवा दिएको उनले जानकारी दिए। टेन्डर प्रक्रिया पूरा भएर खरिद प्रक्रिया अगाडि बढेको र केन्द्रबाट आउनेबित्तिकै वितरण गरिने उनले बताए।