१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ मङ्सिर ७ मंगलबार ०८:५८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

समृद्ध भरतपुर बनाउन  संघीय र प्रदेश मन्त्रीहरूको प्रतिबद्धता

Read Time : > 2 मिनेट
२०७८ मङ्सिर ७ मंगलबार ०८:५८:००

भरतपुर महानगरपालिकाले सुरु गरेका १३ वटा गौरवका आयोजनालाई स्रोत र साधन अभाव हुन नदिने

समृद्ध भरतपुरका लागि संघीय र प्रदेश सरकारका मन्त्रीहरूले चासो देखाएका छन् । भरतपुर महानगरपालिकाले सोमबार आयोजना गरेको ‘समृद्ध भरतपुरका लागि भएको विकास बहस’मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित संघ र प्रदेश मन्त्री, सचिव, विभागका महानिर्देशकहरूले समृद्ध भरतपुर बनाउन प्रतिबद्धता जनाएका हुन् । 

अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, राज्यमन्त्री उमेश श्रेष्ठ, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनाल, आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकटेलले भरतपुरको सामाजिक, भौतिक र आर्थिक विकासका लागि प्रतिबद्ध रहेको जनाए । अर्थमन्त्री जनार्दन शर्माले महानगरको विकास योजनामा स्रोत अभाव हुन नदिने बताए । जनताको अपेक्षा पूरा गर्न अर्थ मन्त्रालयल सधैँ सकारात्मक रहेको उनको भनाइ थियो । उनले परिवर्तनहरूको नेतृत्व लिने प्रचण्डकै लाइन र दृष्टिकोणमा नेपालको राजनीति चलेको बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नारायणी नदी तटबन्ध गर्न तीन वर्षलाई पाँच अर्बको बजेट सुनिश्चित भइसकेको बताइन् । उनका अनुसार चितवनतर्फ १७ किमि र नवलपुरतर्फ १८ किमि तटबन्ध हुनेछ । सम्पूर्ण गुरुयोजना पूरा गर्न २३ अर्ब बजेट लाग्नेसमेत उनले बताइन् । माडीका खोलाहरूको तटबन्ध गर्न २० करोड बजेट स्वीकृति भएकाले छिट्टै काम सुरु हुने भुसालको भनाइ थियो । महिलाले नेतृत्व गरेको भरतपुर महानगरपालिका सबै विषयले सफल भएकोसमेत उनले बताइन् । पर्यटनमन्त्री प्रेमबहादुर आलेले भरतपुर विमानस्थलको क्षेत्रफल विस्तार गरेर स्तरोन्नतिको कामलाई छिट्टै पूर्णता दिइने दाबी गरे । उनले भरतपुर विमानस्थलको क्षेत्र विस्तार गर्न सेना ब्यारेक र घोडा प्रजनन् केन्द्र स्थानान्तरण गर्न पहल भएको र विस्तारको काम छिट्टै हुने बताए । 

अहिले सबैको ध्यान चितवनतिर छ : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरको विकास निर्माण र समृद्धिको यात्रामा सबैको साथ आवश्यक रहेको बताए । उनले तत्काल नारायणी नदी, राप्ती नदी, रिउ र खहरे खोलाहरूको तटबन्धको बाँकी काम अघि बढाइने, निर्वाचनका घोषणा गरेको रिङरोड र लिंकरोडको काम भइरहेको, भरतपुर विमानस्थलको विस्तारका लागि छलफल भएको, नारायणी नदीमा सिग्नेचर ब्रिज प्राथमिकतामा भएको बताए । प्रचण्डले भरतपुरमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा आशा गरेअनुसार प्रगति भएकोसमेत बताए । निकुञ्ज ऐन परिवर्तन गरेर माडीको थप विकासमा लाग्नेसमेत उनको प्रतिबद्धता थियो । 

प्रचण्डले भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोवासको समस्या छिट्टै हल हुने गरी कडा कदम चालिनेसमेत बताए । सबैले चितवन रोज्नुको पछाडि केही कुरा त अवश्य लुकेको छ चितवनभित्र । हामीले चितवनमा राम्रो गरेका छौँ भन्ने पनि हो । यसले हाम्रो जिम्मेवारी बढाएको छ । नगरको विकास निर्माणमा यहाँको नेतृत्व सम्पूर्ण रूपमा समर्पित भएकाले यो नतिजा आएको हो,’ उनले भने । प्रचण्डले राष्ट्र र जनताप्रतिको निष्ठालाई केन्द्रबिन्दुमा राखेर अबको एक दशकभित्रै यस्तै खाले परिवर्तन भरतपुर, चितवन हुँदै देशभरि नै छाउने दाबी गरे । ‘चितवनले राष्ट्रको विकास, समृद्धि र समाजवादको नेतृत्वको भूमिका खेल्ने आधार छ,’ उनले भने, ‘अब राजनीतिक स्थायित्वलाई पनि ध्यान दिनुपर्छ ।’ सोमबार नै प्रचण्डले भरतपुरमा खगेरी घोल लिफ्ट सिँचाइ आयोजनाको शिलान्याससमेत गरे । 

१३ आयोजनामा सहयोगको अपेक्षा

भरतपुर महानगरकी मेयर रेणु दाहालले १३ वटा गौरवका आयोजना सफल गर्न केन्द्र सरकारसँग माग गरिन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, नारायणी तटबन्ध, भरतपुर विमानस्थल विस्तार, महानगरको प्रशासनिक भवन, नारायणी नदीमा सिग्नेचर ब्रिज, स्मार्ट परियोजना, एकीकृत खानी तथा सतह ढल व्यवस्थापन, अटोल्यान्ड, शक्तिखोर औद्योगिक क्षेत्र निर्माण, माडी जाने निकुञ्जभित्रको सडक निर्माण, एक मेघा विद्यालय, चेपाङ र विपन्न समुदायलाई कविलासमा आवासीय विद्यालय सञ्चालनका लागि उनले संघ तथा प्रदेश सरकारसँग बजेटको माग गरेकी हुन् ।

जनप्रतिनिधि आएपछिको चार वर्षमा ६ सय १० किमि कालोपत्रे, चार सय ५० किमि सडक ग्राभेल बनेको बताउँदै उनले महानगर चक्रपथको ८८.६ किमिमध्ये ४०.५५ किमि निर्माणाधीन र बाँकी पनि छिट्टै बन्ने जानकारी दिइन् । मेयर दाहालले सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडेलमा ३ नम्बर वडामा भरतपुर मेट्रो प्लाजा सम्झौता भएर काम सुरु भएको, भरतपुर (१० मा सिटी हल निर्माणाधीन रहेको बताइन् । ‘आवश्यक पूर्वाधारका लागि सम्बन्धित मन्त्रीहरूले प्रतिबद्धता जनाउनुभयो, समृद्ध भरतपुर बनाउँछौँ’, मेयर दाहालले भनिन् ।