मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
जनार्दन बराल काठमाडाैं
२०७८ मङ्सिर ७ मंगलबार ०७:२१:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

बाइडेनले अमेरिकी केन्द्रीय बैंकको अध्यक्षमा रिपब्लिकन पावेललाई नै दोहोर्‍याए

Read Time : > 2 मिनेट
जनार्दन बराल, काठमाडाैं
२०७८ मङ्सिर ७ मंगलबार ०७:२१:००

अमेरिकी राष्ट्रपति जो बाइडेनले त्यहाँको केन्द्रीय बैंक फेडरल रिजर्भको अध्यक्षमा दोस्रो कार्यकालका लागि पनि जेरोम पावेललाई नै निरन्तरता दिने भएका छन् । यसअघि रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका पावेललाई अमेरिकी अर्थतन्त्रको सबैभन्दा महत्वपूर्ण पदमा पुनः नियुक्त गर्ने बाइडेनको निर्णयलाई महत्वका साथ हेरिएको छ । फेडरल रिजर्भको अध्यक्ष को हुने भन्ने विषय अमेरिकी मात्रै नभई विश्व अर्थतन्त्रका लागि पनि महत्वपूर्ण मानिन्छ । 

पावेलको पहिलो चारवर्षे कार्यकाल आगामी फेब्रुअरीमा सकिँदै छ । ‘महामारीले सिर्जना गरेको आर्थिक उथलपुथल तथा आधुनिक इतिहासको हालसम्मकै सबैभन्दा ठूलो आर्थिक मन्दीबीच पनि पावेलले अर्थतन्त्रलाई दृढ नेतृत्व गरेकाले पुनः नियुक्ति गरिएको हो,’ अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सिनेटले अनुमोदन गरेपछि पावेलले दोस्रो कार्यकालका लागि काम गर्न पाउनेछन् ।

अहिले अमेरिकी अर्थतन्त्रले बढ्दो उपभोक्ता मूल्यवृद्धि तथा आपूर्ति शृंखलामा अवरोधका कारण अभावको सामना गरिरहेको छ । महामारीको ग्रस्त अर्थतन्त्रलाई बाइडेन प्रशासनले पुरानै लयमा फर्काएको र त्यसमा पावेलको महत्वपूर्ण योगदान भएको राष्ट्रपति बाइडेनले बताए । ‘बाइडेनले राष्ट्रपतिको पद सम्हालेपछि ५६ लाख नयाँ रोजगारी सिर्जना भएको, बेरोजगारी ४ दशमलव ६ प्रतिशतमा झरेको छ, जुन यसअघिको प्रक्षेपितभन्दा धेरै हो,’ ह्वाइटहाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अर्थतन्त्रको वृद्धिको गति अन्य विकसित मुलुकको भन्दा धेरै छ ।’ यो राष्ट्रपति बाइडेनको आर्थिक एजेन्डाको सफलताको प्रमाण मात्रै नभई महामारीको प्रभावलाई कम गर्ने तथा अमेरिकी अर्थतन्त्रलाई ट्र्याकमा फर्काउने काममा अध्यक्ष पावेलको निर्णायक कदमको सफलताको सूचक पनि भएको ह्वाइटहाउसले उल्लेख गरेको छ । 

साथै, राष्ट्रपति बाइडेनले डा. लेयल ब्रेनार्डलाई फेडरल रिजर्भको उपाध्यक्षमा नियुक्त गरेका छन् । अहिले फेडरल रिजर्भको बोर्ड अफ गभर्नरको सदस्यका रूपमा काम गरिरहेकी ब्रेनार्डलाई समेत आगामी अध्यक्षका रूपमा हेरिएको थियो । तर, बाइडेनले पावेललाई अध्यक्षमा निरन्तरता दिँदै ब्रेनार्डलाई उपाध्यक्षमा ल्याएका हुन् । फेडरल रिजर्भको उपाध्यक्षमा मनोनीत लेयल ब्रेनार्डले पावेलका साथमा रहेर अमेरिकी अर्थतन्त्रको पुनरुत्थानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

‘मुद्रास्फीतिलाई न्यून बिन्दुमा राख्दै मूल्य स्थिरता कायम राख्ने तथा बलियो श्रमबजार सिर्जना गर्ने दोहोरो लक्ष्य हासिल गर्न फेडरल रिजर्भमा स्थिर, स्वतन्त्र तथा प्रभावकारी नेतृत्व चाहिन्छ,’ राष्ट्रपति बाइडेनले भनेका छन्, ‘पावेल र ब्रेनार्डको अनुभव, निर्णय क्षमता तथा निष्ठाका कारण त्यो हासिल हुने पूर्ण विश्वास लिएको छु ।’ 

 डेमोक्रेटकै विरोधका बाबजुद निरन्तरता
पावेललाई फेडरल रिजर्भको अध्यक्षमा नियुक्त गर्न नहुने पक्षमा अमेरिकामा ठूलो मत थियो । खासगरी सत्तारुढ डेमोक्रेटिक पार्टीका प्रगतिवादी धारका नेता तथा अर्थशास्त्रीहरू उनको पुनः नियुक्तिको विपक्षमा थिए । पावेलको नेतृत्वमा फेडमा रहेको रिपब्लिकन बहुमतले अमेरिकी अर्थतन्त्रलाई पुनः वित्तीय भिरतर्फ धकेल्ने म्यासाचुसेट्सकी सिनेटर एलिजावेथ वारेनले हालै एक सिनेटको सुनुवाइमा भनेकी थिइन् । ‘फेडको नेतृत्वका लागि पावेल अत्यन्तै खतरनाक व्यक्ति हुन्, उनले वालस्ट्रिटलाई नियमनबाहिर लैजानुपर्छ भनेर नियमित भोट गरेका छन्,’ वारेनलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । 

त्यस्तै, नोबेल पुरस्कार विजेता वरिष्ठ डेमोक्रेटिक अर्थशास्त्री जोसेफ स्टिग्लिजले समेत कुनै पनि हालतमा पावेलले पुनः फेडको नेतृत्व गर्न नहुने बताएका थिए । ‘महामारीबाट अर्थतन्त्र उकास्न पावेलले जे गरे, त्यसका लागि जनताले उनलाई धन्यवाद दिएका छन्, तर त्यो न्यूनतम योग्यता मात्रै हो, पावेलका ठाउँमा सामान्य व्यक्ति भएको भए पनि त्यो उपलब्धि हासिल हुन्थ्यो,’ स्टिग्लिजले रोयटर्ससँगको एक अन्तर्वार्तामा बताएका छन् ।

बाइडेन प्रशासन आफ्नो एजेन्डालाई परिपूर्ति गर्नेतर्फ लाग्ने हो भने पावेललाई नियुक्त गर्न नहुने उनको राय थियो । पावेलका ठाउँमा लेयल बे्रनार्डलाई अध्यक्ष बनाउनु उचित हुने स्टिग्लिजको धारणा थियो । वासिंगटनमा जन्मेका जेरोम पावेल यसअघि सन् २०१८ को फेब्रुअरीमा फेडरल रिजर्भको अध्यक्ष नियुक्त भएका थिए । अध्यक्षका रूपमा उनको पहिलो कार्यकाल आगामी जनवरीको अन्त्यमा सकिने भए पनि बोर्ड अफ गभर्नर्सको कार्यकाल भने सन् २०२८ सम्म रहनेछ ।

उनले यसअघि जर्ज डब्लू बुस राष्ट्रपति हुँदा सहायक अर्थमन्त्री तथा उपअर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सन् २०११ मा उनलाई तत्कालीन राष्ट्रपति बाराक ओबामाले फेडरल रिजर्भको बोर्ड अफ गभर्नर्सको सदस्यमा मनोनीत गरेका थिए । उपाध्यक्षमा नियुक्त लेयल बे्रनार्ड सन् २०१४ मा फेडरल रिजर्भको बोर्ड अफ गभर्नर्सको सदस्यमा मनोनीत भएकी थिइन् । त्यसअघि उनले अमेरिकाको उपअर्थमन्त्रीका रूपमा सन् २०१० देखि २०१३ सम्म काम गरेकी थिइन् । उनी हार्वर्ड विश्वविद्यालयकी अर्थशास्त्रकी विद्यावारिधि हुन् ।