१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
कांग्रेसको पाँचथर जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य तथा महाधिवेशन प्रतिनिधि छनोटका लागि सोमबार भएको मतदानमा भाग लिन लामबद्ध मतदाता । तस्बिर : रवीन्द्र काफ्ले/रासस
दिपेश शाही काठमाडाैं
२०७८ मङ्सिर ७ मंगलबार ०६:१०:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कांग्रेसको १४औँ महाधिवेशन : प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सुरु, प्रारम्भिक नतिजा मिश्रित

Read Time : > 2 मिनेट
दिपेश शाही, काठमाडाैं
२०७८ मङ्सिर ७ मंगलबार ०६:१०:००

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबारबाट बाँकी रहेका जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सुरु भएका छन् । केही जिल्लामा नेतृत्व र महाधिवेशन प्रतिनिधि चयन भएका छन् । प्रारम्भिक नतिजा मिश्रित छ । 

अधिकांश जिल्लामा मतगणना जारी छ । केहीमा अझै मतगणना सुरु हुन सकेको छैन । कतिपय ठाउँमा विवादका कारण सुरु भएको मतगणना पनि स्थगित भएका छन् । त्यस्तै, सर्लाही, सिन्धुपाल्चोक र रसुवामा भने क्रियाशील सदस्यतासम्बन्धी विवाद नै सुल्झिनसकेका कारण वडादेखिकै अधिवेशन रोकिएका छन् । 

कांग्रेस केन्द्रीय निर्वाचन आयोगका सदस्य तेजबहादुर रावलले सोमबार ६० जिल्लाका एक सय ४९ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु गर्ने लक्ष्य भए पनि सबै क्षेत्रको अधिवेशन सुरु हुन नसकेको बताए । ‘सोमबार साँझसम्म एक सय २५ वटा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु भएको खबर केन्द्रीय निर्वाचन आयोगमा आइपुगेको छ,’ रावलले भने, ‘अधिवेशन सुरु भएका जिल्लामध्ये केहीको नतिजा आउने क्रम सुरु भइसकेको छ, केहीको मतगणना जारी छ भने केहीको मतगणना सुरु भएको छैन ।’

उनले १० मंसिरबाट दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन सुरु हुने भएकाले त्यसअघि नै नतिजा आउने बताए । कांग्रेसले हिमाली क्षेत्रका १४ वटा जिल्लामा यसअघि नै वडा, पालिका, प्रदेश क्षेत्र र प्रतिनिधिसभा क्षेत्रको अधिवेशन सम्पन्न गरिसकेको छ । 

महाधिवेशन कार्यतालिकाअनुसार १८ भदौमा वडा, ३० कात्तिकमा पालिका र ३ मंसिरमा प्रदेश क्षेत्रका अधिवेशन भएका जिल्लामा सोमबारबाट प्रतिनिधिसभा क्षेत्रको अधिवेशन सुरु भएको हो । यी अधिवेशनहरू ९ मंसिरभित्र सम्पन्न गरेर १० मंसिरबाट दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन सुरु हुनेछ ।

त्यसपछि १६ र १७ मंसिरमा सातवटै प्रदेशको अधिवेशन र २४ देखि २६ मंसिरसम्म कांग्रेसको १४औँ केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्ने कार्यतालिका छ । यसअघि पटकपटक सर्दै आएको कांग्रेसको महाधिवेशन कार्यतालिका १८ भदौबाट सुरु भएको हो । १८ भदौबाट सुरु भएको कांग्रेस महाधिवेशनअन्तर्गत अहिलेसम्म तीनवटा जिल्लाबाहेक सबैमा वडा, पालिका र प्रदेश सभा क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिने हुँदा सबैको नजर
पार्टीको नेतृत्व चुन्ने केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू चुनिने भएकाले कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनलाई महŒवका साथ हेरिएको छ । मुलुकमा नयाँ संघीयता कार्यान्वयन भएपछि कांग्रेसको महाधिवेशन पहिलोपटक हुँदै छ । यसैकारण कांग्रेसले पार्टीको १३औँ महाधिवेशनबाट पारित विधानलाई नै संशोधन गरी १४औँ महाधिवेशनमा क्रियाशील सदस्यता वितरणदेखि केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनमा समेत संशोधित विधानको कार्यान्वयन गरिरहेको छ । जसअनुसार कांग्रेसले पार्टीको इतिहासमा पहिलोपटक प्रदेश अधिवेशन र प्रदेश सभा निर्वाचन क्षेत्रको समेत अधिवेशन गर्दै छ । यसअघि प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मात्र अधिवेशन हुँदै आएको थियो । 

कांग्रेसको विधानअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रलाई प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय सम्मेलनको क्षेत्र मानेको छ । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रभित्रका प्रदेश सभा क्षेत्रीय अधिवेशनका प्रतिनिधिहरू, सोही क्षेत्रभित्र रहेका पार्टी केन्द्रीय कार्यसमितिका वर्तमान एवं पूर्वपदाधिकारी तथा सदस्यहरू, जिल्ला सभापति, क्षेत्रीय सभापति, संघीय संसद्का सदस्य र उम्मेदवार, प्रदेश सभाका सदस्य र उम्मेदवारहरू सदस्य रहने कांग्रेसको विधानमा व्यवस्था गरिएको छ । 

प्रतिनिधिसभा निर्वाचन क्षेत्रको सोही अधिवेशनले २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत चयन गर्नेछ । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापति पदेन केन्द्रीय महाधिवेशन प्रतिनिधि हुनेछन् । यस्तै, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले कम्तीमा चार महिलासहित १४ जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्रबाट १० जना प्रतिनिधि समानुपातिक आधारमा प्रतिनिधिसभा क्षेत्रको जनसंख्याको बनोटअनुसार तोकिएबमोजिम निर्वाचित गर्ने व्यवस्था विधानमा छ । 

यद्यपि, कांग्रेसले पछिल्लो समय केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्दा ‘दलिततर्फ एकजना र मधेसी, थारू, मुस्लिम, अल्पसंख्यक, अपांगता भएका व्यक्तिमध्येबाट थप एकजना केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित गर्न’ परिपत्र गरेको छ । त्यसो हुँदा केही क्षेत्रबाट २७ जनासम्म केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिन सक्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको भनाइ छ ।

‘विधानतः सबै निर्वाचन क्षेत्रबाट २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिनेछन् । तर, केही जिल्लामा दलितबाट एकजना र मधेसी, थारू, मुस्लिम, अल्पसंख्यक तथा अपांगता भएका व्यक्तिमध्येबाट थप एकजना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । यो विशेष अवस्थामा लागू हुनेछ,’ प्रवक्ता शर्माले भने । 

यसरी केन्द्रीय निर्वाचनमा मताधिकारको प्रयोग गर्न पाउने गरी एउटा निर्वाचन क्षेत्रबाट २५ देखि २७ जनासम्म केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिने हुँदा यसलाई निकै महŒवका साथ हेरिएको छ ।

त्यस्तै, यही अधिवेशनले प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिसमेत निर्वाचित गर्नेछ । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन प्रतिनिधिमध्येबाट सभापति, दुई सचिव र दुई सहसचिव निर्वाचित गर्नेछ । क्रियाशील सदस्यता प्राप्त गरेको चार वर्ष पुगेको सदस्य मात्र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापतिका लागि उम्मेदवार बन्न सक्ने विधानमा व्यवस्था छ । सोही प्रतिनिधिसभा निर्वाचन क्षेत्रभित्र रहेका प्रदेश सभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिहरू यस कार्यसमितिमा उपसभापति रहनेछन् । 

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका निर्वाचित सदस्यमध्ये एक कोषाध्यक्ष रहनेछन् । त्यस्तै, एक महिलासहित चारजना सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् । महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्रबाट ६ जना सदस्य सम्पूर्ण क्षेत्रको जनसंख्याको बनोटअनुसार तोकिएबमोजिम समानुपातिक आधारमा निर्वाचित भएर आउँछन् । 

यससँगै प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनद्वारा प्रत्यक्ष निर्वाचित एक महिलासहित तीनजना गरी दुई प्रदेश सभा निर्वाचन क्षेत्रबाट ६ जना सदस्य रहनेछन् । यसबाहेक सभापतिले कार्यसमितिमा एकतिहाइ महिला सदस्य अनिवार्य गर्दै समावेशी सिद्धान्त र अपांगता भएका वा अल्पसंख्यकको प्रतिनिधित्वसमेतलाई ध्यानमा राखी कार्यसमितिको कुल संख्याको २० प्रतिशत सदस्य मनोनीत गर्न सक्ने व्यवस्था कांग्रेसको विधानमा छ ।