१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ६ सोमबार २१:५१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बलुचिस्तानमा कोइला खानीका मजदुर जोखिममा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ६ सोमबार २१:५१:००

पाकिस्तानको राष्ट्रिय मानवअधिकार आयोगले बलुचिस्तान प्रान्तको कोइला खानीमा मजदुरहरूमाथि मानवअधिकार उल्लंघन तथा कठिन कार्य गर्नुपर्ने अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ । क्वेटा प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा आयोगका सदस्य हुसेन नक्वीले कोइला खानीमा कार्यरत मजदुरहरू मानवअधिकार उल्लंघनको जोखिममा रहेको र यसमा थप खोज कार्य भइरहेको बताए ।

आयोगका अनुसार यो वर्ष हालसम्म खानी दुर्घटनामा १७६ जना कामदारको मृत्यु भएको छ भने १८० जना घाइते भएका छन् । पाकिस्तानी पत्रिका द डाउनले सेन्ट्रल माइन्स लेबर फेडरेसनद्वारा जारी तथ्यांकलाई उद्धृत गर्दै यससम्बन्धी समाचार दिएको छ । बलुचिस्तानका खानी कामदारहरूले गैरराज्य पक्षद्वारा लक्षित आक्रमणको जोखिम सामना गर्नुपरेको पनि आयोगले जनाएको छ । खानीभित्र स्वास्थ्य सेवाको अवस्था पनि विकराल देखिएको आयोगको अनुगमन टोलीले तयार गरेको प्रतिवेदनमा उल्लेख छ ।

आयोगका अनुसार कोइला खानीलाई अन्तराष्ट्रिय रूपमा एक खतरनाक पेसाका रूपमा वर्गीकृत गरिएको छ । खानीका मालिक तथा ठेकेदारहरूले हरेक खानीमा एम्बुलेन्स सेवा तथा आपतकालीन स्वास्थ्य कार्यकर्ता सुनिश्चित गर्नुपर्नेमा त्यस्तो नभएको पाइएको छ । आयोग सदस्य नाक्वीले भने, ‘हामी निरन्तर खानीको अनुगमन गर्छौँ । मजदुरहरूले आधारभूत सेवा पाउनुपर्छ ।’

सरकारले बलुचिस्तान प्रदेशमा सञ्चालित ६ हजार खानीहरूमा स्वास्थ्य र सुरक्षाको निरीक्षण गर्नका लागि जम्मा २७ जना निरीक्षक खटाएको छ । मानवअधिकार आयोगले यसलाई पनि चिन्ताजनक अवस्था भनेको छ । बलुचिस्तानमा मृत्यु र चोटपटक लागेकाहरूलाई क्षतिपूर्ति कम रहेको देखिएको छ । अन्य प्रान्तहरूमा मृत्यु भएमा क्षतिपूर्ति पाँच लाख रुपियाँ छ भने बलुचिस्तानमा तीन लाख मात्रै छ ।