१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ६ सोमबार १४:०४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

साझा पार्टीसँग एकता गर्नु गल्ती भयो : मिलन पाण्डे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ६ सोमबार १४:०४:००

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले रवीन्द्र मिश्रको साझा पार्टीसँग एकता गर्न गल्ती भएको बताएका छन्। साझा पार्टीसँग एकता प्रक्रियाबाट बाहिर रहेका अतिता राईसहितको समूहले नयाँ पार्टी दर्ता गरेपछि पाण्डेले बधाई दिँदै गल्ती भएको स्वीकार गरेका हुन्।

‘तपाईंहरूलाई पार्टी दर्ताका निम्ति धेरै–धेरै बधाई छ। तपाईंहरूले सुसंस्कृत राजनीति, वैकल्पिक राजनीति र विवेकशील आन्दोलनलाई न्याय गर्नुहुनेछ र नेतृत्व गर्नुहुनेछ भन्ने विश्वास छ। शुभकामना छ,’ उनले भनेका छन्। 

‘गत मंसिरमा विवेकशील र साझा पार्टीको एकीकरण हुँदै गर्दा तपाईंहरूले ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता’मा अर्को पक्षको विश्वास गर्न सकिँदैन भन्नुभएको थियो। दस्ताबेजमा यही शब्द किटान गर्न भन्नुभएको थियो। त्यहाँ तपाईंहरू सही साबित हुनुभयो,’ पाण्डेले फेसबुकमा लेखेका छन्।

अर्को पक्षको नेतृत्वले लिखित रूपमा (अग्रगामी, प्रगतिशील, मध्यवामपन्थी, संविधानवादलाई पूर्णतः पालना गर्ने, विगतका आन्दोलनका उपलब्धिलाई रक्षा गर्ने) र मौखिक रूपमा पनि व्यवस्थाविरोधी एजेन्डा नबोक्ने सहमति र गणतन्त्र, संघीयता, धार्मिक स्वतन्त्रता र समावेशिताबारे सहमति जनाएकाले विश्वास गरेर एकता गरिएको उनले बताएका छन्। 

‘हामीलाई लाग्यो लिखित रूपमा पनि यति स्पष्ट छ। मौखिक रूपमा पनि सहमति छ। हामी सुसंस्कृत विवेकशील राजनीति गर्दै थियौँ। यसरी लप्पनछप्पन गर्ने कुरा सोच्न सक्ने कुरा भएन। आखिर राजनीति विश्वास न हो। हामीले विश्वास गर्‍यौँ। त्यसैले, हामीले लेखेको र भएको सहमतिलाई मान्यौँ। आज दु:खको कुरा के भयो भने सुसंस्कृत राजनीतिमा अर्को पक्षले लेखेकै र भएकै सहमति मान्नु मेरो गल्ती भयो भन्नुपरेको छ,’ पाण्डेले भनेका छन्।
तत्कालीन हिसाबबाट विवेकशील र साझाको एकीकरणको नेतृत्व आफूले गरेको हुँदा १३ जना साथीहरूसँग माफी मागेको उनले बताएका छन्। तर, एकताको उद्देश्य पवित्र भएको उनको दाबी छ।  

छिट्टै अभियानमा भेट हुनेसमेत उनले भनेका छन्। ‘सांगठनिक रूपमा पनि छिट्टै नै हामी सँगै नै हुनेछौँ। विवेकशील साझा पार्टीलाई ‘प्रोग्रेसिभ डेमोक्रेटिक’ पार्टी बनाएर नै छाड्ने हो। आशा छ, तपाईंहरूको साथ पनि हामीलाई हुनेछ। उज्ज्वल दाइले र हामी सबैले देखेको सपना मर्नेछैन। हामी सबै मिलेर हाम्रो त्यो सामूहिक सपना साकार गर्नेछौँ,’ पाण्डेले भनेका छन्।