Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ मङ्सिर ५ आइतबार ०९:४५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

त्रिविमा सेमेस्टरको नतिजा आउन वर्ष दिन कुर्नुपर्ने बाध्यता

Read Time : > 2 मिनेट
२०७८ मङ्सिर ५ आइतबार ०९:४५:००

त्रिविको शिक्षाशास्त्र, मानविकी तथा सामाजिकशास्त्रलगायत नतिजा लामो समयसम्म कुर्नुपर्ने बाध्यताले विद्यार्थी निराश, सेमेस्टर प्रणालीको प्रभावकारितामै प्रश्न

त्रिभुवन विश्वविद्यालयले आठ वर्षअघि सुरु गरेको सेमेस्टर प्रणाली अझैसम्म प्रभावकारी हुन सकेको छैन । शैक्षिक गुणस्तर सुधारका लागि भन्दै त्रिविले स्नातकोत्तर तहका सबै विषयमा सेमेस्टर प्रणाली सुरु गरेको थियो । जसअनुसार ६ महिनामा सक्नुपर्ने कार्यक्रम परीक्षा सकिएको एक वर्षसम्म पनि नभएपछि यसको प्रभावकारितामै प्रश्न उठ्न थालेको हो ।

त्रिविको शिक्षाशास्त्र, मानविकी तथा सामाजिकशास्त्रलगायतका नतिजा झन्डै वर्ष दिन कुर्नुपर्ने बाध्यताले विद्यार्थी निराश बनेका छन् । मानविकी तथा सामाजिकशास्त्र संकायका स्नातकोत्तर तह प्रथम सेमेस्टरको परीक्षा गत माघमा सम्पन्न भएको थियो । तर, अंग्रेजी, समाजशास्त्र, अर्थशास्त्रलगायतका धेरै विद्यार्थी संख्या भएका विषयको नतिजा अहिलेसम्म पनि सार्वजनिक हुन सकेको छैन ।

रत्नराज्यलक्ष्मी क्याम्पसमा एमए अंग्रेजी विषयमा तेस्रो सेमेस्टर अध्ययरत मोहन गुरागाईंले ९/१० महिनासम्म नतिजा सार्वजनिक गर्न नसक्नु लाजमर्दो भएको बताए । ‘परीक्षा दिएको तीन महिनाभित्रै परीक्षाफल निकाल्ने भन्दै प्रचार गरे पनि ९/१० महिनासम्म परीक्षाफल निकाल्न नसक्दा त्रिविको गुणस्तरमाथि नै प्रश्न उठ्ने गरेको छ,’ उनले भने, ‘आफ्नो विगतका कमीकमजोरीलाई बुझ्दै अगाडि बढ्न परीक्षाफलले महत्वपूर्ण भूमिका खेल्छ, तर अर्को सेमेस्टर या वर्ष पुगिसक्दा पनि त्यसको अत्तोपत्तो हुन्न । देशकै गरिमा बोकेको विश्वविद्यालयले यस्तो लापरबाही गर्नु साह्रै दुखद छ ।’ त्रिविले ०७० देखि स्नातकोत्तर तहमा केन्द्रीय विभागबाट सेमेस्टर प्रणाली सुरु गरेको थियो, त्यसपछि उपत्यका हुँदै देशभर सबै विषय सेमेस्टरमा सञ्चालन भइरहेको छ । 

शिक्षाशास्त्र संकायमा पनि त्यस्तै समस्या छ । गत चैतमा सञ्चालन भएका एमएड प्रथम सेमेस्टरको परीक्षाको नतिजा अझै आएको छैन । शिक्षाशास्त्रमा अन्य संकायभन्दा ढिला परीक्षा सञ्चालन हुने गरेको छ । दोस्रो सेमेस्टर पढाइ र परीक्षा सकेर तेस्रो सेमेस्टर सुरु भयो । विद्यार्थीले दुई सातादेखि तेस्रो सेमेस्टरको परीक्षा दिएका छन्, तर पहिलो सेमेस्टरको नतिजा अझै थाहा पाउन सकेका छैनन् । 

सेमेस्टरको जिम्मा डिन कार्यालयलाई, तर छैन पूर्वाधार र जनशक्ति
त्रिभुवन विश्वविद्यालयका सेमेस्टर प्रणालीमा सञ्चालन भएका शैक्षिक कार्यक्रमको परीक्षा डिन कार्यालयबाट लिने व्यवस्था छ । स्नातकोत्तर तहका सबै विषय र स्नातक तहमा पनि अप्लाइड विषय सेमेस्टर प्रणालीमा सञ्चालन छन् । एकातिर त्रिविको परीक्षा नियन्त्रण कार्यालयलाई भार कम हुने र जनशक्ति उपलब्ध गराउन बेवास्ता भएको छ भने अर्को विद्यार्थी संख्या धेरै भए पनि डिन कार्यालयले आफैँ लिए पनि पूर्वाधार नहुँदा विद्यार्थी मारमा परेका छन् ।

डिन कार्यालयका अधिकारीले विद्यार्थीको संख्या धेरै भएको, तर जनशक्ति र पूर्वाधार थप नहुँदा समस्या भएको बताउँछन् । त्यसैगरी, ४० नम्बरको आन्तरिक नम्बर पठाउन ढिलाइ हुँदासमेत नतिजामा असर परेको उनीहरूको भनाइ छ । ‘जनशक्ति र पूर्वाधार ५०/६० तिरको छ, कामको चाप बढेको छ, सेमेस्टरको परीक्षा डिन कार्यालयले गर्नु ठीक छैन,’ डिन कार्यालयका एक अधिकारीले भने ।

डिन कार्यालयमा कपी राख्ने ठाउँसमेत छैन : प्रा.डा. कुसुम शाक्य, डिन, मानविकी तथा सामाजिकशास्त्र संकाय 

धेरै विद्यार्थी संख्या भएका केही विषयको नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । डिन कार्यालयमा जनशक्ति र पूर्वाधार नहुँदा सेमेस्टर प्रणालीमा चलेका कार्यक्रमको पनि नतिजा सार्वजनिक गर्न केही ढिलाइ भएको हो । त्यससँगै दसैँ–तिहारको लामो बिदा, कोभिडलगायतको समस्याका बीचमा पनि हामीले काम गरिरहेका छौँ । केन्द्रीय विभागबाट सेमेस्टर प्रणाली कार्यान्वयन हुँदा डिन कार्यालयले परीक्षाको काम सुरु गरेको थियो । 

अहिले उपत्यका तथा देशभरका सेमेस्टरका कार्यक्रमको परीक्षा डिन कार्यालयले हेर्नुपरेको छ । तर, काम गर्ने जनशक्ति र काम गर्ने स्थानको समेत अभाव छ । मानविकी डिन कार्यालयमा कपी राख्ने ठाउँसमेत छैन । परीक्षा सञ्चालन र नतिजा समयमै आउन सबै पक्षको महत्वपूर्ण भूमिका हुन्छ । डिन कार्यालयलाई निकै अप्ठ्यारो छ । व्यवस्थापनमा विश्वविद्यालयको समेत सहयोगको आवश्यकता हुन्छ ।

महँगो शुल्क तिरेका एमफिलको नतिजामा समेत ढिलाइ
त्रिभुवन विश्वविद्यालयमा चर्को शुल्क तिरेर एमफिल, पिएचडीमा भर्ना भएका छन् । तर, लाखौँ शुल्क तिरेका कार्यक्रमको नतिजा वर्षदिनसम्म पनि आउँदैन । मानविकी डिन कार्यालय स्रोतका अनुसार समाजशास्त्र, मानवशास्त्रलगायतका विषयका गत माघमा सञ्चालन भएको एमफिल दोस्रो सेमेस्टरको परीक्षाको नतिजा अहिलेसम्म सार्वजनिक भएको छैन । थोरै विद्यार्थी हुने र प्राइभेट कार्यक्रमका रूपमा चर्को शुल्क लिने कार्यक्रममै पनि समयमा नतिजा नआउनु लाजमर्दो विषय भएको बताउँछन् । मानविकी तथा सामाजिकशास्त्र संकाय डिन प्रा.डा. कुसुम शाक्यले पहिले थोरै केन्द्रीय विभागले एमफिल, पिएचडी कार्यक्रम सञ्चालन गरे पनि अहिले प्रायः सबैले यस्ता कार्यक्रम सञ्चालन गरेको बताइन् । धेरै विभागले यी कार्यक्रम सञ्चालन गरेको र डिन कार्यालयमा आवश्यक पूर्वाधार तथा जनशक्ति नहुँदा नतिजामा केही ढिलाइ हुने गरेको बताइन् । 

एमए अध्ययनरत विद्यार्थी मोहन गुरागाईं भन्छन्- समयमै निकाल्न नसक्दा त्रिविको गुणस्तरमाथि नै प्रश्न उठेको छ 
परीक्षा दिएको तीन महिनाभित्रै परीक्षाफल निकाल्ने भन्दै प्रचार गरे पनि ९/१० महिनासम्म परीक्षाफल निकाल्न नसक्दा त्रिविको गुणस्तरमाथि नै प्रश्न उठेको छ । आफ्नो विगतका कमीकमजोरीलाई बुझ्दै अगाडि बढ्न परीक्षाफलले महत्वपूर्ण भूमिका खेल्छ, तर अर्को सेमेस्टर या वर्ष पुगिसक्दा पनि त्यसको अत्तोपत्तो हुन्न । देशकै गरिमा बोकेको विश्वविद्यालयले यस्तो लापरबाही गर्नु साह्रै दुखद छ ।