मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार परराष्ट्र मन्त्रालयमा भेटवार्ता गर्दै । तस्बिर : रासस
२०७८ मङ्सिर ४ शनिबार ०६:१६:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एमसिसी सम्झौताबारे शीघ्र निर्णय लिन आग्रह गर्दै अमेरिकी सहायकमन्त्रीले भने– नेपालले एमसिसी लिँदैन भने अन्त लैजान्छौँ 

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर ४ शनिबार ०६:१६:००

अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी विदेश सहायक मन्त्री डोनाल्ड लुले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताबारे शीघ्र निर्णय लिन नेपाललाई आग्रह गरेका छन् । औपचारिक भ्रमण सकेर शुक्रबार साँझ स्वदेश फर्किनुअघि अमेरिकी राजदूतको निवासमा कूटनीतिक मामिला हेर्ने पत्रकारसँग लुले ‘नेपालले एमसिसी नचाहे अन्य मुलुकमा लैजाने’ सन्देश प्रधानमन्त्रीदेखि शीर्ष नेताहरूलई दिएको स्पष्ट पारेका छन् ।

एमसिसी नेपालले नलिए पनि नेपाल–अमेरिका सम्बन्धमा असर नपर्ने पनि उनले बताएका छन् । ‘नेपाल चाहन्छ भने एमसिसी भोलिदेखि नै कार्यान्वयनमा आउनेछ, यदि नेपालले चाहेको छैन भने हामी अन्त लैजान्छौँ, यसमा केही छैन,’ शीर्ष नेता र उच्च अधिकारीहरूसँग भेटवार्ता सकेर स्वदेश फर्किनुअघि लुले भने, ‘यसबारेमा बृहत् छलफलबाट उपाय निकाल्न नेपाली शीर्ष नेताहरूले चाहेको मैले बुझेको छु । तर, यसले लामो समय लिनुहुँदैन किनभने दुई वर्ष अबेर भइसकेको छ ।’

एमसिसी लिने कि नलिने निर्णय नेपालको हातमा रहेको भन्दै उनले एमसिसीबारे नेपालमा गलत सूचना फैलाइएको पनि गुनासो गरे । ‘एमसिसी लिने कि नलिनेमा होइन, एमसिसीबारे गलत सूचना फैलाइएको प्रति हाम्रो चिन्ता छ,’ लुले भने, ‘लिन चाहनुहुन्छ कि हुन्न भनेर हामीले सरकारलाई सोधेका छौँ । नेपाल सरकारको छनोटमा हाम्रो केही भन्नु छैन ।’ 

उनले २८ मंसिरमा एमसिसी बोर्डको बैठक रहेको, तर नेपाललाई त्यही मितिसम्म एमसिसी सम्झौता लिने वा नलिनेबारे निर्णय लिन आग्रह नगरिएको पनि बताए । यद्यपि, उनको भेटवार्ताहरूबारे जानकार कूटनीतिक स्रोतले आगामी चुनावभन्दा अघि नै यसबारे निर्णय लिन अमेरिकाले आग्रह गरेको छ ।

लुले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा तथा शुक्रबार एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । लुले परराष्ट्रमन्त्री डा. नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाणलगायतसँग पनि शुक्रबारै भेटेका थिए । 

नेपाल, भुटान, श्रीलंका बंगलादेश र माल्दिभ्ससँगको सम्बन्ध हेर्ने उपसहायक मन्त्री केली केइन्डरलिङलाई सँगै राखेर लुले भने, ‘एमसिसी लिन चाहनुहुन्न भने पनि ठीक छ । विश्वमा धेरै मुलुकले एमसिसी लिन चाहेका छन् । यो पारित गर्ने कि नगर्ने भन्ने कुरा यहाँका सार्वभौम जनता, सार्वभौम संसद्ले लिने निर्णयमा भर पर्छ ।’ 

शीर्ष नेताहरूले भने आफूलाई बृहत् छलफलका आधारमा एमसिसी पारित गर्ने विश्वास दिलाएको उनले बताए । ‘नेपाली नेताहरूसँगको छलफलबाट म प्रभावित भएँ, उनीहरूको इच्छाशक्तिलाई म सम्मान गर्छु,’ उनले भने, ‘हिमाल र नदीको संरक्षण, नेपालको विकास र अमेरिकासँग सम्बन्ध थप सुदृढ बनाउनुपर्ने इच्छा मैले पाएँ । हामी कोभिड– १९, नवीकरणीय ऊर्जा, विकास र पूर्वाधारका क्षेत्रमा नेपाललाई सहयोग गर्न, नेपालसँग सहकार्य गर्न चाहन्छौँ ।’

अर्को प्रसंगमा उनले नेपालको राजनीति जटिल र अस्पष्ट लागेको पनि बताए । शीर्ष नेताहरूसँग खुलेर हँसिमजाकसमेत गरेको र प्रचण्डबाट प्रभावित भएको उनको भनाइ थियो । नेपाललाई अमेरिकाले बेग्लै आँखाले हेरिरहेको र अहिले नेपाल, भुटान, माल्दिभ्स, श्रीलंका, बंगलादेश र बंगलादेश हेर्ने बेग्लै क्लस्टर बनाएको उनको भनाइ थियो । 

भारतसँग अमेरिकाको बेग्लै सम्बन्ध रहेको र नेपाललगायत देशसँग अलग्गै रहेको उनको भनाइ थियो । नेपालसँग आर्थिक विकास, लगानी, व्यापार, जनस्तरको सम्बन्ध बढाउन चाहेको, सार्वभौम र स्वतन्त्र नेपालका पक्षमा अमेरिका उभिएको बताउँदै लुले भने, ‘दुई ठूला देशहरूको बीचमा नेपाल रहेको हामीले राम्रोसँग बुझेका छौँ । तर, नेपालको असाध्यै जटिल राजनीतिचाहिँ मैले बुझेको छैन ।’