मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शुक्रबार काठमाडौंको आकाशमा देखिएको तुवाँलो । तस्बिर : दीपेन्द्र ढुंगाना
यम बम काठमाडाैं
२०७८ मङ्सिर ४ शनिबार ०६:०६:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मौसम बदलीसँगै काठमाडौंमा  बढ्न थाल्यो प्रदूषण, मर्निङ वाक नजान आग्रह 

Read Time : > 2 मिनेट
यम बम, काठमाडाैं
२०७८ मङ्सिर ४ शनिबार ०६:०६:००

अरब सागरमा विकसित न्यूनचापीय प्रणालीका कारण भएको बदलीसँगै काठमाडौंमा प्रदूषण बढ्न थालेको छ । घाम नलाग्दा र पानी पनि नपर्दा प्रदूषण बढ्दै गएकाले मर्निङ वाकमा ननिस्किन वातावरणीय स्वास्थ्यविज्ञले सुझाब दिएका छन् । 

शनिबार पनि मौसम सुधार हुने देखिँदैन : वरुण पौडेल, मौसमविद्

अरब सागरमा विकसित न्यूनचापीय प्रणालीले बादल लाग्दा वायुमण्डलको तल्लो भाग चलायमान हुन सकेको छैन । धुवाँधुलो तल्लो वायुमण्डलमा तैरिएर बसेको छ । यो समस्या काठमाडौंजस्ता देशका अन्य उपत्यका र तराईका ठूला सहरमा पनि छ । घाम नलागे, हावा नचले वा पानी पनि नपरे प्रदूषण थप बढ्दै जान्छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार वातावरण धुम्म हुँदा धुँवाधुलो तल्लो वायुमण्डलमा तैरिएर बसेको छ । ‘तल्लो वायुमण्डल चलायमान भएको छैन, यो समस्या काठमाडौंजस्ता देशका अन्य उपत्यका र तराईका ठूला सहरमा पनि छ,’ महाशाखाका मौसमविद् वरुण पौडेलले भने, ‘घाम नलागे, हावा नचले वा पानी पनि नपरे प्रदूषण थप बढ्दै जान्छ ।’ 

मुलुकभर नै बदली हुँदा काठमाडौंसँगै पोखरा, वीरगन्ज, विराटनगर, जनकपुर, भैरहवा, नेपालगन्ज, धनगढीलगायत सहरमा प्रदूषण बढेको छ । शुक्रबार काठमाडौं उपत्यकामा सबैभन्दा बढी प्रदूषण कीर्तिपुर क्षेत्रमा रह्यो ।

वातावरण विभागको तथ्यांकअनुसार साँझ पौने ६ बजे कीर्तिपुरस्थित वायु गुणस्तर मापन केन्द्रमा वायु गुणस्तर सूचकांक पिएम–२.५ (पार्टिकुलेट म्याटर)को मात्रा प्रतिघन्टा १५२ पुगेको थियो, जुन अस्वस्थकर मानिन्छ । यो सूचकांक रत्नपार्कमा ११४ पुगेको थियो । पोखरामा भने २०० नाघेको थियो । यो सूचकांक २०० नाघ्नुलाई अति अस्वस्थकर र ३०० नाघ्नुलाई घातक मानिन्छ । 

मौसमविद्हरूका अनुसार तल्लो वायुमण्डल पृथ्वीको सतहदेखि १६ किलोमिटर उचाइसम्म रहन्छ । असिना पर्ने, तुवाँलो लाग्ने, शीत पर्ने, हुरीबतास चल्ले, मेघगर्जनलगायत मौसमी गतिविधि यही मण्डलबाट सञ्चालन हुन्छन् । अहिले यो मण्डल स्थिर बनेकाले प्रदूषण बढेको उनीहरू बताउँछन् । मौसमविद् पौडेलका अनुसार तत्काल ठूलो वर्षको सम्भावना पनि छैन । 

‘न्यूनचापीय प्रणालीले बादल लाग्दा बिहीबारदेखि नै देशभर राम्रोसँग घाम लाग्न सकेको छैन, खासै वर्षा पनि भएको छैन । पछिल्लो २४ घन्टामा इलाममा ५.५ मिलिमिटर वर्षा भएको छ, जुन छिटफुट हो,’ पौडेलले भने, ‘बरु जाडो बढाएको छ, शनिबार पनि सुधार हुने देखिँदैन ।’ 

मर्निङ वाकमा ननिस्किनु नै उत्तम : यादव जोशी,वातावरणीय स्वास्थ्यविज्ञ

आकाश धुम्म भएको वेला धुलो र धुवाँका स–सना कण वायुमण्डलको तल्लो सतहमा तैरिरहेका हुन्छन् । जुन हाम्रो नाक, मुखबाट सीधै प्रवेश गर्न सक्ने हुन्छ । दम, निमोनियालगातका बिरामीलाई झनै असर गर्ने भएकाले मास्क अनिवार्य लगाउनुपर्छ । यस्तो वेला मर्निङवाकमा ननिस्किनु नै उत्तम हुन्छ । 

वातावरणीय स्वास्थ्यविज्ञ यादव जोशीले आकाश धुम्म भएर प्रदूषण बढेका वेला मर्निङ वाकमा नजान सुझाव दिएका छन् । ‘धुलो र धुवाँका ससाना कण वायुमण्डलको तल्लो सतहमा तैरिरहेका हुन्छन्, जुन हाम्रो नाक, मुखबाट सीधै प्रवेश गर्न सक्ने हुन्छ,’ उनले भने, ‘दम, निमोनियालगायतका बिरामीलाई झनै असर गर्ने भएकाले मास्क अनिवार्य लगाउनुपर्छ ।’

काठमाडौंको वायु प्रदूषणको कारकबारे अध्ययन गरेका प्राध्यापक रामप्रसाद रेग्मी हिउँदमा चिसो हावा तल र तातो हावा माथि भएर स्पर्श हुन नपाउँदा प्रदूषण बढ्ने बताउँछन् ।

जसकारण प्रदूषित हावा लामो समयसम्म उपत्यकाबाहिर निस्कन पाउँदैन । र, उपत्यका घेर्ने डाँडामाथि स्थिर किसिमको वायुमण्डलीय सतह बन्छ ।

‘त्यसले उपत्यकामा बिर्को लगाएजस्तै गरी प्रदूषण आकाशतिर फिँजिएर जाने प्रक्रियालाई रोकिदिन्छ,’ उनले भने, ‘त्यस्तो अवस्थामा उत्सर्जित वायुप्रदूषण उपत्यकाभित्र जम्मा हुन थाल्छ ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा न्यूनतम तापक्रम भने खासै घटेको छैन । तर, न्यूनतम र अधिकतम तापक्रमको ग्याप (दूरी) घटेको छ ।

उपत्यकामा अधिकतम तापक्रम २२ डिग्री सेल्सियस मापन भएकामा न्यूनतम ११.१ डिग्री छ । यसको अर्थ चिसो बढ्नु हो । तुवाँलोका कारणले पारदर्शिता (भिजिबिलिटी)मा समेत कमी आउन सक्ने महाशाखाले जनाएको छ ।