मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
कमल खत्री म्याग्दी
२०७८ मङ्सिर १ बुधबार १२:३८:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस म्याग्दीको जिल्ला अधिवेशन आज

Read Time : > 2 मिनेट
कमल खत्री, म्याग्दी
२०७८ मङ्सिर १ बुधबार १२:३८:००

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत म्याग्दी जिल्लाको साताैँ जिल्ला अधिवेशन बुधबार हुँदै छ। बुधबार हुने जिल्ला अधिवेशनले आगामी कार्यकालका लागि नेतृत्व चयन गर्नेछ भने राष्ट्रिय महाधिवेशनमा भाग लिने प्रतिनिधिहरूसमेत चुन्नेछ। असोज पहिलो सातादेखि सुरु भएको वडा र पालिका अधिवेशन हुँदै क्षेत्रीय अधिवेशन सम्पन्न गरिसक्दा नेपाली कांग्रेस म्याग्दीमा स्पष्ट दुई धार देखिएको छ। 

केन्द्रमा संस्थापन पक्ष शेरबहादुर देउवा र इतर समूह रामचन्द्र पौडेल पक्ष निकटका नेताहरू जिल्लामा स्पष्ट दुई भागमा विभक्त भएका छन्। वर्तमान जिल्ला सभापति खमवीर गर्वुजा र निवर्तमान जिल्ला सभापति तथा संविधानसभा सदस्यसमेत रहेका रेशमबहादुर बानियाँ आगामी नेतृत्वको प्रमुख आकांक्षीका रूपमा देखिएका छन्। गर्वुजा देउवा र बानियाँ पौडेलनिकट मानिन्छन्। वडा र पालिका अधिवेशनमा नै दुई पक्षबीच नेतृत्व र क्षेत्रीय प्रतिनिधि छनाेटमा हानाथाप भएकोे थियो। 

जिल्लाका केही वडासहित दुई पालिकामा निर्वाचनमार्फत नेतृत्व चयन भएको थियो। बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा गर्वुजा र बानियाँ पक्षका कार्यकर्ताले चुनावी प्रतिस्पर्धा गरेका थिए। पालिका अधिवेशनमा शक्ति प्रदर्शनकै रूपमा उत्रिएका दुवै समूह कात्तिक २७ गतेको क्षेत्रीय अधिवेशनमा आउँदा सहमतिबाट नेतृत्व र प्रदेश प्रतिनिधि चयन गरेका छन्।

जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा सहमतिको अनेक प्रयासहरू भइरहेको बताइएको छ। सभापति पदमा गर्वुजा र बानियाँ दुवैको दाबी यथावत् रहेको छ। दुवै समूहले भित्री रूपमा प्यानल उम्मेदवार तयार गरिसकेको भए पनि प्यानलगत रूपमा सामूहिक उम्मेदवारी घोषणा भने भएको छैन। 

जिल्ला सचिव पदमा गर्वुजा पक्षबाट भरतबहादुर रकालले औपचारिक उम्मेदवारी घोषणा गरेका छन् भने अन्य आकांक्षीहरूले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन्। यो समाचार तयार गर्दासम्म जिल्ला उपसभापति पदमा क्याप्टेन मीनबहादुर कार्की, माधवप्रसाद रेग्मी, हरिकुमार श्रेष्ठ, कमल छन्त्याल र कर्णबहादुर भण्डारी (के.बी)ले उम्मेदवारी घोषणा  गरेका छन्। दुईजना चयन हुने उक्त पदमा भण्डारी बानियाँ पक्षधर हुन् भने अन्य सबै गर्वुजा पक्षधर हुन्। आकांक्षी धेरै भएपछि गर्वुजा पक्षलाई उम्मेदवारको टुंगो लगाउनसमेत सकस पर्ने देखिएको छ। 

त्यसैगरी सचिव पदमा गर्वुजा पक्षबाट रकालसँगै हिराबहादुर पुनले समेत उम्मेदवारी घोषणा गरेका छन्। बानियाँ पक्षबाट दुर्गाराम सुवेदी र अजयमिलन श्रेष्ठले सचिवमा उम्मेदवारी घोषणा गरेका छन्। यस्तै उपसभापतिको पदमा क्याप्टेन डमबहादुर पुनको चर्चा चलेको छ। 

त्यसैगरी सहसचिव पदमा श्रीराम पौड्यालले उम्मेदवारी घोषणा गरेका छन्। जिल्ला अधिवेशनले सभापति एकसहित उपसभापति दुई, सचिव दुई र सहसचिव दुईजना निर्वाचित गर्नेछ। कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट कोषाध्यक्ष मनोनीत गरिनेछ। म्याग्दीबाट खुला र समावेशी गरी २५ जना निर्वाचित हुने महाधिवेशन प्रतिनिधिका लागि करिब ५० जना आकांक्षी देखिएका छन्।

पालिका अधिवेशनमा दुई पालिकामा भएको निर्वाचनमा गर्वुजा पक्ष विजयी भएको छ।  न्यूनतम पदबाहेक लेनदेन गर्ने पक्षमा नरहेको गर्वुजा पक्ष बानियाँ पक्षलाई पेलेरै जाने मनसायमा पुगेको देखिन्छ भने बानियाँ पक्षले आसन्न स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनहरूलाई समेत मध्यनजर गर्दै सहमतिमै नेतृत्व चयनका लागि अधिकतम प्रयास गर्ने र सहमति नजुटे निर्वाचनमै होमिने कसरतमा रहेको स्रोतको दाबी छ।  

केही समययता चरम गुटबन्दीमा रुमलिएको कांग्रेस म्याग्दीका लागि जिल्ला अधिवेशन पेचिलो बनेको छ। पार्टीमा योगदान र कामको लगानीभन्दा समूहको पक्षपोषण गरेकाहरूलाई पद बाँडफाँड गर्ने प्रवृत्ति बढेको कांग्रेसजनले नै खुला रूपमा गुनासो गर्न थालेका छन्। जिल्ला अधिवेशनको मुखमा आफ्नो पद सुरक्षित गर्न समूह अदलबदल गर्नेहरुको संख्या पनि बढ्दो छ। 

प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनमा पार्टीको आन्तरिक निर्वाचन भए पनि पदका लागि गुट बदलेको लिखित प्रतिबद्धतामा सहीछाप गर्नुपरेको तथ्यहरू पनि बाहिर आएका छन्। जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा भएका दुई प्रदेश निर्वाचन क्षेत्रको क्षेत्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन भए पनि बुधबार हुने जिल्ला अधिवेशनमा सहमतिबाटै नेतृत्व चयन हुन्छ या निर्वाचनमा पुग्छ अझै निर्क्याेल भइसकेको छैन। 

गर्वुजा ‘भर्सेस’ बानियाँ 

आगामी आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्यको समेत प्रमुख दाबेदारको रूपमा देखिएका गर्वुजाका लागि सहमतिको अधिवेशन सम्पन्न गराउनुपर्ने मनोवैज्ञानिक दबाब छ। प्रदेश निर्वाचन क्षेत्रमा कायम भएको सहमतिको नेतृत्व चयनको वातावरण जिल्ला अधिवेशनमा भत्किए आगामी राजनीतिक यात्रा कठिन हुने भय गर्वुजामा छ भने  पार्टीको जिल्ला समितिको नेतृत्व गरी संविधानसभा सदस्यसमेत रहिसकेकाले निर्वाचनमा हार व्यहोर्नुपरे राजनीतिक जीवनमा नोक्सानी व्यहोर्नुपर्ने भय बानियाँमा छ। त्यसैले मनोनयन दर्तासम्म दुवै समूहबीच प्यानल उम्मेदवारी नै दर्ता हुने देखिए पनि दुवै समूह अन्ततः सहमतिकै पक्षमा उभिने आकलन गरिएको छ।