अधिवक्ता ईश्वरीप्रसाद अधिकारीले सहज ढंगले कुर्सी छाड्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आग्रह गरेका छन्। नेपाल बार एसोसिएसनले गरेको धर्नापछिको विरोध सभामा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्।
अधिवक्ता अधिकारीले ३ गतेसम्म राजीनामा दिनुपर्ने भन्दै अल्टिमेटमको समयभित्र जबराले राजीनामा नदिए देशभरका सबै अदालतमा आन्दोलन हुने चेतावनी दिए। ‘सहज ढंगले कुर्सी छोडिदिनुस्। तपाईंलाई गलत गरेको छु भन्ने लाग्दैन भने समीक्षा गर्न दिनुस्,’ उनले भने, ‘३ गतेसम्मको अल्टिमेटमभित्र बहिर्गमन भएन भने आन्दोलन देशभरका अदालतमा केन्द्रित हुन्छ। त्यसपछि अन्य पेसागतहरू पनि आन्दोलनमा आउनेछन्। त्यो समयमा तपाईंले थेग्न सक्नहुने छैन।’