Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
तिवारी यादव वीरगन्ज
२०७८ कार्तिक ३० मंगलबार १६:०४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

तिलावे पुल निर्माणकार्य ६ महिनापछि पुनः सुचारु, पटकपटक म्याद थपे पनि भौतिक प्रगति ६७ प्रतिशत मात्रै

Read Time : > 1 मिनेट
२०७८ कार्तिक ३० मंगलबार १६:०४:००

पर्सालाई सदरमुकाम वीरगन्जसँग जोड्ने मुख्य सडकको तिलावे खोलाको पुल ठेक्का सम्झौता भएको ६ वर्षमा पनि सम्पन्न हुन सकेको छैन। हुलाकी राजमार्गअन्तर्गत पर्ने तिलावे खोलाको पुल लामो समयदेखि निर्माण नहुँदा पर्साका बासिन्दाले सास्ती खेप्दै आएका छन्।

विगत लामो समयदेखि यहाँ नयाँ पुल नबनेकै कारण बिहान र साँझको समयमा घन्टाैँ ट्राफिक जाम हुने गरेको छ। ग्रामीण भेगबाट दैनिक हजारौँको संख्यामा सर्वसाधारण वीरगन्जका उद्योग, व्यापारिक प्रतिष्ठान र भौतिक पूर्वाधार निर्माणलगायतका कार्यमा आउँछन्। पुरानो पुल जीर्ण भएको र नयाँ पुलसमेत नबन्दा ग्रामीण क्षेत्रबाट दैनिक वीरगन्ज आवतजावत गर्नेहरू समस्यामा परेका बहुदरमाई नगरपालिका– १ विश्रामपुरका दीपेन्द्र साहले बताए। ‘पुलमा सवारी जाम लाग्दा ५–६ घन्टासम्म राेकिनुपर्छ। ब्याक गर्ने ठाउँ पनि हुँदैन,’ उनले भने।

पटकपटक नयाँ पुल निर्माणकार्य समयमै बनाउन पत्राचार भए पनि ठेकेदार कम्पनीले वास्ता नगरेको अर्का स्थानीय मित्रदेव यादवले बताए।  पुल निर्माणको ठेक्का जिल्लाकै ठेकेदारले पाएकाले पनि आलटाल गर्दै आएका उनले बताए।

पुल निर्माणको सम्झौता कहिले भयो ?
पर्साका लाइफलाइनकै रूपमा रहेको तिलावे पुल निर्माणका लागि गत ०७२ जेठ २५ मा पप्पु/लुम्बिनी जेभीले सात करोड ७१ लाख रुपैयाँमा तीन वर्षमा बनाउने गरी ठेक्का सकार गरेको थियो। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जको पहिलो कार्यादेशअनुसार उक्त पुल ०७५ जेठ २४ सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने हो। पटकपटक थपिएको ठेक्काको पछिल्लो म्याद ०७८ भदौ ६ मा सकिएको छ। तर, हालसम्मको भौतिक प्रगति ६७ प्रतिशत मात्र रहेको योजना कार्यालयले जनाएको छ । पछिल्लो ६ महिनादेखि पुल निर्माणको काम ठप्प छ।

योजना कार्यालयका अनुसार सन्तोषजनक कार्यप्रगति नदेखिएपछि ठेक्का सम्झौता तोड्ने विषयमा कात्तिक १ गते सार्वजनिक सूचनासमेत प्रकाशित गरिएको थियो। पुल निर्माणको ठेक्का पप्पु र लुम्बिनीले संयुक्त रूपमा सकार गरे पनि सुरुमा वीरगन्जकै पप्पु कन्स्ट्रक्सनले निर्माणकार्य अगाडि बढाएको थियो।

पुल निर्माणका लागि नियमित युवाहरूको आन्दोलन
विगत लामो समयदेखि अलपत्र अवस्थामा रहेको तिलावे पुल निर्माणका लागि युवाहरूले नियमित रूपमा आन्दोलन जारी राखेका छन्। ठेकेदार कम्पनीको लापरबाहीले पुल निर्माण हुन नसकेकाले सम्बन्धित निकायको ध्यानाकर्षणका लागि आन्दोलन थालिएको आन्दोलनमा सहभागी युवाहरूले गुनासो गरेका छन् ।

युवाहरू पुल निर्माणका लागि दबाब समूह नै बनाएर करिब एक महिनादेखि आन्दोलनमा उत्रेका छन्। उनीहरूले सम्बन्धित कार्यालय र नेताहरूलाई ज्ञापनपत्र बुझाउने, पुलस्थलमा प्रदर्शन गर्ने, हस्ताक्षर संकलन, जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनेलगायतको आन्दोलनको कार्यक्रम गर्दै आएका छन्।

निरन्तरको दबाबपछि आज मंगलबारदेखि निर्माणकार्य सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार बसेको ठेकेदारसहितको सर्वपक्षीय बैठकको निर्णयअनुसार आजदेखि निर्माण सुरु भएको हो। बैठकले रोकिएको पुलको निर्माणकार्य चैत मसान्तभित्र सम्पन्न गर्ने सहमति गरेको बैठकमा सहभागी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए।