मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७८ कार्तिक ३० मंगलबार ०८:०३:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

त्रिविमा साइकल संस्कृति

Read Time : > 5 मिनेट
२०७८ कार्तिक ३० मंगलबार ०८:०३:००

सम्पन्न मुलुकका अधिकांश प्राध्यापक साइकलमा विश्वविद्यालय आवतजावत गर्छन् । विपन्न मुलुक नेपालमा विश्वविद्यालयमा नियमित साइकल चढ्ने व्यक्ति शून्यझैँ देखिनु विश्वको आठौँ आश्चर्य होइन र ?


नेपालमा साइकल संस्कृति स्थापित थियो, क्रमशः विस्थापित भइरहेको हो ? साइकल संस्कृति स्थापनार्थ विश्वविद्यालयले कस्तो भूमिका खेल्न सक्लान् ? त्रिभुवन विश्वविद्यालय साइकलमैत्री किन बन्न सक्दैन ? यी प्रश्नहरूले वर्षौंदेखि हम्मरले झैँ मेरो मथिंगलमा हानिरहेको छ । दसैँबिदाभर राजधानीमा सवारी चाप निकै कम थियो । साइकलयात्रीलाई स्पष्ट बोध हुन्छ, प्रदूषणसहित र प्रदूषणरहित उपत्यकाका सडकको अन्तर, दिनभर साइकल चलाऊँझैँ । त्रिवि उपकुलपति धर्मकान्त बास्कोटालाई भेट्न भिसी कार्यालय पुग्छु । विश्वभरका नामी विश्वविद्यालय साइकलमैत्री छन् । त्रिवि केन्द्रीय क्याम्पस हरियालीसहित सफा छ । बगैँचा विस्तारलगायत सौन्दर्यकरणका गतिविधि बढेका छन् । नयाँ पिच बाटो चिल्ला छन् । यद्यपि, त्यहाँ साइकल लेन छैन । न कतै साइकल स्ट्यान्ड छन् । सुन्दर त्रिवि परिसर ड्राइभिङ सेन्टरझैँ देखिन्छन् । बिहान सबेरैदेखि त्रिविभित्र कार–बाइक सिक्नेको घुइँचो हुन्छ । भूमिका नबाँधी बोल्दै छु, ‘भिसी सर, तपाईं त मेडिकल डाक्टर पनि । साइकल चढ्दाको फाइदा गनिसाध्य–भनिसाध्य छैन । त्रिविमा साइकलमैत्री वातावरण निर्माणका लागि पहल थाल्ने कि ? त्रिविबाट पहल भएमा देशभर साइकलमैत्री संस्कृति निर्माणमा सकारात्मक सन्देश जानेछ ।’ 

उहाँ भिसी भएपछि एकपटक भेटेको थिएँ । म कुनै पनि दलआबद्ध व्यक्ति होइन भन्दा उहाँले अचम्म लाग्यो भन्नुभएको थियो । जति पनि प्राध्यापक आउँछन्, यो वा त्यो दल र गुटआबद्ध हौँ भन्दै दबाबसहित स्वार्थपूर्तिका लागि धाउँछन् । ज्ञापनपत्र, धर्ना, धम्की, नाराजुलुस अनेक अवरोध गर्छन् भन्दै त्रिविलाई सुधार्न उहाँको १५ बुँदे कार्ययोजना प्रिन्टकपी दिनुभएको थियो । त्रिविमा साइकल संस्कृतिको परिकल्पना बोकेर भेट्दा भिसी सर पक्कै प्रभावित हुनुहोला भन्ने सोचेको थिएँ । रेक्टर सर पनि साथै हुनुहुन्थ्यो । साइकल समाजका साथीहरूबाट विविध प्रस्तुतिसहित त्रिविमा साइकलमैत्री विमर्श, पूर्वाधार निर्माण र साइकल संस्कृति प्रवद्र्धनका विविध कार्यक्रम तथा सौन्दर्यकरणमा साइकल संस्कृति विस्तारले गहन भूमिका निर्वाह गर्ने सपना सुनाएँ । तर, भिसी सर भन्नुहुन्छ, विश्वका विश्वविद्यालयका कुरा नेपालमा नगरौँ ।

विश्वभर जहाँतहीँ साइकललाई प्राथमिकता दिएको देखेकै छु । तर, त्रिविमा त्यस्तो काम गर्न सहज छैन । पर्खाल लगाउने काममा त्रिविकै प्राध्यापकबाट अवरोध भइरहेको छ । प्राध्यापकहरूले नै निर्माण गर्दै गरेको पर्खाल भत्काइदिन्छन् । साइकल लेन, सडक सुरक्षा, साइकल संस्कृति परका कुरा । त्रिवि शिक्षण अस्पतालमा एक जापानी डाक्टर साइकलमा आउनुहुन्थ्यो । उहाँकै साइकल चोरी भयो । यस्तो संस्कार छ, हाम्रो प्राज्ञिक क्षेत्रमा । पहिले पर्खाल, सेक्युरिटी गार्डको व्यवस्था, सौन्दर्यकरणका बाँकी काम प्राथमिकतामा भएकाले साइकलसँग सम्बन्धित सानातिना काम मातहतका विभागसँग मिलेर गर्नु भन्नुहुन्छ । भिसी सरले ठीकै भन्नुभयो, यस मुलुकमा तलबाटै, स–साना निकायबाटै काम गर्नुको विकल्प छैन । त्यसपछि सानातिना साइकल तथा सार्वजनिक अभियानमा सरिक भइरहेकै छु । 

त्रिविभित्र साइकल कम्युनिटी अहिलेसम्म अस्तित्वमा देखिन्न । विश्वविद्यालयबाहिर भने साइकल कम्युनिटी थुप्रै छन् । विश्वविद्यालयबाहिरका साइकल अभियन्ता विश्वविद्यालयभित्र प्रवेश गर्न सकेका छैनन् । साइकल संस्कृतिबारे प्राज्ञिक हिसाबले बहस छेड्न बाँकी छ । संसारमा ठूला काम ‘साना’ मानिसले गर्छन् । ‘ठूला’ मानिसले गफ बढी गर्छन् । साना मानिसको अनवरत परिश्रम र पसिनाले देश चलेको छ । ‘ठूला’ मान्छे ‘मेरो सानो दुःखले अज्र्याको होइन मुलुक’ भन्छन् । मैले यसो गरेँ, उसो गरेँ भन्छन् । देशका प्रमुख, प्रधानमन्त्री, मन्त्रीहरूले आजसम्म साइकल वा सार्वजनिक यातायातलाई काठमाडौंको भविष्य ठानेका छैनन् ।

सार्वजनिक सवारीसाधन प्रयोगकर्ता, पैदल–यात्री, साइकल–यात्रीलाई सहरको सौन्दर्य मानेका छैनन् । महँगा होस् वा सस्ता, निजी मोटरकार सहरको सौन्दर्य हुँदै होइनन् । काठमाडौंका आधा जनसंख्याले इन्धनको दोहन गर्ने निजी सवारीसाधन नियमित चलाएमा काठमाडौं उपत्यका मानव बस्न लायक रहन्न । सारा सडक इन्धन दोहनवाला मोटरकेन्द्रित बनाइएका छन् । विशाल चक्रपथ मानवमैत्री बन्न सकेन । ज्यानमारा सडकमा निकै धनजनको क्षति भइसक्यो । सरोकारवाला सुतिबसेका छन् । यी विषय विश्वविद्यालयभित्र प्रवेश गराउन ढिला भइसक्यो । बाहिर जति अभियान हुँदै छन्, विश्वविद्यालयभित्र उत्तिकै, अझ सके बढी अभियान हुनुपर्ने हो । सिर्जनात्मक अभियानका लागि विश्वविद्यालय सबैभन्दा उर्वर भूमि हो । बिचौलियाविरुद्ध सबैभन्दा सशक्त आवाज बुलन्द गर्ने स्पेस पनि विश्वविद्यालय नै हो । यस्ता अभियान स–साना स्तरबाटै सुरु गर्नुपर्ने रहेछ । 

त्रिविभित्र साइकल कम्युनिटी विकास गर्न सकिन्छ । प्राध्यापक, विद्यार्थी, कर्मचारीले विशिष्ट कम्युनिटी विकास गरी काम गर्नुपर्छ । महिलाले अलग्गै साइकल कम्युनिटी बनाउन सक्लान् । केन्द्रमा नभए पनि बाहिर आंगिक क्याम्पसमा थुप्रै साइकलप्रेमी छन् । एकजनाले साइकल चलाउँदा सडक सुरक्षित महसुस हुन्न । जब सयौँ साइकलयात्री सडकमा देखा पर्दछन्, जो–कोहीमा साइकलमा यात्रा गर्ने हिम्मत आउँछ । जुनसुकै उद्देश्यका लागि, जस्तोसुकै मौसममा साइकल यात्रा सम्भव छ । त्यसका लागि केवल साइकल संस्कृति चाहिन्छ । पैदलयात्री, साइकल–यात्री, सार्वजनिक सवारी यात्रीलाई सम्मान गर्ने संस्कार चाहिन्छ । सडक तीन हजारको साइकल चढ्ने होस् कि तीन करोडको कार चढ्ने, सबैको बराबर हो । पैदलयात्रीको पनि सडक बराबर हो । विदेशी इन्धन दोहन नगर्ने पो महान् यात्री ।

काठमाडौंको आधा जनसंख्याले इन्धनको दोहन गर्ने निजी सवारीसाधन नियमित चलाए काठमाडौं उपत्यका मानव बस्न लायक रहन्न । सारा सडक इन्धन दोहनवाला मोटरकेन्द्रित बनाइएका छन् । विशाल चक्रपथ मानवमैत्री बन्न सकेन । 

इन्धन बाल्दै राष्ट्रको सम्पत्ति स्वाहा पार्नेहरूभन्दा बोसो पगाल्दै पसिना बगाउने मानिस कसरी कनिष्ट ? अहिले दैनिक ३०–४० किलोमिटर यात्रा गर्नका लागि सहजै सम्भव अत्याधुनिक साइकल अस्तित्वमा छन् । जबकि उपत्यकामा ८० प्रतिशतभन्दा बढी यात्रा १० किमिभन्दा कम रहेको आँकडा छ । औसत यात्रा दूरी पाँच किमिभन्दा कम देखिन्छ । नेपालमा साइकलका लागि मौसम, भूगोल र समय सबै सहज देखिन्छ । जम्मा १० देखि ३० मिनेटको यात्रा गर्न किन चाहियो, मोटरवाला सवारीसाधन, सान देखाउन ? आवश्यक पर्दा खटाइ–खटाई विद्युतीय ऊर्जालाई प्रयोग गर्न सम्भव सामान्य साइकल नेपाली बजारमै सहजै उपलब्ध छन् । यस्ता साइकल महँगा निजी मोटरवाला सवारीसाधनको सहज विकल्प हुन् । उपत्यकाभित्र यस्ता साइकलले झन्डै शतप्रतिशत मोटरवाला निजी सवारीसाधन प्रयोगलाई विस्थापित गर्न सक्छ । जसको फाइदा अनगिन्ती छन्, एकाध झन्झट अपवादमा भइजान्छ । यसर्थ, अबको आवश्यकता भनेको अभियान नै हो । दुईबाट चार, चारबाट आठ गर्दै विश्वविद्यालयभित्र प्राध्यापक–विद्यार्थी–कर्मचारी साइकल साथी बढाउँदै लान सकिएमा तलबाटै क्रमशः साइकल संस्कृति विकास हुनेछ ।

विविन्न विभाग, अफिस, सार्वजनिक स्थलमा साइकल पार्किङ (स्ट्यान्ड) जस्ता सामान्य तर अत्यावश्यक प्रारम्भिक संरचना निर्माण गर्दै लान सहजै सकिन्छ । एउटा साइकल स्ट्यान्ड निर्माण गर्न पाँच हजार पनि पर्दैन । त्रिविमा अहिलेसम्म एउटा पनि साइकल स्ट्यान्ड अस्तित्वमा देखिन्न । हामी कक्षाकोठासम्म सुरक्षाका लागि साइकल बोकेर लान्छौँ, अर्को सेक्सनमा जाँदा उतै लान्छौँ । विश्वविद्यालयमा साइकल सुरक्षाको सास्ती छ । अहिले बल्ल अंग्रेजी विभागीय प्रमुखलाई साइकल स्ट्यान्ड स्थापनाका लागि निवेदन दिएका छौँ । त्रिवि कीर्तिपुरमा प्राध्यापन गरेको १३ वर्ष भइगयो । आजसम्म साइकल चढेर नियमित विश्वविद्यालय आवतजावत गर्ने एकजना प्राध्यापक साथी भेटिन्न । सम्पन्न मुलुकका प्राध्यापक अधिकांश साइकलमा विश्वविद्यालय आवतजावत गर्छन्, हिमपात, झरी, अति चिसोमा पनि ।

विद्यार्थीका लागि त अझ साइकल आवतजावतका लागि अपरिहार्य सवारीसाधन हो । विपन्न मुलुक नेपालमा विश्वविद्यालयमा नियमित साइकल चढ्ने व्यक्ति शून्यझैँ देखिनु विश्वको आठौँ आश्चर्य होइन र ? यस विषयमा विश्वविद्यालयमा आजसम्म केही मिनेटको बहस पनि भएको भेटिन्न । अझ स्नातकोत्तर, एमफिल, विद्यावारिधि डिग्रीधारी साइकल संस्कृतिसँग निकै पर पुगेका छन् । के साइकलसँग नाता तोड्नु नै सभ्यताको प्रतीक हो ? यस्तो वाइयात सभ्यताको मानक कसरी स्थापित बन्यो ? यस मानकलाई भत्काउन अबेर भइसक्यो । सम्भ्रान्तताको मापन पैदल वा साइकलसँगको नाता तोड्नुसँग सम्बन्धित छैन । त्रिविमा १६ हजार प्राध्यापक–कर्मचारी, पाँच लाख प्लस विद्यार्थी छन् । अलुम्नाई पचासौँ लाख छन् । यिनीहरू साइकलप्रेमी बन्न सके नेपालमा साइकल संस्कृतिको पुनर्जागरण स्वतः सम्भव हुन सक्छ । तर, त्रिविका साइकल चढ्ने विद्वान् मित्रहरू पनि क्रमशः साइकल संसारबाट विस्थापित बनेका छन् । हिजो अभी सुवेदीहरू नियमित साइकलमा विश्वविद्यालय आवतजावत गर्थे । हुनेखाने, शासक र सम्भ्रान्तको सोखको सवारीसाधन पनि थियो, साइकल । हर्कुलस हुँदै एभन, रली, एटलस, हिरो, बिएसए, फोनिक्सबाट अहिले अति उच्चस्तरका साइकल विश्वभर स्थापित साधनको रूपमा देखा परेका छन् । हाम्रा विश्वविद्यालयभित्र भने साइकल लोपोन्मुख प्राणीमा प्रमाणित हुन खोज्दै छ । 

अंग्रेजी केन्द्रीय विभाग कीर्तिपुरमा प्राध्यापनरत दिवाकर उपाध्यायलाई वेलावेला झोँक चल्दो रहेछ । एकपटक कार किन्ने झोँक चलेछ । कार सोरुमहरू चहारेछन् । त्यसपछि कार आजै किन्नुस्, अफर छ भन्दै युवायुवतीले फोन गरेर हैरान गराएछन् । अति भएपछि उनले सिमकार्ड नै परिवर्तन गरी साइकल किनेका थिए । नेपालटारबाट हात्तीवन बिहान पढाउन जान्थे, साइकलबाट १४ किलोमिटर । तीन घन्टा पढाउँथे । थकान पनि मथ्र्यो । अनि त्रिवि कीर्तिपुर आउँथे, १३ किलोमिटर । पुनः तीन घन्टा पढाउँदा थकान मथ्र्यो । अनि पुग्थे १० किलोमिटर पर, नेपालटार । दैनिक ३७ किलोमिटर सामान्य गेयरवाला साइकल हाँक्दा उनको सुगर रोग पूरै नियन्त्रणमा थियो । लकडाउनमा साइकल नचलाउँदा उनको सुगर लेभल खाना नखाँदा पनि चार सय ४० पुग्न थाल्यो ।

नियमित ६ एमजी औषधि खान बाध्य भए । उनी पुनः साइकल संसारमा फर्कंदै छन् । दैनिक ४० किलोमिटर साइकल चलाउने उनमा हिम्मत बाँकी नै रहेछ । विद्युत् शक्ति आवश्यकताअनुसार प्रयोग गर्न मिल्ने साइकलमार्फत मोटरजडित सवारीसाधनलाई बाइबाई गर्ने अन्तिम तयारीमा उनी भेटिए, भर्खरै । विभागका अर्का मित्र शंकर सुवेदीले पनि साइकलमा विश्वविद्यालय आवतजावत गर्ने कोसिस गरेका थिए । साइकल स्ट्यान्ड नहुँदा दिवाकर सरले झैँ उनी कहिले साइकललाई लामो सिक्रीले रूखमा बाँध्थे, कहिले प्राध्यापक कक्षभित्रै बोकेर ल्याउँथे । उनले पनि अलि समयपछि हिम्मत हारे, साइकल चढ्न चटक्कै छाडिदिए ।

कोरोनाको दोस्रो लहरमा हट्टाकट्टा उनी अचानक बितिगए । मलाई लाग्छ, उनले नियमित साइकल चलाइरहेका भए, कोरोनालाई जित्ने स्टामिना उनीसँग सञ्चित रहन्थ्यो कि ? विश्वविद्यालय जाँदा नियमित साइकल चलाएका भए सहकर्मी मित्र शंकर अहिले जीवित भेट्थेँ कि भन्ने लागिरहन्छ । विश्वविद्यालयभित्र अहिले मेरो एकजना पनि साइकल साथी छैनन् । विश्वविद्यालयबाहिर सयौँ साइकल साथी छन् । दिवाकर दाइलाई पुनः साइकल संसारमा फर्काउन सके एकजना भए पनि साइकल साथी त्रिवि केन्द्रभित्र भेटिन्थे भन्ने लाग्छ । विद्युत् शक्तियुक्त साइकल उनले चढेमा बढी क्यालोरी बर्न भएर गाह्रोसाह्रो पर्दा मात्र निश्चित प्रतिशत ब्याट्रीलाई प्रयोग गरे भइहाल्यो । हेर्दा पूर्ण रूपमा साइकल, यद्यपि आवश्यकताअनुसार ब्याट्रीको प्रयोग गर्ने गरी उपत्यकाका जुनसुकै स्थानमा मोटरकै विकल्पमा साइकललाई प्रयोग गर्ने मेरो पहिलो साइकल साथी उनलाई बनाउने सपना छ । जुनसुकै उमेरसमूहका मानिसले जुनसुकै कामका लागि साइकल नियमित प्रयोग गर्न सकिने उत्तम विकल्प नमुना उनी सहजै बन्न सक्छन् । 

अन्ततः नेपालीजन साइकलप्रेमी नै हुन्, दुईमत छैन । हिमाल, पहाड, तराई, जहाँतहीँ साइकलप्रेमी छन् । तराई त साइकलको स्वर्णभूमि नै हो । विविधताले भरिपूर्ण पहाड साइकल रोमान्सकी रानी हो भने हिमाल साहसिक यात्राकी खानी हुन् । सारा नेपालीजनको जीवनसँग साइकल एक हिस्सा बनेर जोडिएको पाइन्छ । यसो साइकलबारे कुरा झिक्नुस्, कुनै न कुनै किस्सा जोडेर जोकोही गफिन थाल्छन् । बालबालिका साइकल देखेपछि हुरुक्कै हुन्छन् । सामान्यजनको सबैभन्दा सशक्त–शक्तिशाली सवारीसाधन सधैँ–अझै साइकल नै हो । साइकल कथाले भरिपूर्ण नेपालमा साइकल संस्कृति जीवितै छ । थुप्रै अभियान अस्तित्वमा आएका छन् । यसलाई बचाउन, हुर्काउन र बढाउन हाम्रा विश्वविद्यालयले साइकल अभियानका विविध आयाम पर्खिबसेको छ ।