Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ कार्तिक २९ सोमबार ०७:२६:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मुस्ताङमा भीषण हिमपहिरो : त्रासले भागदौड हुँदा ११ शिक्षक–विद्यार्थी घाइते

Read Time : > 1 मिनेट
२०७८ कार्तिक २९ सोमबार ०७:२६:००

मुस्ताङको थासाङ गाउँपालिका– २ भुर्जङको माथिल्लो क्षेत्रमा आइतबार भीषण हिमपहिरो गएको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार धौलागिरि हिमाल क्षेत्र हुँदै बिहान ११:४० बजे पहिरो खसेको हो ।पहिरोमा परेर कुनै मानवीय क्षति नभएको, तर त्रासले भागदौड हुँदा ११ शिक्षक–विद्यार्थी घाइते भएको शर्माले बताए । माथिबाट पहिरो खस्दै गरेको देखेपछि कोवाङ गाउँस्थित जनआदर्श अमरसिंह विद्यालयका शिक्षक–विद्यार्थीको भागाभाग भएको थियो । 

घाइतेहरू अनु देसार, अनुसा खत्री, संगम बरुवाल, मिलन पुन, अमृता रोकाया मगर, सुजिना केसी, वीरेन्द्र लामिछाने, अनुष्का विक, स्नेहा किसान, कोरिसा विक र सुशीला थापाको जिल्ला अस्पताल जोमसोममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रवक्ता इन्स्पेक्टर प्रताप पौडेलले बताए । स्थानीयलाई उद्धृत गर्दै उनले भने, ‘सुरुमा माथिबाट सानो हिउँपहिरो झरेको थियो । तल आउँदै गर्दा ठूलो हुँदै गयो । ठूलो हावाहुरी र आवाजसहित हिमपहिरो झरेपछि विद्यालयका विद्यार्थी र शिक्षकको भागाभाग भएको थियो ।’

हिमपहिरो गएको क्षेत्रमा चौँरी र याक चराउने खर्क रहेकाले पुरिएको हुन सक्ने प्रहरी प्रवक्ता पौडेलले बताए । ‘दुई परिवारले गोठ बनाएर ६५ वटाजति चौँरी र याक राखेको स्थानीयले जानकारी दिएका छन् । त्यसैले ठूलो संख्यामा क्षति भएको हुन सक्छ,’ उनले भने, ‘अरू गाउँका कसैले राखेका थिए कि थिएनन् खुलेको छैन । हिउँले लछारेकोबाहेकको भागमा भने चौँरी र याक चरिरहेका देखिएको जानकारीमा आएको छ ।’ 

हिमपहिरोले कोवाङ गाउँका घरमा क्षति पुगेको हुन सक्ने गाउँपालिका उपाध्यक्ष बालकुमारी शेरचनले बताइन् । ‘थवाङका केही घरमा क्षति पुगेको भनिएको छ । रमला तुलाचनको घरमा क्षति भयो भनेर फेसबुकमा लेखेका छन् । यकिन भने भएको छैन,’ उनले भनिन् । प्रहरी प्रवक्ता पौडेलले भने थवाङ गाउँका २५ घरमा पहिरोको हिउँ आइपुगे पनि क्षति नभएको बताए । जिल्ला सदरमुकाम मुस्ताङबाट पहिरो स्थलमा पुग्न एक घन्टा लाग्छ । तर, नजिक जाने अवस्था नभएको प्रहरीले जनाएको छ ।