मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक २९ सोमबार ०६:२८:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

हैजाविरुद्धको खोप आयो, आइतबारबाट खुवाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक २९ सोमबार ०६:२८:००

कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणका लागि अमेरिकाबाट मगाइएको ‘ओरल कलेरा भ्याक्सिन’ नेपाल आइपुगेको छ । दुई लाख ५२ हजार तीन सय ६३ डोज हैजाविरुद्धको खोप आएको हो । विश्व स्वास्थ्य संगठनले आइतबार साँझ स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गरेको छ । गत १८ असोजदेखि कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणमा नआएपछि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागिएको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र नेपाल सरकारको अनुरोधमा खोप नेपाल आएको हो । कपिलवस्तुमा पहिलो केस १८ असोजमा देखिएको थियो । त्यसयता नियन्त्रणमा लिन सरकारी चिकित्सकले हरसम्भव प्रयास गरेका छन् । तर, हैजा नियन्त्रणमा नआएपछि खोपको विकल्प खोजिएको हो । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार हैजाबाट कृष्णनगर नगरपालिका वडा नम्बर ७, ८ र ९ प्रभावित भएको छ । उनीहरूमा अहिले पनि झाडापखाला र बान्ताको समस्या देखिएको छ । हालसम्म एक हजार तीन सय ६४ जना संक्रमित भएका छन् भने सातजनाको मृत्यु भएको छ । प्रवक्ता पौडेलले आगामी आइतबार प्रभावितलाई खोप खुवाइने बताए ।

पहिलोपटक हैजाविरुद्धको खोप दिन लागेकाले स्वास्थ्यकर्मीलाई तालिम आवश्यकता पर्ने भएकाले एक साता समय लागेको अधिकारीहरूले बताएका छन् । कपिलवस्तुका प्रभावित क्षेत्र कृष्णनगरमा ६० हजार सात सय ४३ जना, महाराजगन्जमा ५३ हजार एक सय ५६ जना, शिवराजमा ६४ हजार सात सय ७८ जना, विजयनगरमा ३५ हजार नौ सय तीनजना र यशोधरामा ३७ हजार सात सय ८३ जना गरी दुई लाख ५२ हजार तीन सय ६३ जनालाई हैजाविरुद्ध खोप खुवाइँदै छ ।