मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ कार्तिक २८ आइतबार १५:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कार दुर्घटनामा ज्यान गुमाउने भारतीय नागरिकहरूको सनाखत

Read Time : < 1 मिनेट
२०७८ कार्तिक २८ आइतबार १५:०१:००

कार दुर्घटनामा ज्यान गुमाएका चारै भारतीय नागरिकको सनाखत भएको छ। शनिबार राति भारतीय नम्बर प्लेटको कार रौतहटमा दुर्घटना हुँदा चारजनाको ज्यान गएको थियो। चन्द्रनिगाहपुर–गौर सडकखण्डको यमुनामाई गाउँपालिका–५ जुनखुनुवामा शनिबार राति करिब १० बजेतिर कार दुर्घटना हुँदा चार पुरुषको मृत्यु भएको हो।

मृत्यु हुनेहरूमा भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लाको पताही थानाअन्तर्गत बखरी बेतौना घर भएका २९ वर्षका अरुण साह, २९ वर्षकै दीनानाथ साह, २७ वर्षका दिलीप साह र २८ वर्षका अमित महतो रहेका जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विनोद घिमिरेले जानकारी दिए। 

रौतहटको देवाही गोनाही नगरपालिका– ४ का नरेश साहको घरमा छठ पूजाको प्रसाद लिएर आएका उनीहरू फर्कने वेलामा दुर्घटना हुँदा ज्यान गएको प्रहरीले जनाएको छ। एसपी घिमिरेका अनुसार युके १२ सी २९०० नम्बरको कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा भेटिएको थियो।

कारको सिसा फोडेर उनीहरूलाई बाहिर निकालेर अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहरूले चारैजनालाई मृत घोषणा गरेका घिमिरेले जानकारी दिए। सडकछेउको पानीको खाल्डोमा कार खसेपछि उनीहरूको खाल्डोको पानीमा डुबेर ज्यान गएको बताइएको छ। दुर्घटनाको केही समयपछि बम नहरनजिकै नियमित ड्युटीमा रहेको प्रहरीले दुर्घटनाको खबर थाहा पाएको र लगत्तै जिल्ला प्रहरी कार्यालयबाट थप मद्दत मागेर करभित्र रहेकाहरूलाई बाहिर निकालिएको थियो ।

मृतक चारैजनाको शव पोस्टमार्टमपछि भारतीय सुरक्षाकर्मीको समन्वयमा आफन्तको जिम्मा लगाइएको छ। दुर्घटनामा परेको कारलाई क्रेनको सहायताले राति नै पानीबाट निकालिएको थियो।