मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मञ्जु भट्ट
२०७८ कार्तिक २८ आइतबार ०८:४२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मोबाइलमा मस्त हुने कि काममा व्यस्त ?

Read Time : > 2 मिनेट
मञ्जु भट्ट
२०७८ कार्तिक २८ आइतबार ०८:४२:००

केही महिनाअघि एकजना अभिभावकले मोबाइलमा म्यासेज पठाउनुभयो– म्याम, छोराछोरीले पब्जी र फ्री फायर खेलेर हैरान पारे । उनीहरूका साथीहरू पनि त्यसमै व्यस्त देखिन्छन् । यसले सबैलाई बिगारिसक्यो । तपाईं केही गर्न सक्नुहुन्छ ? उहाँको अनुरोध थियो । युवाहरू बरालिएको तथा पढाइमा असर परेको भन्दै भारतले पब्जी बन्द गरिसकेको छ । आफ्ना पनि धेरै नातेदार, भाइहरू भारतमै बस्ने हुँदा र पब्जीमै रमाउने हुँदा बन्द भएपछि मैले खुसी व्यक्त गरेँ । सँगै काम गर्ने एकजना सहकर्मी ‘बरु नेपालमा बन्द भएको भए हुन्थ्यो, मेरा भाइबुहारीले घरमा पब्जी खेलेर हैरान पारे’ भन्दै हुनुहुन्थ्यो ।

म बस्ने घरअगाडि सानो किराना पसलभित्रै चिया पनि बनाउने गरिएको छ । चिया पिउने निहुँले कलेज पढ्ने केटाहरूको बेलुकी ३ बजेदेखि त्यहाँ भिड लाग्न थाल्छ । आठ–दशजना केटाहरू न मास्क, न कुनै भौतिक दूरी, चुरोट पिउँदै घन्टौँ मोबाइलमा व्यस्त भएका देखिन्छन् । लकडाउनमा पसल बन्द भएको वेला पनि पसलेहरू त्यही घरमै बस्ने भएकाले केटाहरू घरभित्रै गएर दिनभरि गेम खेलेर बस्थे । पसलेले आफ्नो पसल भने पूरै प्लास्टिकले घेरेका छन् । पसलको बाहिरपट्टि सडकको छेउमा भने केटाहरू चिया, चुरोट, गुट्खा, तमाखु खाँदै थुक्दै दायाँ–बायाँ नहेरी घन्टौँ मोबाइलमा झुम्मिएका हुन्छन् । बस्तीको बीचमा यस्ता काममा व्यस्त युवाहरूबाट समाजमा बस्ने केटाकेटीले के सिक्ने ?

सहरमा पनि घरवरिपरि धेरैजसो ठाउँमा घडेरीहरू खाली नै देखिन्छन् । छेउमै युवाहरू चुरोट तानेर धुवाँ उडाउँदै, चिया पिउँदै घन्टौँ गफिइरहेका देखिन्छन् । पढ्ने पनि सीप सिक्नकै लागि हो भन्ने थाहा भए पनि परिवारसँग मिलेर खाली रहेको जग्गामा सागपात लगाउने जाँगर चलाएको भने कतै देखिँदैन । कोरोना भाइरसका कारण घर फर्केका युवाहरू पनि आफ्नो जमिन बाँझै छोडेर वा अर्काको हातमा सुम्पेर परदेश हिँड्न थालिसकेका छन् । मलिला अन्न फल्ने खेतहरू पनि परिश्रमी हातहरूको अभावमा वनमाराले भरिएका छन् । कुलो लगाएर रोपाइँ हुने खेतहरू अहिले चरिचरनमा परिणत भएका छन् । हाम्रै आमाबुबाका पालामा आलु, प्याज, गोलभेँडा, काउलीजस्ता तरकारी फलाएर बेच्ने किसानहरू अहिले तिनै तरकारी त्यही ठाउँमा किनेर खान थालेका छन् । 

गाउँमा बसेर शारीरिक श्रम बढी गर्नुपर्ने कारणले पनि युवाहरू डराउन थालेका छन् । आफ्नै दौँतरीहरू सुकिला–मुकिला लुगा लगाएर हातमा मोबाइल र कानमा इयरफोन झुन्ड्याएर परदेशबाट घर फर्केको देखेपछि गाउँको माटोमा काम गरी उमेर नपुग्दै बूढा देखिने युवाहरू आफ्नै साथीहरूका अगाडि पर्न पनि लजाउँछन् । उनीहरूमा एक प्रकारको हीनताबोध देखिन्छ । समाजले पनि आफ्नै गाउँठाउँमा बसेर घरको देखभालसँगै कृषि, व्यवसाय गर्नेहरूभन्दा पनि परदेशबाट आउनेलाई बढी महŒव दिने गर्छ । गाउँमा काम गरेर बस्ने युवाहरूलाई स्थानीय सरकार तथा जनसमुदायले उच्च सम्मानसाथ हेर्नु जरुरी छ । कतिपय स्थानीय तहहरूले कृषि पेसामा लागेका युवालाई सम्मान गर्दै प्रोत्साहितसमेत गर्न थालेका छन् । यस्ता सम्मान तथा आर्थिक सहयोग देशका अन्य ठाउँमा पनि कृषिमा संलग्न युवालाई गर्नु आवश्यक छ । युवाहरूले पनि बुझ्नु जरुरी छ कि अहिलेको समयमा युट्युबजस्ता च्यानलहरूबाट आफूले गर्न खोजेको जुनसुकै कामको पनि भिडियो हेरेर आधुनिक तरिकाले खेतीकिसानी, जुनसुकै पेसा व्यवसाय गर्न सजिलो भएको छ । युवाको ध्यान यतातिर जानु जरुरी छ ।

पब्जी, फ्री फायरजस्ता खेल खेल्न एकै समयमा धेरैजना चाहिने हुँदा धेरै युवाले आफ्नो उर्वर समयलाई अनुत्पादक काममा नष्ट गरिरहेका छन्

सरकारले पनि कृषि, पेसा, व्यवसाय, उद्योगधन्दा गर्नेलाई एकदमै सस्तो वा निब्र्याजी ऋण प्रवाह गरिरहेको छ । तर, देश निर्माणमा मुख्य पिलर ठानिने युवाहरू भने ऋण लिएर पेसा व्यवसाय सञ्चालन गर्न हिच्किचाइरहेका छन् । कतिपय युवा आफूले उत्पादन गरेका वस्तुहरूको बिक्री वितरण गर्न यातायात तथा बजार व्यवस्था नहुँदा खतरा मोल्न डराउने गरेका छन् । डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, रुकुम, मनाङ, मुस्ताङलगायत जिल्लामा उत्पादित स्याउ काठमाडौंलगायत सहरमा ढुवानी हुन नसक्दा भारत, चीन तथा अमेरिकाबाट समेत आर्थिक वर्ष ०७६/७७ मा मात्रै चार अर्ब ६० करोड ८४ लाख रुपैयाँबराबरको स्याउ आयात भएको छ । अहिले पनि नेपाली स्याउको ढुवानी र बजार सुनिश्चित हुन नसक्दा उपभोक्ता महँगो मूल्य तिरेर विदेशी स्याउ खान बाध्य छन् ।

शरीरमा तागत र जाँगर भएका युवायुवतीहरू पब्जी, टिकटकमा व्यस्त भएका देखिन्छन् । टिकटक बनाउन धेरैजना नचाहिने र यसले आफ्नो कला प्रस्फूटन गर्न सहयोग गर्ने भए पनि पब्जी, फ्री फायरजस्ता खेल खेल्न एकै समयमा धेरैजना चाहिने हुँदा धेरै युवाले आफ्नो उर्वर समयलाई अनुत्पादक काममा नष्ट गरिरहेका छन् । दुई वर्षअगाडि सरकारले इन्टरनेटका अश्लील साइटहरू बन्द गरेको थियो । शारीरिक तथा मानसिक रूपमा युवायुवती र किशोर–किशोरीहरूको सिर्जनशीलतामा क्षति पुर्‍याइरहेका पब्जीजस्ता थुप्रै अनलाइन खेलहरू सरकारले बन्द गर्न सकेको खण्डमा सबैलाई फाइदा पुग्ने थियो, किशोर–किशोरीमा लुकेका विभिन्न प्रतिभा प्रस्फूटन हुन उचित वातावरण मिल्ने थियो ।