मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका कञ्चनपुर
२०७८ कार्तिक २५ बिहीबार १७:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस नेता साउद भन्छन्– हामी कम्युनिस्टजस्तो भोटको व्यापारी होइनौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
२०७८ कार्तिक २५ बिहीबार १७:२५:००

कांग्रेस नेता एनपी साउदले कम्युनिस्टजस्तो भोटको व्यापारी कांग्रेस नभएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर–२ स्थित कृष्णपुर नगरपालिकामा आरक्ष पीडितसँगको अन्तरक्रियामा साउदले कांग्रेसले इमान नभएको राजनीति नगर्ने बताए । 

शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको राष्ट्रिय निकुञ्ज)बाट विस्थापितहरूको पुनस्र्थापनाका नाममा २२ वर्षदेखि भोट राजनीति भएको भन्दै अब कांग्रेसले यो समस्या समाधान गर्ने साउदको भनाइ छ । ‘भूमि अधिकारलाई संविधानले मौलिक अधिकारको रूपमा सुनिश्चित गरेको छ । यो भूमिको अधिकार हरेक नागरिकले पाउनुपर्छ,’ साउदले भने, ‘हामी भोटका व्यापारी होइनौँ । इमान नभएको राजनीति गर्न हामीले जानेका छैनौँ ।’ 

कांग्रेसले आरक्षपीडित तथा भूमिहीनका समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै उनले कञ्चनपुरमा तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित आरक्षपीडितका नाममा कटान भएको जग्गा अरूले नै कब्जा गरिसकेकोमा चिन्ता व्यक्त गरे । ‘आरक्षपीडितका नाममा कटान भएको जग्गा अरूले नै कब्जा गरिसके । आरक्षपीडित हेरेको हेर्यै भए । विवेकले जुनी एकै हुन्छ । अर्को जुनीका लागि सपना सजाएर मात्र यो समस्या समाधान हुन सक्दैन,’ साउदले भने, ‘शासन गर्नका लागि मात्र राज्य बनेको छ भने त्यो राज्य अर्थहीन छ । राज्य समाजको गोठालो हो ।’ 

विगत २२ वर्षदेखि आरक्षपीडितका समस्या समाधान हुन नसकेकोप्रति उनले दुःख व्यक्त गरे । ‘२२ वर्ष भइसकेको छ । मलाई पनि पीडा छ,’ साउदले भने । 

सरकारले आरक्षपीडितको समस्या समाधान सहज बनाउन मुआब्जा दिने निर्णय गरेपछि धेरै समस्या समाधान भएको उनले जिकिर गरे । ‘समस्या समाधान होस् । कसैको घर बनोस्, जग्गा बनोस् । न बिजुली छ, न खानेपानी छ,’ साउदले भने, ‘दशकौँदेखि एउटै पीडा भोगिरहेका छन् । अब त्यो समस्या समाधान हुन्छ । दुई चारजनालाई जागिर दिने उद्देश्यमा कांग्रेस छैन ।’