१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ कार्तिक २४ बुधबार ११:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनकपुरसहित मिथिला क्षेत्रमा छठ पर्वको रौनक

Read Time : < 1 मिनेट
२०७८ कार्तिक २४ बुधबार ११:३१:००

जनकपुरसहित मिथिला क्षेत्रमा अहिले छठ पर्वको रौनक छ । छठ पर्वको चौथो र मुख्य दिन मानिने आज व्रतालु निराहार व्रत गरिरहेका छन् । आज साँझ नै उनीहरूले  पवित्र जलाशयमा सजाइएको घाटमा मिष्ठान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् ।

यसअघि व्रतालुले कार्तिक शुक्ल तृतीयाका दिन ‘अरबा अरबाइन’, चौथीका दिन ‘नहाय–खाय’ र पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिसकेका छन् । श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँ, नगर, बस्ती अहिले दुलहीझैँ सिँगारिएका छन् । जनकपुरका पोखरीहरू अहिले छठको गीत र सजावटले झकिझकाउ भएको छ ।  खासगरी जलाशयमा बनाइएका घाट अत्यन्त मनमोहक देखिएका छन् । व्रतालुले भोलि सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि  छठपर्व विधिवत रूपमा समापन हुनेछ।

यसअघि गत आइतबार उसिनेको चामल, माछा–मासु, मुसुरो, लसुन–प्याज र व्रतमा अशुद्ध मानिएका भोजन त्यागेर व्रतालुले ‘अरबा अरबाइन’, सोमबार पवित्र स्नान गरेर चोखो खाएर व्रत संकल्प गर्दै ‘नहाय–खाय’ र हिजो मंगलबार पञ्चमी तिथिका दिन राति एक छाक मात्र अलिनो खाएर ‘खरना’ विधि सम्पन्न गरेका थिए । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा वास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही वेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।