मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
आकर्षक ब्याजको आसमा सिभिल सहकारीमा जम्मा गरेको रकम डुबेपछि छलफलमा जुटेका पीडित निक्षेपकर्ता । फाइल तस्बिर
टेकराज थामी काठमाडौं
२०७८ कार्तिक २४ बुधबार ०९:५३:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सिभिल सहकारी ठगी प्रकरण : सहकारीको रकम ठग्न २१ कम्पनी खडा

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडौं
२०७८ कार्तिक २४ बुधबार ०९:५३:००

विनाधितो कम्पनीका नाममा कर्जा लिई व्यक्तिको खातामा जम्मा

निक्षेपकर्ताबाट उठाएको रकम ठग्न सिभिल सहकारीका संस्थापक अध्यक्ष तथा पूर्वसांसद् इच्छाराज तामाङले २१ कम्पनी खडा गरेको खुलेको छ । जसमध्ये एउटा सिभिल बैंक लिमिटेड हो । जहाँ इच्छाराजको ५० करोड रुपैयाँ मूल्यबराबरकोे सेयर लगानी रहेको छ । 

डिआइजी धीरजप्रताप सिंह प्रमुख, सिआइबी 

निक्षेपकर्ताबाट उठाएको रकम ठग्न सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङले २१ वटा कम्पनी खडा गरेका रहेछन् । ती २१ वटा कम्पनीको नाममा निकालिएको रकम इच्छाराज, उनकी श्रीमती र सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठको नाममा राखिएको पाइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार इच्छाराजले विनाधितो कम्पनीको नाममा निकास गरेको रकम भने विभिन्न बैंकस्थित व्यक्तिगत खातमा ट्रान्सफर गरेका थिए । यसका लागि इच्छाराजले विभिन्न बैंकमा ४५ भन्दा धेरै खाता खालेका थिए । जसमध्ये अधिकांश खाता इच्छाराज, उनीकी श्रीमती सिर्जना शाक्य र सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठको नाममा खोलिएको पाइएको छ । 

सिआइबी प्रमुख डिआइजी धीरजप्रताप सिंहले २१ वटा कम्पनीको नाममा निकालिएको रकम तिनै व्यक्तिगत खातामा ट्रान्सफर गरिएको बताए । ‘इच्छाराजले सहकारीको रकम विभिन्न २१ वटा कम्पनीको नाममा निकासा गरेको देखिन्छ । कम्पनीको नाममा कारोबार पनि भएका छन् । तर, ती रकम कम्पनीमा फिर्ता भएका छैनन्,’ डिआइजी सिंहले नयाँ पत्रिकासँग भने, ‘अनुसन्धानको क्रममा सबै रकम व्यक्तिगत खातामा जम्मा भएको र ती खाता इच्छाराज, उनकी श्रीमती र केशवलालको नाममा खोलिएको पाइएको छ ।’

प्रहरीका अनुसार रकम निकासापछि कम्पनीको नाममा ठूलो कारोबार भएका छन् । तर, कम्पनीले आर्जन गरेको सबै रकम व्यक्तिगत खातामा गएका छन् । नाफा मात्र नभई सावाँ रकमसमेत व्यक्तिगत खातामा गएको हुँदा कम्पनी सधैँ ऋणमा रह्यो । सोहीकारण कम्पनीले सहकारीको रकम फिर्ता गर्न सकेन । र अन्ततः सहकारी डुब्न पुग्यो । 

मुद्दा अदालत नपुग्दै सम्पत्ति फिर्ता गर्ने कसरतमा प्रहरी
निक्षेपकर्ताको डुबेको रकम सकेसम्म चाँडो उठाउने कसरतमा प्रहरीले लागेको छ । अदालती प्रक्रियाबाट डुबेको रकम फिर्ता लिन झन्झटिलो हुने भएकाले प्रहरी यस्तो कसरतमा लागेको हो । यसका लागि आवश्यक कानुनी सल्लाह अदालतबाटै लिने तयारीमा प्रहरी छ । यसका लागि सिआइबी सिभिल बैंक, सिभिल होम्स, सिभिल स्टेट र सिभिल मर्चेन्ट इन्भेष्टमेन्टलाई आधार मानेको छ । 

बैंकमा सेयरबापत इच्छाराजको पचास करोड रुपैयाँ लगानी छ । सिभिल होम्स र सिभिल स्टेटका नाममा केही अचल सम्पति छन् । त्यस्तै, सिभिल मर्र्चेन्टका नाममा पनि केही सम्पत्ति छ । त्यसबाहेक रोक्का नभएका अन्य सम्पत्ति पनि प्रहरीले खोजिरहेको छ । यही सम्पत्तिबाट निक्षेपकर्ताको रकम फिर्ता गर्न सकिने सिआइबी प्रमुख डिआइजी सिंहले बताए ।

इच्छाराजले खडा गरेका कम्पनी

- सिभिल बैंक लि.
- बाघ भैरव कन्सल्टेन्सी प्रालि
- सिभिल इन्टरनेसनल कन्सल्टेन्ट प्रालि
- सिभिल स्टेट प्रालि
- कोट्से भैरव हाउजिङ एन्ड डेभलपर्स प्रालि
- सिभिल मर्चेन्ट इन्भेष्टमेन्ट कम्पनी लिमिटेड
- सिभिल क्यापिटल मार्केट लिमिटेड
- सिभिल अपार्टमेन्ट प्रालि
- इन्फ्रास्ट्रक्चर डेभलपर्स प्रालि
- सिभिल ग्रुप प्रालि
- सिभिल फर्निचर एन्ड ट्रेडिङ
- सिने डे सेफ कम्पनी
- सिभिल मोर्डन कन्स्ट्रक्सन
- सिभिल होटेल
- सिटी बस्ती विकास कम्पनी
- ब्रिउ एन्ड भ्यू बार एन्ड रेस्टुरेन्ट
- सिभिल आरएमसी एन्ड प्रिकास्ट इन्ड्रस्टिज
- एभरेष्ट कलेज अफ मेडिकल साइन्स
- दि काठमाडौं हाउजिङ

सिभिल होम्सको नाममा मात्रै सात अर्ब निकासा 
प्रहरीका अनुसार इच्छाराजले सहकारीबाट सिभिल होम्स प्रालिका नाममा सबैभन्दा धेरै रकम निकासा गरेका छन् । सिभिल होम्सका लागि सहकारीबाट झन्डै सात अर्ब रुपैयाँ निकासा गरेका थिए । त्यसपछि सिभिल अपार्टमेन्ट, सिभिल ट्रेडिङ र सिभिल बैंकका नाममा धेरै रकम निकासा गरेका थिए । जसमध्ये बैंकको नाममा निकासा भएको रकम मात्रै उनले व्यक्तिगत खातामा लैजान पाएनन् । बाँकी सबै कम्पनीको रकम व्यक्तिगत खातामा लैजान सफल भए । सहकारीको रकमबाट बैंकको सेयर मात्रै खरिद गरेको हुँदा इच्छाराजले मनोमानी गर्न नपाएको प्रहरीको भनाइ छ । 

‘सहकारीको रकमबाट बैंकको सेयर खरिद गरिएकाले मनोमानी गर्न नपाएको हो । त्यसो हुँदा बैंकमा रहेको लगानी भने व्यक्तिगत खातामा जान पाएन । बाँकी सबै कम्पनीको रकम व्यक्तिगत खातामा गएको देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने ।

सिभिल बैंकबाहेक इच्छाराजले सहकारीको रकम लगानी गर्न विभिन्न १८ कम्पनी खडा गरेका थिए । बाघ भैरब कन्सल्टेन्सी प्रालि, सिभिल इन्टरनेसनल कन्सलटेन्ट प्रालि, सिभिल स्टेट प्रालि, कोट्से भैरव हाउजिङ एन्ड डेभलपर्स प्रालि तिनै कम्पनी थिए । यस्तै, सिभिल मर्चेन्ट इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड, सिभिल अपार्टमेन्ट प्रालि, इन्फ्रास्ट्रक्चर डेभलपर्स प्रालि, सिभिल ग्रुप प्रालि, सिभिल फर्निचर एन्ड ट्रेडिङ नामको कम्पनी खडा गरेर पनि इच्छाराजले सहकारीको रकम लगानी गरेका थिए ।

सिने डे सेफ कम्पनी, सिभिल मोर्डन कन्स्ट्रक्सन, सभिल होटेल, सिटी बस्ती विकास कम्पनी, ब्रिउ एन्ड भ्यू बार एन्ड रेस्टुरेन्ट, सिभिल आरएमसी एन्ड प्रिकास्ट इन्ड्रस्टिज, एभरेष्ट कलेज अफ मेडिकल साइन्स, दि काठमाडौं हाउजिङ कम्पनी पनि सहकारीकै रकम निकास गर्न खोलिएका कम्पनी रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । 

अझै ६ सय ७३ निक्षेपकर्ताको जाहेरी पर्न बाँकी 
१८ असोजमा पक्राउ परेका इच्छाराजसहित १२ अभियुक्तविरुद्ध सोमबारसम्म एक हजार तीन सय ८३ निक्षेपकर्ताको जाहेरी परेको छ । उनीहरूको बिगो दाबी रकम ५ अर्ब ४० करोड सात लाख ४३ हजार एक सय ४९ रुपैयाँ रहेको छ । 

सिआइबीका अनुसार सहकारीमा दुई हजार ५६ निक्षेपकर्ताको सात अर्ब ३६ करोड ३८ लाखभन्दा धेरै रकम थियो । यस आधारमा ६ सय ७३ निक्षेपकर्ता जाहेरीका लागि अझै सिआइबी पुगेका छैनन् । उनीहरूको एक अर्ब ९६ करोड ३० लाख ५६ हजार ८ सय ५१ रुपैयाँ सहकारीमा डुबेको छ । इच्छाराजले कतिपय निक्षेपकर्तालाई अझै पनि रकम फिर्ता गर्ने आश्वासन बाँडेको र कतिपय निक्षेपकर्ता विदेशमा रहेकाले जोहरी आउन ढिला भएको प्रहरीको अनुमान छ । सम्पत्तिको स्रोत खोजिने डरले पनि कतिपय निक्षेपकर्ता जाहेरी दिन डराइराखेको हुन सक्ने सिआइबी प्रमुख डिआइजी सिंहले बताए । 

उनले भने, ‘६ सयभन्दा धेरै निक्षेपकर्ताको जाहेरी आउन बाँकी छ । केही आउँदै पनि छन् । केही निक्षेपकर्ता विदेश छन् । केहीलाई उसले अझै पनि आश्वासन बाँडिरहेको छ । केहीलाई सम्पत्तिको स्रोत खाजिने डर होला । त्यसो हुँदा जाहेरी आउन ढिला भएको हाम्रो बुझाइ छ ।’