मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ कार्तिक २३ मंगलबार १५:००:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

बढ्न थाल्यो पर्यटकीय क्षेत्रमा चहलपहल, भदौयता ५१ हजार पर्यटक नेपाल भित्रिए

Read Time : > 1 मिनेट
२०७८ कार्तिक २३ मंगलबार १५:००:००

कोरोना संक्रमणपछि बन्द रहेको पर्यटकीय क्षेत्र खुला भएसँगै नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या बढ्न थालेको छ। भदौयता ५१ हजार चार सय ३० विदेशी पर्यटक नेपाल भित्रिएका छन्। विदेशी पर्यटक आउने क्रम बढेसँगै पर्यटकीय क्षेत्र चलायमान हुन थालेका छन्। पर्यटकको संख्या बढेपछि कोरोना संक्रमणले संकटमा परेका होटेल तथा पर्यटन व्यवसायमा आशा जगाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार दसैँयता नेपाल भ्रमणमा आउने विदेशीको संख्या बढेको छ। ०७८ वैखाशयता झन्डै ७८ हजार विदेशी पयर्टक नेपाल आएका छन्। सरकारले निषेधाज्ञा जारी गरेकै अवस्थामा पनि स्वास्थ्य मापदण्ड पालनासहित विदेशी पयर्टकहरू नेपाल आएका थिए। भदौदेखि निषेधाज्ञा हटाएपछि नेपाल घुम्न आउने विदेशीको संख्या थप बढेको छ। भदौ महिनाभरि नौ हजार सात सय ३८ विदेशी पर्यटक नेपाल आएका छन्। असोजमा मात्रै २३ हजार दुई सय ८४ जना विदेशी नेपाल आए। कात्तिक लागेयता सोमबारसम्म नेपाल आउने पर्यटकको संख्या १८ हजार चार सय २३ रहेको छ। यो संख्या बढ्ने मन्त्रालयको अनुमान छ।
 
जाडो समयलाई पर्यटक आउने सिजनको रूपमा लिइन्छ। यो समयमा पर्यटकीय क्षेत्रहरूमा भिड लाग्ने गर्छ। व्यवसायीले पनि राम्रो आम्दानी गर्छन्। तर, कोरोना संक्रमणपछि भने होटेल तथा पर्यटन व्यवसाय धरापमा परेको छ। यस वर्षदेखि भने पर्यटकको संख्या बढ्दै जाने र होटेल तथा पर्यटन व्यवसायमा थप सहजता हुने अनुमान गरिएको छ। कोरोना संक्रमणले थला परेको व्यवसायमा बिस्तारै चहलपहल बढ्न थालेको पर्यटन बोर्डले जनाएको छ। पर्यटन बोर्डको अनुसन्धान शाखाका प्रमुख सुनील शर्माले पछिल्लो समय विदेशी पर्यटकको संख्या बढ्न थालेको बताए। उनले भने, ‘लामो समय बन्द रहेको होटेल तथा पर्यटन व्यवसायले लय समात्दै छ। कात्तिक लागेसँगै विदेशी पाहुनाको संख्या बढेको छ।’ उनले विदेशीको संख्या अझै बढ्ने बताए। उनका अनुसार हाल आइरहेका विदेशीको संख्या र विगतका वर्षमा आउने विदेशीका संख्या तुलना गर्दा यो संख्या निकै कम हो। 

कोरोना संक्रमण सुरु हुनअघि एक वर्षमा करिब १३ लाख विदेशी नेपाल आउँथे। उनीहरूबाट नेपालले राम्रो आम्दानी गर्दथ्यो। तर, कोरोना संक्रमणयता भने पयर्टन तथा होटेल व्यवसाय क्षेत्र सुस्ताएको छ। सरकारले निषेधाज्ञा हटाएको र संक्रमण दर पनि कम हुँदै गएकोले होटेल व्यवसायीहरू पर्यटकको संख्या बढ्ने आशामा छन्।

उपत्यकाका पयर्टकीय क्षेत्रमा पनि चहलपहल बढ्दै
पर्यटन मन्त्रालयको तथ्यांकअनुसार भदौयता भक्तपुर दरबार क्षेत्र अवलोकनका लागि आउने पर्यटकको संख्या तीन हजार तीन सय दुई रहेको छ। वसन्तपुर क्षेत्रमा तीन हजार चार सय २६ विदेशी घुम्न आएका छन्। ललितपुरको पाटन दरबार क्षेत्रमा घुम्न आउने पर्यटकको संख्या पनि बढ्न थालेको छ। असोजयता पाटन दरबार क्षेत्रमा एक हजार १० विदेशी पर्यटक अवलोकनका लागि पुगेका छन्।

भक्तपुर पर्यटक सेवा केन्द्र तथा सूचना केन्द्रका नासु ओम धौभडेलले कात्तिक लागेसँगै पर्यटकको संख्या बढ्न थालेको जानकारी दिए। ‘गत वर्ष यो समयमा पर्यटकको संख्या शून्य थियो। पर्यटकीय क्षेत्र पनि सुनसान थिए,’ उनले भने, ‘यो वर्ष पर्यटकको संख्या बढ्ने देखिन्छ।’