मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७८ कार्तिक २३ मंगलबार ०६:०७:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

निर्मला कुर्मी हत्या प्रकरण : करोडौँको सम्पत्ति हडपेको आरोपमा सातजना पक्राउ

Read Time : > 1 मिनेट
२०७८ कार्तिक २३ मंगलबार ०६:०७:००

नेपालगन्जकी निर्मला कुर्मीको अपहरणपछि हत्या गरेर करोडौँ मूल्यको जग्गा हडपेको आरोपमा बाँके प्रहरीले सातजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेका अनुसार आरोपीहरू रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी, धीरेन्द्र सिंह र कुवर बब्बन सिंह ठाकुर सोमबार पक्राउ परेका हुन् । 

पक्राउ परेका ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ भने ठाकुरलाई उमेरहदका कारण साधारण तारेखमा छोडिएको छ । ठाकुर ८० वर्षका वृद्ध भएकाले साधारण तारेखमा छाडिएको डिएसपी न्यौपानेले बताए । उनी शाही शासनकालमा बाँके जिल्ला विकास समितिका उपसभापति थिए । 

त्यस्तै, अर्का आरोपी बादशाह कुर्मीलाई यसअघि नै हाजिरी जमानतमा छाडिएको छ । गत १० भदौमा जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर बयान दिएकाले हाजिरी जमानतमा छाडिएको डिएसपी न्यौपानेले बताए । कुर्मी कांग्रेसबाट पहिलो संविधानसभामा सभासद् थिए । कुर्मीको हत्यामा उनकै हात रहेको अधिकारकर्मीहरूको आरोप छ । प्रहरीमा उनीमाथि किटानी जाहेरीसमेत परेको थियो । 

निर्मला कुर्मी बेपत्ता र बाँकेकै नकुन्नी धोबी हत्या घटना छानबिनको माग गर्दै गत असोजमा पीडितका आफन्त र रुवि खानलगायत अधिकारकर्मी २० दिनमा पाँच सय २० किलोमिटर पैदल हिँडेर नेपालगन्जबाट काठमाडौं आई अनशन बसेका थिए । १० दिनको अनशनपछि संवाद थालेको सरकारले गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । कुर्मीको अपहरणपछि हत्या भएको निष्कर्ष निकालेको समितिले १४ कात्तिकमा गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको थियो । 

कुर्मीको नाममा रहेको साढे चार बिघा घरजग्गा भूमाफियाले किर्ते कागज, जालझेल गरी नामसारी गरेको तथ्य भेटिएपछि समितिले आरोपीलाई पक्राउ गरी कारबाही गर्न सरकारलाई सुझाव दिएको थियो । यसै आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । कुर्मीको भारतमा विवाह भएको र उनको विवाह दर्ता तथा मृत्यु दर्ता प्रमाणपत्रमाथि समेत अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ ।