१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
न्युजिल्यान्ड र अफगानिस्तानबीचको खेलमा न्युजिल्यान्डका केन विलियम्सन रन लिने प्रयास गर्दै ।
२०७८ कार्तिक २२ सोमबार ०८:५०:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

न्युजिल्यान्डद्वारा अफगानिस्तान आठ विकेटले पराजित : भारत विश्वकपबाट बाहिरियो

Read Time : > 2 मिनेट
२०७८ कार्तिक २२ सोमबार ०८:५०:००

भारत आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर १२ बाटै बाहिरिएको छ । अबुधावी क्रिकेट रंगशालामा न्युजिल्यान्डले समूह २ मा अफगानिस्तानमाथि आठ विकेटको जित निकाल्दा पूर्वविजेता भारत एक खेलअघि नै बाहिरिएको हो । न्युजिल्यान्डले आठ अंक बटुली सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । भारतले सेमिफाइनलमा स्थान बनाउन अफगानिस्तानले न्युजिल्यान्डलाई हराउनुपर्ने थियो । अफगानिस्तानको हारले भारत बाहिरिने समीकरण बनेको थियो ।

भारतले समूह २ को अन्तिम खेलमा नामिबियासँग खेल्नेछ । यस खेलमा जित हात पार्दा पनि भारत ६ अंकका साथ तेस्रो स्थानमा रहनेछ । अबुधावीमा पहिलो ब्याटिङ गरेको अफगानिस्तानले आठ विकेटको क्षतिमा एक सय २४ रनको मध्यम योगफल खडा गरेको थियो । प्रत्युत्तरमा न्युजिल्यान्डले १८.१ ओभरमा केवल दुई विकेटको नोक्सानीमा एक सय २५ रन बनाउँदै जित हासिल गर्‍यो । न्युजिल्यान्डलाई सेमिफाइनल स्थान पक्का गराउने क्रममा म्यान अफ दी म्याच ट्रेन बोल्ट, डेभोन कोन्वेय तथा केन विलियम्सनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

बोल्टले १७ रन खर्चेर तीन विकेट हात पारे । डेभोनले ३२ बलमा ३६ रन तथा केनले ४२ बलमा ४० रनको नटआउट इनिङ्स खेलेका थिए । केन र डेभोनबीच तेस्रो विकेटका लागि ९.२ ओभरमा ६८ रनको अविजित साझेदारी भएको थियो । यही साझेदारीको सहयोगमा न्युजिल्यान्डले अफगानिस्तानलाई हराएको हो । डेभोनले चार चौका र केनले तीन चौका प्रहार गरेका थिए । हारसँगै अफगानिस्तानको पनि सेमिफाइनलमा पुग्ने आशा समाप्त भएको छ ।

 रबाडाको ह्याट्रिक
दक्षिण अफ्रिकाका बलर किर्गिसो रवाडाले टी–२० विश्वकपमा पहिलो ह्याट्रिक लिएका छन् । चालू विश्वकपको यो पहिलो ह्याट्रिक प्रदर्शन हो । रवाडाको ह्याट्रिकको मद्दतमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई १० रनले हराएको छ । यद्यपि, दक्षिण अफ्रिकाले जित निकाले पनि समूह १ बाट सेमिफाइनल स्थान बनाउन सकेन । दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान पक्का पार्न इंग्ल्यान्डलाई एक सय ३१ रनमा रोक्नुपर्ने थियो । दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई दिइएको लक्ष्यसम्म रोक्न नसक्दा अस्ट्रेलिया अन्तिम चारमा पुग्न सफल भयो । इंग्ल्यान्ड, अस्ट्रेलिया र दक्षिण अफ्रिकाले समान आठ अंक जोडेका छन् । तर, रनरेटका आधारमा इंग्ल्यान्ड र अस्ट्रेलिया समूह १ बाट सेमिफाइनलमा पुगेका हुन् ।

पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा दुई विकेटको क्षतिमा एक सय ८९ रनको मजबुत योगफल खडा गर्‍यो । प्रत्युत्तरमा इंग्ल्यान्डले आठ विकेट गुमाएर एक सय ७९ रन जोड्यो । लक्ष्य पछ्याएको १९औँ ओभरमा लगातार तीन बलमा विकेट गुमाउँदा इंग्ल्यान्डले हारको सामना गरेको हो । रवाडाले १९.१ ओभरमा क्रिस बकर्स, १९.२ ओभरमा इयोन मोर्गान तथा १९.३ ओभरमा क्रिस जोर्डानको विकेट लिँदै ह्याट्रिक लिएका हुन् ।

इंग्ल्यान्डका लागि जासन रोयले रिटायर्ड आउट हुनुअघि २० रन बनाए । यसैगरी, जोस बटलरले २६ तथा मोइन अलीले ३७ रनको योगदान दिए । दक्षिण अफ्रिकाको ब्याटिङमा रसिए भान डेले ६० बलमा ९४ रनको योगदान दिए । उनले पाँच चौका र ६ छक्का प्रहार गरेका थिए । यसैगरी, अडेन माक्रामले २५ बलमा चार छक्का र दुई चौका प्रहार गरी ५२ रन जोडे । भान डेर र माक्रामले तेस्रो विकेटका लागि अविजित एक सय तीन रनको साझेदारी गरेका थिए ।

 नामिबिया र स्कटल्यान्ड पनि घर फर्किए
अफगानिस्तानले पाँच खेलबाट दुई जित र तीन हारको सामना गरी चार अंक बटुलेको छ । यो समूहबाट नामिबिया र स्कटल्यान्ड पनि घर फर्केका छन् । पहिलो ब्याटिङ गरेको अफगानिस्तानको सुरुवात निकै खराब रह्यो । पहिलो तीन शीर्ष ब्याट्सम्यान हजातुल्लाह जाजै दुई, मोहमद सेहजाद चार र रहमानुल्लाह जुर्बाज ६ रनमा आउट हुँदा अफगानिस्तान १९–३ को कमजोर अवस्थामा पुग्यो ।

गुल्वदिन नैव र नाजिबुल्लाह जार्दानले चौथो विकेटका लागि ३७ रनको साझेदारी गर्दै टोलीलाई ५६–४ को अवस्थामा पुर्‍याए । नैवले १८ बलमा १५ रन बनाए । अफगानिस्तानले निरन्तर रूपमा विकेट गुमाउँदा न्युजिल्यान्डविरुद्ध बलियो योगफल खडा गर्न नसकेको हो । सो इनिङ्समा जार्दानले मात्र उत्कृष्ट ब्याटिङ गरे । उनले ४८ बलमा तीन छक्का र ६ चौकाको मद्दतमा ७३ रनको योगदान दिए । बलिङमा टिम साउथीले २४ रन खर्चेर दुई विकेट हात पारे ।