१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ कार्तिक १७ बुधबार १२:२०:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

विद्राेही समूहको चेतावनीपछि इथियोपियामा संकटकाल घोषणा

Read Time : > 1 मिनेट
२०७८ कार्तिक १७ बुधबार १२:२०:००

इथियोपियाको मन्त्रिपरिषद्ले देशव्यापी रूपमा संकटकाल घोषणा गरेको छ। देशको उत्तरी क्षेत्रमा सक्रिय विद्रोही समूह टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टिपिएलएफ)ले राजधानीतर्फ अघि बढ्ने चेतावनी दिएपछि इथियोपियाको सरकारले देशव्यापी रूपमा संकटकाल घोषणा गरेको हो। 

संकटकाल घोषणासँगै सरकारी अधिकारीहरूले नागरिकहरूलाई राजधानी अदिस अब्बासको रक्षाका लागि तयार रहन आग्रह गरेका छन्। इथियोपियाको सरकारी सञ्चारमाध्यम फना ब्रोडकास्टिङका अनुसार आतंकवादी समूह टिपिएलएफद्वारा हुन सक्ने सम्भावित नरसंहारबाट नागरिकलाई बचाउन संकटकाल घोषणा गरिएको हो।टिपिएलएफ संघीय सरकारविरुद्ध विगत एक वर्षदेखि युद्धरत छ। संकटकालको समयमा सडक तथा यातायात सेवा अवरुद्ध, कर्फ्यु लगाउने तथा केही क्षेत्रमा सेनाको नियन्त्रण हुन सक्ने, ‘आतंकवादी’ समूहसँग जोडिएका शंकास्पद व्यक्तिहरूलाई पक्राउ पुर्जीविना नै पक्राउ गर्न सकिने तथा सेनामा भर्ती हुने उमेर पुगेका सबै नागरिकलाई विद्रोही समूहविरुद्ध लड्नका लागि आह्वान हुन सक्ने बताइएको छ। 

‘इथियोपियाको अस्तित्व, सार्वभाैमसत्ता र एकता संकटमा छ। त्यसैले हामीले सामान्य प्रक्रियाबाट यो समस्याको समाधान गर्न सक्दैनौँ,’ न्यायमन्त्री गेडियोन टिमोथिवोसले भनेका छन्। उनले ‘आतंकवादी समूह’लाई आर्थिक, भौतिक तथा नैतिक समर्थन गरेर संकटकालको अवज्ञा गर्ने जोसुकैले तीनदेखि दश वर्षसम्मको जेल सजाय भोग्नुपर्ने पनि बताए। पछिल्ला केही दिनमा टिग्रेयान लडाकुले टिग्रे क्षेत्रको सीमामा पर्ने अम्हारा क्षेत्रका रणनीतिक सहरहरू डेस्सी र कोम्बाचा कब्जा गरेको बताउँदै उनीहरू राजधानी अदिस अब्बासतर्फ अघि बढ्ने बताएपछि सरकारले यस्तो कदम चालेको हो। 

इथियोपियाको उत्तरतर्फको अधिकांश क्षेत्रहरूमा अहिले सञ्चार सेवाहरु अवरुद्ध गरिनुका साथै पत्रकारहरूलाई ती क्षेत्रमा जान प्रतिबन्धित गरिएको छ। मंगलबार बिहानै राजधानीमा रहेका सरकारी अधिकारीहरूले राजधानीको रक्षा गर्नका लागि आफूहरूसँग भएको हतियार दुई दिनभित्र सरकारी कार्यालयमा दर्ता गर्न भनेका छन्। 

सेनाका क्याम्पहरूमा टिपिएलएफले आक्रमण गरेको बताउँदै इथियोपियाका प्रधानमन्त्री अबि अहमदले गत वर्ष नोभेम्बरमा देशको टिग्रे क्षेत्रमा सेना पठाएका थिए। उनले सेनाले तीव्र गतिमा विजय हासिल गर्ने बताएको भए पनि टिग्रे समूहले एक वर्षमा ती क्षेत्रहरूमा कब्जा जमाएको छ। 

संयुक्त राष्ट्र संघका अनुसार इथियोपियाको द्वन्द्वले निम्त्याएको मानवीय संकटले लाखौँ मानिस भोकमरीमा रहेका छन्। इथियाेपियामा द्वन्द्वका कारण हजारौँ मानिसको ज्यान गएको छ भने २५ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।