मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १७ बुधबार ०६:१९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एक दिनको करेक्सनपछि बढ्यो सेयर बजार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १७ बुधबार ०६:१९:००

सेयर बजार एक दिनको करेक्सनपछि पुनः बढेको छ । सोमबार बजार करेक्सन भएको थियो । मंगलबार पनि कारोबार अवधिभर लगानीकर्ताबीच नाफा बुक गर्ने होडका बीच अन्त्यमा बजार सकारात्मक रहेर बन्द हुन पुगेको हो । मंगलबारको बजारलाई राष्ट्र बैंकको अभिव्यक्तिले पनि बजारलाई सकारात्मक बनाउनका लागि महत्वपूर्ण भूमिका खेलेको थियो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिएको भाषणले पनि बजारलाई उचाल्ने काम गरेको बताइन्छ । अधिकारीले पुँजी बजारलाई कुनै नीतिले कस्ने काम नभएको तथा बैंकको कर्जामा ब्याजदर बढ्न नदिने अधिकारीले बताएका थिए । गभर्नरको अभिव्यक्तिले चार करोड र १२ करोड रुपैयाँको सेयर कर्जा विवाद समाधानतर्फ अघि बढ्ने विश्वास गर्दै लगानीकर्ता उत्साहित बनेका हुन् । 

मंगलबार नेप्से सूचक २३ दशमलव ७६ अंकले बढेर दुई हजार आठ सय ४३ दशमलव ६२ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स २ दशमलव ४८ अंकले बढेको छ । कारोबारमा आएका १३ वटै समूहका सूचकमध्ये हाइड्रोपावर, फाइनान्स, जीवन बिमालगायत समूहमा लगानीकर्ता आकर्षित भएको देखिएको छ । कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केही गिरावट आएको छ । सोमबार सात अर्बको कारोबार भएकोमा मंगलबार भने धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३० कम्पनीको एक करोड कित्ता सेयर खरिद–बिक्री हुँदा ६ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । 

महालक्ष्मी विकास बैंकको सर्वाधिक ४६ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा कामना सेवा विकास बैंकको २२ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल रिइन्स्योरेन्स कम्पनी, नबिल बैंक, लुम्बिनी विकास बैंकको २१ करोडदेखि २० करोड रुपैयाँसम्मको कारोबार भएको छ ।

साहस ऊर्जा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ । गुडविल फाइनान्स, नेपाल रिइन्स्योरेन्स, कालिका पावर कम्पनी, रिडी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८ प्रतिशतले बढेको छ । विशाल बजार कम्पनी, नेपाल बंगलादेश बैंक, आरएमडिसी लघुवित्त, सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य २ प्रतिशतले घटेको छ ।

नबिलले ३८ प्रतिशत लाभांश दिने
नबिल बैंकले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट सेयरधनीलाई ३८ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ३३ दशमलव ६ प्रतिशत बोनस सेयर र ४ दशमलव ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर साधारणसभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउनेछन् ।