मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ कार्तिक १५ सोमबार १४:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गण्डकी प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ : मुख्यमन्त्री पोखरेल 

Read Time : < 1 मिनेट
२०७८ कार्तिक १५ सोमबार १४:५३:००

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन्। मुख्यमन्त्री पोखरेलले संविधानको मूल्य, मान्यताविपरीत गएर प्रदेश सरकारले प्रेस स्वतन्त्रता हनन हुन नदिने भन्दै ढुक्क हुन पनि पत्रकारहरूलाई आग्रह गरेका छन्। 

नेपाल पत्रकार महासंघ, कास्की शाखाले सोमबार पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रक्रियामा गइसकेको मिडियासम्बन्धी विधेयक पत्रकारहरूसँगकै छलफलमा परिमार्जन गरेर अघि बढ्न आफूहरू तयार रहेको बताए। मुख्यमन्त्री पोखरेलले भने,  ‘विधेयक (मिडियासम्बन्धी विधेयक) प्रक्रियामा गइसकेको हुनाले त्यो विधान समितितिर गएको छ। जुन सरकार तपाईंहरूको कलमको सहयोगले स्थापित भएको छ। त्यो सरकारले संविधानको मूल्य र मान्यताविपरीत गएर पूर्ण स्वतन्त्रताको भावनाविपरीत कुनै पनि विधेयक बनाउँदैन। ढुक्क भएर बस्नुहोला। हामीले भनेका छौँ– तपाईंहरूकै बीचमा बसेर मिडियासम्बन्धी विधेयक परिमार्जन गर्नेछौँ । गण्डकी प्रदेश सरकार यो प्रतिबद्धता व्यक्त गर्दछ।’

मुख्यमन्त्री पोखरेलले पत्रकारहरूकै सहयोगमा स्थापित भएको आफू नेतृत्वको प्रदेश सरकारले प्रेस स्वतन्त्रताविरोधी कुनै पनि कानुन नबनाउने बताए। उनले नेपालको संविधानले प्रेस स्वतन्त्रतालाई स्वीकार गरिसकेको हुनाले त्यसको विपरीत कुनै पनि खालको काम गर्न नमिल्नेसमेत स्पष्ट पारेका छन्।