१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मञ्जु भट्ट
२०७८ कार्तिक १४ आइतबार ०८:२७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कहिले हट्लान् ज्यानमारा प्रथाहरू ?

Read Time : > 2 मिनेट
मञ्जु भट्ट
२०७८ कार्तिक १४ आइतबार ०८:२७:००

वर्षौंपहिले सती प्रथा, दास प्रथाजस्ता कुप्रथा हटाउन सम्भव भए पनि आजको एक्काइसौँ शताब्दीमा समेत त्यस्तै अमानवीय प्रकृतिका कैयौँ कुप्रथा हाम्रो समाजमा कायमै छन्


पितृसत्तात्मक सोचले ग्रस्त हाम्रो समाजमा छोरीलाई गर्भमा आएदेखि नै भेदभाव गर्न सुरु हुन्छ । आमाको गर्भमा हुर्किरहेको भ्रूण छोरी भएको थाहा भएमा उसले जमिनमा पाइला नटेक्दै निमोठिने खतरा बढी हुन्छ । जति छोरा जन्मे पनि गर्व गर्ने हाम्रो समाजले दोस्रो सन्तान पनि छोरी जन्मनुलाई मन खोलेर सहज रूपमा स्विकार्न सक्दैन । बुहारीलाई बिहेपछिको पहिलो आशीर्वाद नै ‘पुत्रवती भव’ भनेर दिने गरिन्छ । ‘पुत्रीवती भव’ भनेर सायदै कसैले आशीर्वाद दिए होलान् । यदि पुत्रीले जन्म लिइनन् भने पुत्र जन्माउने कसले ? गर्भदेखि नै संघर्षपूर्ण जीवन सुरु गरेर बल्ल जमिनमा पाइला राख्न सफल भएका महिलाका प्रत्येक पाइला कष्टपूर्ण हुन्छन् । बालविवाह, बहुविवाह, भगाएर हुने विवाह वा अन्तर्जातीय विवाह गरेका महिलाले शारीरिक तथा मानसिक विभिन्न खाले पीडा सहँदै आएका छन् ।

बोक्सी प्रथा : बोक्सी प्रथाका कारण पनि पुरुषको तुलनामा महिला नै बढ्ता पीडित भएका देखिन्छन् । बोक्सी आरोपमा पीडित हुने अधिकांश महिला नै हुने गरेका छन् । शनिबार नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार महोत्तरीको औरही नगरपालिका–९, अगलेसराकी ५६ वर्षीया सुनैनादवी ठाकुर र उनका देवर भवसी ठाकुरलाई बोक्सी आरोपमा कुटपिट गरी मानव मलमूत्र खुवाइएको छ । दुई साताअघि पनि यस्तै प्रकृतिको घटना महोत्तरीमै भएको थियो ।

बोक्सी प्रथाको अवशेष हाम्रा गाउँघरदेखि राजधानी काठमाडौंसम्म जताततै देख्न सकिन्छ । यसलाई रोक्नुपर्छ भन्ने सबैको मत हुन्छ । तर, यस्ता घटनाका पीडकलाई कडा कानुनी कारबाही र सामाजिक बहिष्कार गर्नुको साटो हाम्रो समाजका अगुवाहरू पीडितलाई लोभलालच र धाकधम्की दिएर घटना सामसुम पार्न र दोषीलाई उन्मुक्ति दिन दौडधुप गरिरहेको देखिन्छ । जबसम्म यस्ता घटनाका पीडकले उन्मुक्ति पाइरहन्छन्, तबसम्म बोक्सी आरोपमा महिलामाथि हुने अमानवीय दुव्र्यवहार रोकिनेछैन ।

छुवाछुत प्रथा : छुवाछुत नियम कानुन, राजनीतिक परिवर्तन आदिले हटाउन नसकेको कुप्रथा हो । गाउँघरमा धेरैजसो मान्छे हिन्दू धर्म मान्ने भए पनि कसैले मन्दिरमा जान पाउने तर दलितलाई छुनै नहुने, उनीहरू मन्दिरभित्र पस्नै नहुने, उनीहरूले कथित उपल्लो जातिका घर, सार्वजनिक धारा, कुवा आदि छुनै नहुने कुरीति अहिले पनि व्याप्त छ । दलितले सिलाएको लुगा, जुत्ता र बनाएका भाँडाकुँडा सबै चल्छन्, तर तिनै दलितले छोएका पानी या खानेकुरा चल्दैनन् । 

कानुनले छुवाछुतलाई वर्षौं पहिले दण्डनीय माने पनि गाउँघरमा अहिलेसम्म पनि दलितहरू छुवाछुतको सिकार भइरहेका छन् । बिस्तारै यो कुप्रथा हट्दै गएको भए पनि राजधानी काठमाडौंदेखि ठूला सहरबजारमै पनि अझै छुवाछुतको प्रभाव बाँकी नै रहेकाले यो कुप्रथा कहिले निमिट्यान्न होला, भन्न सकिने अवस्था देखिन्न । 

दाइजो प्रथा : छोरीलाई बिहे गरेर पठाउँदा छोरीसँगै दिइने धनसम्पत्ति नै दाइजो हो । यसरी छोरीलाई दिइने दाइजो छोरीबाहेक परिवारका अरू सदस्यले पनि भोगचलन गर्छन् । तराईका विभिन्न जिल्लामा अहिले पनि दाइजोको निहुँमा कैयौँ महिलाले ज्यान गुमाउनुपरेको छ भने कति महिला श्रीमान्लगायत आफ्नै घरका अन्य सदस्यबाट कुटपिटको सिकार हुने गरेका छन् । कैयौँले त दाइजोकै कारण ज्यानसमेत गुमाउनुपरेका घटना बारम्बार सार्वजनिक हुँदै आएका छन् । दाइजो कम भएको निहुँमा कतिका बिहे भाँडिएका छन् त कैयौँले जिउँदै जल्नुसमेत परेको छ । 

छाउप्रथा : महिनावारी भएको पाँच दिनसम्म कसैलाई नछोई रुखोसुखो खाएर मूल घरभन्दा टाढा छुट्टै छाउगोठमा सुत्नुपर्ने बाध्यता नै छाउप्रथा हो । यो प्रथा पनि महिलाका लागि अति नै जोखिमपूर्ण छ । केही वर्षअघि डोटी पूर्वीचौकी गाउँपालिकाकी लाऊँ–लाऊँ खाऊँ–खाऊँ उमेरकी १९ वर्षीया पार्वती बोगटीको छाउ बार्न बसेका वेला निसासिएर मृत्यु भयो । बाजुराकी पैंतीस वर्षीया अम्बा बोहरा आफ्ना दुई नाबालक छोरासहित छाउगोठमा मृत्युवरण गर्न पुगिन् । महिनावारीको समयमा छुन वा पुरुषको अनुहारसमेत हेर्न नहुने भनी छाउगोठमा पठाइएका किशोरी, युवती र महिला बलात्कारको सिकारसम्म हुने गरेका छन् । यही कारणबाट कतिको हत्या हुने गरेको छ । कैयौँको सर्प या अन्य जंगली जनावरका कारण ज्यान जाने गरेको छ । कैयौँको चाहिँ साँघुरा छाउगोठमा निसास्सिएरै ज्यान जाने गरेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षौंदेखि जरा गाडेर बसेको छाउप्रथा हटाउन तीनै तहका सरकार तथा स्थानीय जनताको सक्रियता अति नै जरुरी देखिएको छ । 

वर्षौंपहिले सती प्रथा, दास प्रथाजस्ता अमानवीय प्रथा हटाउन सम्भव भयो । समाजले त्यस्ता प्रथा बिर्सी पनि सक्यो । तर, अझै पनि आजको एक्काइसौँ शताब्दीमा समेत तिनै प्रथाका नयाँ–नयाँ रूप मान्न सकिने प्रकृतिका अन्य कुप्रथा हाम्रो समाजमा कायमै छन् । यस्ता कुप्रथाले समाज विकासमा गम्भीर बाधा पु¥याएका छन् । यस्ता कुप्रथा विशेषतः महिलाका लागि ज्यानमारा साबित भइरहेका छन् । कहिले हट्छन् त यस्ता कुप्रथा ?