मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रोहितराज पराजुली
२०७५ फाल्गुण १७ शुक्रबार ११:३४:००
Read Time : > 1 मिनेट
खेलकुद

आहाराराको फाइनलमा आर्मी

Read Time : > 1 मिनेट
रोहितराज पराजुली
२०७५ फाल्गुण १७ शुक्रबार ११:३४:००

क्यामरुनी क्लब दाउफिन्स फेमिलीलाई १–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको आर्मी अब थ्री स्टारविरुद्ध भिड्ने

त्रिभुवन आर्मी क्लब पोखरामा जारी १७औँ संस्करणको आहारारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा क्यामरुनको दाउफिन्स फेमिली क्लबलाई १–० ले पराजित गर्दै आर्मीले फाइनलयात्रा पक्का गरेको हो ।

 टेकबहादुरको गोल
आर्मीको जितमा टेकबहादुर बुढाथोकीले १३औँ मिनेटमा गरेको १ मात्र गोल निर्णायक बन्यो । मैदानको राइट साइडबाट म्यान अफ द म्याच बन्न सफल दीपक गुरुङले गरेको क्रसलाई बुढाथोकीले हेडिङमार्फत गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाए । उनको सुरुवाती अग्रता नै आर्मीलाई फाइनल पुर्‍याउन पर्याप्त रह्यो ।

 थ्री स्टारविरुद्ध तेस्रोपटक भिड्दै आर्मी
आर्मी र थ्री स्टार सहिदस्मारक ए डिभिजन लिगपछि मोफसलमा तेस्रोपटक एक–अर्काविरुद्ध भिड्न लागेका छन् । यसअघि विशाल मेमोरियलको फाइनलमा थ्री स्टार र इटहरीमा भएको प्रतियोगिताको क्वार्टरफाइनलमा आर्मीले जित निकाल्नेका थिए । यसअघि क्वार्टरफाइनलमा आर्मीले हिमालयन शेर्पालाई ३–१ तथा फेमिलीले विभागीय नेपाल प्रहरीलाई २–१ ले पराजित गर्दै सेमिफाइनलयात्रा तय गरेका थिए । बुधबार भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा सबै खेलाडी हातमा कालो पट्टी बाँधेर मैदानमा उत्रिएका थिए । उनीहरूले शोक प्रकट गर्दै प्रतिस्पर्धा गरेका हुन्

उपाधिमा सधैँ अभागी
मोफसलका प्रतियोगितामा आर्मीले यसअघि तीनपटक फाइनलयात्रा तय गरे पनि उपविजेतामै बुझाएको थियो । शनिबार आर्मी उपाधिको उक्त खडेरी टार्न मैदानमा उत्रनेछ । यसअघि पाँचपटक फाइनल प्रवेश गरेको थ्री स्टारले चारपटक उपाधि उचालेको छ ।

 विवादित भिडन्त 
खेलमा आर्मी उत्कृष्ट लयमा देखिए पनि फेमेलीका खेलाडी आक्रामक बनेका थिए । केही दिनदेखि भएको वर्षाले हिलाम्य बनेको मैदानका कारण खेलाडीले खुलेर खेल्न पाएका थिएनन् ।  आर्मीले आधा दर्जनभन्दा बढी राम्रा अवसर सिर्जना गर्दा फेमिलीले सीमित मात्र मौका सिर्जना ग¥यो । खेल अवधिभर फेमिली तनावपूर्ण अवस्थामा देखिएको थियो । जसका कारण उसका सात खेलाडीले पहेँलो र एकले रातो कार्ड पाएका थिए । खेलको ८५औँ मिनेटमा फेमिली १० खेलाडीमा सीमित हुन पुगेको थियो । दुई पहेँलो कार्ड पाउँदै एन्देम्बा ओवनाले मैदान छाडेका थिए । 

 योजनाअनुसार खेल
जितपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले योजनाअनुसार नै खेल हुँदा जित सम्भव भएको बताए । उनले हिलो मैदानका कारण खेल्न केही समस्या भए पनि खेलाडी लयमा रहँदा आर्मीले अग्रता रक्षा गर्न सफल भएको बताए । उनले विपक्षी फिजिकल रूपमा आफूहरूभन्दा बलियो भए पनि रोक्न सक्नु सफलता भएको बताए ।