१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ६ शुक्रबार ०६:२४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

निर्मला प्रकरण : १८ प्रहरीमाथि कारबाही प्रक्रिया सुरु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ६ शुक्रबार ०६:२४:००

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने १८ प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले कारबाही सुरु गरेको छ । एआइजी धीरु बस्नेत नेतृत्वको छानबिन समितिको प्रतिवेदनका आधारमा विभागीय कारबाही सुरु भएको हो । 

एआइजी बस्नेत नेतृत्वको समितिले एक एसपी, दुई डिएसपी, तीन इन्स्पेक्टर, चार सइ, तीन हवल्दार, पाँच जवानविरुद्ध कारबाही सुरु भएको हो । छानबिन समितिले १८ जना प्रहरीकै गल्ती प्रस्ट रूपमा औँल्याएको छ । सोही आधारमा प्रहरीको कानुन शाखाले कारबाही प्रक्रिया अघि बढाएको हो । 

कस्ता छन् प्रहरीमाथि लागेको आरोप ?
कारबाहीको सिफारिस गरेकामध्ये एसपी दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई सरकारले प्रहरी सेवाबाट हटाउने निर्णय गरिसकेको छ । त्यस्तै, डिएसपी ज्ञानबहादुर सेठीले अनिवार्य अवकाश पाइसकेका छन् । डिएसपी अंगुर जिसी, गणेश सापकोटा, सइहरू रामसिंह धामी, वासुदेव अवस्थीलगायतमाथि कारबाही सुरु भएको स्रोत बताउँछ । सिआइबीबाट खटिएका डिएसपी जिसी र उनको टिममाथि पर्याप्त प्रमाण नहुँदै दिलीपसिंह विष्टलाई अभियुक्तका रूपमा सार्वजनिक गरेको र अपराध कबोल गर्न लगाएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, सइ अवस्थीले विष्टको सर्ट च्यातेर घटनास्थलमा लगी नक्कली प्रमाण बनाएको छानबिनमा खुलेको छ । 

छानबिन समितिले दोषी देखाएका प्रहरीलाई कारबाही गरी सुझाबहरूलाई कार्यान्वयन अघि बढाइएको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताए । घटनास्थलमा तालिमप्राप्त प्रहरी नगएका कारण घटनास्थलको घेराबन्दी हुन नसकेको, निर्मलाका कपडा बरामद नभएको, अम्बालाई सबुतका रूपमा संकलन नगरेको उल्लेख छ । घटनास्थलमा कुकुर प्रयोग गर्न सक्ने अवस्था हुँदा त्यसतर्फ चासो नदिएकोसमेत छानबिनमा औँल्याइएको छ । प्रक्रिया पूूरा नगरी घटनास्थलको जाँच गरेको, अनुसन्धानमा चेन अफ कस्टडी अवलम्बन नगरेको उल्लेख छ । 

प्रतिवेदन कञ्चनपुर पठाइने 
छानबिन प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइने भएको छ । आठ प्रहरीविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता भएकाले प्रतिवेदन पठाउन लागिएको हो । केही प्रहरीले नियतवश रूपमा झुटो प्रमाण संकलन गरी निर्दाेष रहेका दिलीपसिंह विष्टलाई अभियुक्त बनाउन खोजेकाले मुद्दा चल्ने सम्भावना रहेको प्रहरी स्रोत बताउँछ । 

अपराध अनुसन्धानमा प्रहरीको फरेन्सिक भ्यान  
अपराध अनुसन्धानमा लापरबाही र प्रमाण नष्टको कारण आलोचना खेपिरहेको प्रहरीले मोबाइल फरेन्सिक इन्भेस्टिगेसन भ्यान सञ्चालनमा ल्याएको छ । भ्यानमा घटनासँग सम्बन्धी प्रमाण संकलनका लागि अत्याधुनिक किटहरू छन् । बिहीबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय अपराध महाशाखालाई सो भ्यान हस्तान्तरण गरेका छन् ।

भ्यानमा डिएनए स्याम्पल, प्रमाण संकलन तथा संकलन किटलगायत विभिन्न १६ प्रकारका किट रहेको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताए । ९६ लाख रुपैयाँमा खरिद गरिएको सो भ्यानमा ४६ लाख रुपैयाँबराबरका किटहरू छन् । भ्यानमा तालिमप्राप्त प्रहरीहरू घटनास्थलमा खटिने प्रवक्ता सुवेदीले बताए । ‘यो भ्यानले अपराध अनुसन्धानमा प्रहरीलाई ठूलो सहयोग पुग्ने हाम्रो अपेक्षा छ,’ उनले भने, ‘प्रविधिमार्फत अपराध अनुसन्धानलाई अघि बढाउन यसलाई खरिद गरिएको हो ।’ यसले मानविय त्रुटिको सम्भावना कम हुने प्रहरीले जनाएको छ । ‘क्राइम सिन सर्चका लागि यो भ्यान टर्र्निङ प्वाइन्ट हुने छ,’ सुवेदीले भने ।

महानगरीय अपराध महाशाखा टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहलाई उक्त भ्यानको चाबी हस्तान्तरण गर्दै प्रहरी महानिरीक्षक खनालले संगठनलाई साधनस्रोत तथा प्रविधियुक्त बनाउनु संगठनको प्राथमिकता रहेको बताउँदै यस्ता साधनस्रोतको उचित प्रयोग हुनुपर्ने बताए ।