१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १३ शनिबार १७:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतीय विदेशमन्त्री जयशंकर भन्छन्– इन्डो प्यासिफिकको अवसर र चुनौती लिन्छौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १३ शनिबार १७:४२:००

भारतका विदेशमन्त्री डा. सुब्रमण्यम जयशंकरले विश्व अर्थतन्त्रको प्रजातान्त्रीकरणका लागि इन्डो प्यासिफिक क्षेत्र आर्थिक वृद्धिको नयाँ इन्जिन हुने विश्वास व्यक्त गरेका छन् । जयशंकरले इन्डो प्यासिफिकका चुनौती र अवसरलाई भारतले गम्भीरतापूर्वक ग्रहण गर्ने पनि बताएका छन् ।

भारत र अमेरिकाद्वारा संयुक्त रूपमा आयोजित इन्डो प्यासिफिक फोरमको चौथो संस्करणलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै जयशंकरले विश्वव्यापीकरणको परावर्तन इन्डो प्यासिफिक क्षेत्रमा प्रतिबिम्बित रहेको पनि टिप्पणी गरे। उनले क्वाडको ढाँचामा इन्डो प्यासिफिक महासागर क्षेत्रमा सहकार्य कोभिडविरुद्ध खोपका लागि सहकार्य हुनुपर्ने भन्दै भारतले आफ्नो योगदान गर्ने पनि स्पष्ट पारेका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार इन्डो प्यासिफिक क्षेत्रले बहुपक्षीयताको उदय गरेको तथा विश्वको पुनःसन्तुलनबाट फाइदा उपलब्ध गराएकोसमेत जयशंकरको भनाई थियो । भारतले यो क्षेत्रमा साझा समृद्धि र सुरक्षामा विश्वास गर्ने भन्दै उनले साझा नियममा आधारित मार्गचित्र तथा संवादमार्फत अघि बढ्नुपर्नेमा जोड दिए । 

दिल्लीले यो क्षेत्रलाई खुला र स्वतन्त्र एवं समावेशी क्षेत्रका रूपमा लिएको उल्लेख गर्दै जयशंकरले सबैले सार्वभौमिकता, भौगोलिक अखण्डता, अन्तर्राष्ट्रिय कानुन तथा सबै मुलुकहरूको समान हैसियतलाई आत्मसात गर्नुपर्ने पनि बताएका छन् । ‘इन्डो प्यासिफिक क्षेत्रको साझा समस्या र चुनौतीलाई सामूहिक रूपमा सहकार्य र साझेदारीका आधारमा सम्बोधन गर्नुपर्नेमा भारत स्पष्ट छ,’ जयशंकरको भनाइ छ।