पाकिस्तानमा विगत ७० वर्षयताकै उच्चतम बिन्दुमा मूल्यवृद्धि भएको भन्दै सरकारको आलोचना सुरु भएको छ। पछिल्ला तीन वर्षमा हरेक वस्तुको मूल्यवृद्धि ७० वर्षयताकै उच्च भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। यसप्रति विपक्षी दलहरूले इमरान खान नेतृत्वको सरकारको चर्को आलोचना गर्दै आएका छन्।
द न्युज इन्टरनेसनलका अनुसार खाद्यान्नको मूल्य दोब्बर बढेको छ भने चिनी, घिउ, तेल, आँटा तथा कुखुराको मासुको मूल्य उच्च तहमा पुगेको छ। केन्द्रीय तथ्यांक विभागका अनुसार बिजुलीको मूल्य तीन वर्षअघि प्रतियुनिट ५७ पैसाबाट अहिले कम्तीमा ६ रुपियाँ पुगेको छ। एलपिजी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ३६ रुपैयाँबाट २३ सय २२ रुपैयाँ पुगेको छ। यो ५१ प्रतिशत मूल्यवृद्धि हो। समाचारअनुसार पेट्रोलको मूल्य करिब ९४ रुपैयाँ प्रतिलिटरबाट १३९ रुपैयाँ पुगेको छ।
घिउको मूल्य १०८ प्रतिशतले बढेर प्रतिकेजी ३५६ रुपैयाँ पुगेको छ। दालमा ६० देखि ७६ प्रतिशत मूल्यवृद्धि भएको द न्युज इन्टरनेसनलले जनाएको छ। सत्तारुढ तेहरिक इन्साफ नेतृत्वको वर्तमान सरकारको आर्थिक नीति असफल भएको भन्दै विपक्षी दलहरूले यसैबीचमा विरोध प्रदर्शन गर्दै आएका छन्। पाकिस्तान मुस्लिम लिग नवाजलगायतका दलले सरकारको विरोध गरेका छन्। तर, सरकारले भने प्रतिपक्षीहरूको विरोध आधारहीन भएको भन्दै आएको छ।